खोटाङ, १० पुस । युके लाहुरे परिवारको आर्थिक सहयोगमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सामातुङ–पाँचगरे सडक स्तरोन्नतीको काम सुरु गरिएको छ ।
सामातुङ घर भइ हाल युकेमा रहेका लाहुरे, पुर्वलाहुरे तथा उनीहरुका परिवारको आर्थिक सहयोगमा चार किलोमिटर लम्बाई भएको सडक स्तरोन्नतीको काम सुरु गरिएको हो ।
मंगलबार थापागाउँमा आयोजित कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, उपमेयर बिसन राई लगायतले सडक स्तरोन्नतीको काम शिलान्यास गरेका हुन् ।
हाल युकेमा रहेका २७ जना सामातुङ्गेबाट प्राप्त भएको १६ लाख ७७ हजारमा सामातुङ–पाँचगरे सडक स्तरोन्नतीको काम सुरु गरिएको श्रम समितिका संयोजक एबं पुर्ववडाध्यक्ष ललितकुमार राईले बताए ।
हाल तीन मिटर फराकिलो रहेको सडकलाई छ मिटर फराकिलो बनाउनेगरी स्तरोन्नतीको काम थालिएको हो । करिब ३२ लाखको लागतमा सडक स्तरोन्नतीको काम पुरा हुने श्रम समितिले जनाएको छ ।
सामातुङ–पाँचगरे सडक स्तरोन्नती शिलान्यास कार्यक्रममा मेयर तीर्थराज भट्टराई, उपमेयर बिसन राई लगायत ।
२०७६ सालमा एक लाखमा ट्र्याक खोलिएको सडक स्तरोन्नतीका लागि नगरपालिकाले १० लाख दिने आश्वसन दिएको छ । वडा कार्यालय बाम्राङबाट दुई लाख ५० हजार प्राप्त भएको श्रम समितिका संयोजक राईले जानकारी दिए ।
सडक फराकिलो बनाउने, ड्रेन हाल्ने, हिलो हुने क्षेत्रमा कजवे राख्ने, आरसिसि ढलान गर्नेगरी स्तरोन्नतीको काम थालिएको हो । युकेमा रहेका वडाबासी, नगरपालिका र वडाकार्यालयबाट प्राप्त भएको रकमले इन्धन खरिद गरेर जेसिभि र डोजर चलाउने, आवश्यक उपकरण खरिद गर्ने व्यवस्था मिलाइएको संयोजक राईले बताए ।
जेसिभि र डोजरले गर्ने वाहेकका कामका लागि सामातुङ र थापागाउँका ७९ घर स्थानीयले कम्तीमा १०/१० दिन श्रमदान गर्नेछन् । सडक स्तरोन्नतीको कामबाट बचेको रकमलाई अन्य क्षेत्रमा खर्च गर्ने तयारी गरिएको छ ।
सडक स्तरोन्नतीका लागि पुस १० गते र पुस ११ गते नगरपालिकाले जेसिभि उपलव्ध गराएको छ । आफ्नो जन्मथलोको सडक स्तरोन्नतीका लागि पुर्वयुके लाहुरे कुमार राईको पहलमा सहयोग रकम संकलन गरिएको हो ।
शिलान्यास कार्यक्रममा पुर्वलाहुरे राईले संकलित रकम मध्ये १४ लाख मेयर भट्टराईमार्फत उपभोक्ता समितिलाई हस्तान्तरण गरेका छन् । बाँकी रकम केही समयपछि हस्तान्तरण गर्ने राईले बताए ।
पुर्वलाहुरे राईको पहलमा न्युनतम १६ हजारदेखि एक लाखसम्म सहयोग उठाइएको थियो । सडक शिलान्यास कार्यक्रममा मेयर भट्टराई, उपमेयर राई, बाम्राङका वडाध्यक्ष महेन्द्र राई, पुर्वयुके लाहुरे कुमार राई, क्याप्टेन केदार राई लगायतले मन्तव्य राखेका थिए ।