सोमवार, पौष ९ २०८०
नेपाल वाइड
खोटाङ, ९ पुस । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा सञ्चालन गरिएको एकीकृत घुम्ती शिबिरमा ४७७ स्थानीयले सेवा पाएका छन् ।
गाउँमै सरकारी सेवा दिने लक्ष्यकासाथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, जिल्ला प्रशासन कार्यालय र बालसेवा समाज नेपालले सोमबार कालिका माबि खार्मीमा एकीकृत घुम्ती शिबिर सञ्चालन गरेको हो ।
शिविरमा ९५ जना जेष्ठ नागरिकलाई जेष्ठ नागरिक परिचयपत्र, ४० जनाको नागरिकताको सिफारिस सङ्कलन, ४२ जनाको मृगौला परीक्षण, ११ जनालाई अपाङ्गता परिचयपत्र वितरण, ४९ वटा कुकुरालाई रेबिज विरुद्धको भ्याक्सिन, सात जना कृषकको माटो परीक्षण तथा २३३ जना कृषकलाई पशुचौपायका लागि आवश्यक पर्ने औषधि वितरण गरिएको छ ।
हिँड्न सक्ने सेवाग्राही आफै हिँडेर तथा नसक्नेहरु आफन्तको सहारामा लौरो टेक्दै घुम्ती शिविर पुगेका थिए । अशक्त अवस्थाका कतिपय सेवाग्राहीलाई उनीहरुका आफन्तले पिँठ्युमा बोकेर शिविर स्थल लगेको खार्मीका वडाध्यक्ष इखबहादुर राईले बताए ।
शिविरमा सङ्कलन गरिएका नागरिकताको सिफारिसका आधारमा नागरिकता बनाएपछि पुनः वडामा लगेर वितरण गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

शिबिर व्यवस्थापनमा युएनडिपीको आर्थिक सहयोगमा बालसेवा समाज नेपालद्धारा सञ्चालित ‘कसैलाई पछाडि नपारौँ’ कार्यक्रमको समेत सहयोग रहेको थियो ।
नगर प्रमुख तीर्थराज भट्टराईले ब्यानर वाचन गरेर तथा उपप्रमुख विशन राईले शारीरिक अपाङ्गता भएका ६५ वर्षीया कृतिमायाँ राईलाई (ख) वर्गको अपाङ्गता परिचयपत्र हस्तान्तरण गर्दै घुम्ती शिबिर उद्घाटन गरेका थिए ।
नागरिकलाई स्थानीय सरकारको महसुस गराउनेगरी नगरपालिकाका १५ वटै वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने तयारी गरिएको नगर प्रमुख भट्टराईले बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, डिएसपी पुरुषोत्तम खड्का, नगरपालिकाका लेखा अधिकृत राजकुमार राई, विषयगत शाखाका प्रमुख, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।