बुधवार, पौष ४ २०८०
नेपाल वाइड
खोटाङ, ४ पुस । खोटाङमा १३ दिनदेखि बेपत्ता महिला मृत फेला परेका छन् । गत मंसिर १९ गतेदेखि बेपत्ता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका नाखामकी ३६ वर्षीय पवित्रा तामाङ पुस ३ गते मृत फेला परेकी हुन् ।
वेपत्ता तामाङको शव घरदेखि करिब १०–१५ मिनेट पैदल दुरीमा रहेको गोठमा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेलमा लगिएको छ ।
श्रीमानसँग सम्वन्ध विच्छेद गरेर माइती घर फर्केकी पवित्रा मंसिर १९ गते राती आठ बजेसम्म टिभी हेरेर बसेकी थिईन् । भोलीपल्ट बिहान ओछ्यानमा नदेखिएपछि उनको खोजी सुरु गरिएको थियो ।
वेपत्ताको खोजीका लागि परिवारले मंसिर २३ गते प्रहरीलाई खबर गरेका थिए । तामाङ चार छोरीकी आमा हुन् । छोरी नजन्माएको भन्दै श्रीमानसँग खटपट भएपछि उनी नौ महिनाअघि सम्वन्ध बिच्छेद गरेर माइती घर फर्किएकी थिईन् ।
तीन छोरी श्रीमानसँगै छाडेकी पवित्रा कान्छी छोरी लिएर माइती घरमा बुवाआमासँग बस्दै आएकी थिईन् । तामाङको शव पत्करले छोपेको अवस्थामा फेला परेको थियो । घटनाको विषयमा विभिन्न एंगलबाट अनुसन्धान सुरु गरिएको डिएसपी खड्काले बताए ।