शनिवार, पौष ७ २०८०
नेपाल वाइड
खोटाङ, ६ पुस । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको हलेसीमा आयोजना गरिएको आँखा शल्यचिकित्सा शिबिरमा ९१ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।
आँखाका समस्या भएका बिरामीलाई गाउँमै उपचार गर्ने व्यवस्थाका लागि पुस ५ गतेदेखि पुस ७ गतेसम्म सञ्चालन गरिएको शिबिरमा ६४ जनाको मोतिबिन्दु भएका र २७ जनाको आँखामा मासु पलाएको, मासुको डल्लो देखिएको (माइनर) अप्रेसन गरिएको हो । अप्रेसन गरिएका ९१ जनालाई पावरको आधारमा चस्मा प्रदान गरिएको आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले बताए ।
सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा हलेसी तुवाचुङ नगरपालिका, नेपाल नेत्र ज्योती संघ खोटाङ र आँखा तथा कान उपचार केन्द्र, हलेसीको आयोजनामा भएको शिविरमा ५९० जनाको आँखा जाँच गरिएको छ । आँखा जाँचमा आएकामध्ये चार सय बढीलाई निःशूल्क औषधि तथा १५० जनाभन्दा बढीलाई सुपथ मुल्यमा चस्मा वितरण गरिएको छ ।
शिबिरमा हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, साकेला गाउँपालिका लगायतका स्थानीय आँखाको उपचारका लागि हलेसी पुगेका थिए । आँखाको समस्य भएका बृद्धबृद्धालाई आफन्तले डोराउँदै शिबिरस्थल लगेका थिए ।
आँखाको उपचारका लागि शहर पुग्नुपर्ने वाध्यता अन्त्यका लागि हलेसी तुवाचुङ नगरपालिकाले लगातार दोश्रो वर्ष आँखा शल्यचिकित्सा शिबिर आयोजना गरेको हो । २०७९ सालमा आयोजना गरिएको शिबिरमा ७६ जनाको आँखाको अप्रेसन गरिएको थियो ।
नगरबासीको स्वास्थ्यलाई मध्यनजर गर्दै आँखा उपचार शिविर, पाठेघरको समस्या भएका महिलाको निःशूल्क अप्रेसन, नगर अस्पताल सञ्चालन, स्वास्थ्य बिमा गराउँदै नगर अस्पतालमा बिमितको उपचार गर्ने व्यवस्था लगायतका क्रियाकलाप सञ्चालन भइरहेको हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईले बताईन् ।