बुधवार, मंसिर २७ २०८०
दमन राई/सुर्य तामाङ
खोटाङ, २७ मंसिर । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा पर्ने भरङ्गे पुग्दा स्थानीय बीरबहादुर तामाङ चित्रा बुन्दै थिए । उनकी श्रीमती भैंसी चराउँदै थिईन् । हत्तपत्त कोही नपुग्ने भरङ्गेमा पुग्दा तामाङ दम्पत्तीले नगरपालिका वा अन्य कार्यालयबाट कोही कर्मचारी पुगेको ठाने । बिना जानकारी ‘कोही किन आए’ भनेर खुलदुलीका साथ परिचय मागे । मध्यपहाडी राजमार्ग अन्तरगत हुर्लुङबाट जालपा जाने सडकबाट कच्ची शाखा सडक हुँदै भरङ्गे पुगिन्छ ।
भौगोलिक रुपमा कोल्टो परेको गाउँ । सम्पर्कका हिसावले नितान्त एकान्त ठाउँ । सबैतिरबाट अपायक पर्ने ठाउँमा रहेकै कारण भरङ्गेमा जो कोही पुग्दैनन् । कतिसम्म भने चुनावका बेला भोट माग्न उम्मेदवार समेत भरङ्गे नपुग्ने गरेको तामाङले बताए ।
भरङ्गेमा नेता तथा उम्मेदवारले आफ्ना कार्यकर्तालाई भोट माग्न पठाउने गरेका छन् । “चुनावका बेला भोट माग्न उम्मेदवार त के नेता समेत आउँदैनन् यो ठाउँमा,” तामाङले भने, “विभिन्न पार्टीको भोट माग्न हाम्रै दाजुभाईहरु आउँछन् । यहाँ भोट दिनु, त्यहाँ भोट दिनु भनेर फर्कन्छन् ।”
साविकको सदरमुकाम दिक्तेल समेटिएको नगरपालिकाभित्र पर्छ भरङ्गे तर भरङ्गेलाई हालसम्म पुर्वाधार बिकासले छुन सकेको छैन । विकासमा पछि परेको भरङ्गेमा तामाङ समुदायको ११ परिवार बसोबास छ ।

वडा कार्यालय पुग्न उनीहरुलाई कम्तीमा पैदल दुई घण्टा हिँड्नुपर्छ । भरङ्गेबासीले दुःखसुख आठ/नौ वर्षअघि विद्युत पुर्याएका छन् । २०७९ मा वडा कार्यालयले बिनियोजन गरेको रकमले भरङ्गे पुग्ने कच्ची सडक बनाइएको छ । भरङ्गेबाट रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको गोपिनी जोड्ने सडक विस्तार गर्न बाँकी नै छ ।
केही समयअघि लंखुरीबाट खानेपानी योजना ल्याउन भर्खरै नाँपजाँच भएको तामाङले बताए । दशक अघि जनसेवा समाज नेपाल जालपाबाट भरङ्गेमा खानेपानी योजना सञ्चालन गरिएको थियो तर हुर्लुङ–जालपा सडक निर्माणका क्रममा खानेपानी योजनाको पाइप क्षतविक्षत भएपछि भरङ्गेमा पुःन नयाँ योजना सञ्चालन गर्ने तयारी गरिएको हो । त्यस बाहेक भरङ्गेमा कुनै पनि योजना तथा परियोजना पुग्न सकेको छैन । भरङ्गेवासी शिक्षा, स्वास्थ्य जस्ता आधारभुत आवश्यकतासँग जुधिरहेका छन् ।
भरङ्गेमा ठूला–ठूला डिलमा हिँड्नका लागि भर्याङजस्तो खुड्किलो बनाइएका कारण गाउँको नामै ‘भरङ्गे’ रहन पुगेको हो । भरङ्गेमा नजिक स्कुल छैन । आधारभुत तहकै पढाइका लागि भरङ्गेका छात्र/छात्रा नुनथलाको हुर्लुङस्थित जनकल्याण प्राबिमा पुग्छन् ।
जनकल्याण प्राबिबाट कक्षा ३ पार गरेपछि उनीहरु मुढेस्थित सिद्धेश्वरी आबि निगाले पुग्छन् । आर्थिक अवस्था मजबुद हुने अभिभावकले बालबच्चलाई निजी विद्यालयमा लगेर पढाउँछन् ।
हाल जनकल्याण प्राबिमा भरङ्गेका सात जना विद्यार्थी अध्ययनरत रहेको प्रअ तीर्थ तामाङले बताए । भरङ्गेका विवेक गुरुङ र सुविन तामाङ कक्षा १ मा, विकास तामाङ र समीर तामाङ कक्षा २ मा, शुष्मा तामाङ, सुमिना तामाङ र समिक्षा तामाङ कक्षा ३ मा पढ्छन् । भरङ्गेबाट जनकल्याण प्रावि पुग्न उनीहरुलाई करिब एक घण्टा लाग्छ । “उनीहरु नियमित स्कुल आउँदैनन् । दुई तीन दिन आउँछन्, दुई तीन दिन आउँदैनन्,” प्रअ तामाङले भने, “घरैमा गएर गएर सम्झाइ बुझाइ गर्दा पनि विद्यार्थीको उपस्थितिलाई नियमित गर्न सकिएको छैन ।”
सिद्धेश्वरी आधारभुत विद्यालयमा भरङ्गेका चार जना विद्यार्थी अध्ययनरत छन् । सुस्मिता तामाङ र स्मृति तामाङ कक्षा ८ मा, सुशिल तामाङ कक्षा ५ मा र सुवास तामाङ कक्षा ४ मा पढ्छन् । उनीहरुलाई भरङ्गेबाट निगाले पुग्न डेढ घण्टा लाग्ने गरेको प्रअ बिन्दा थापा बताउँछिन् ।
यस्तै, सिद्धेश्वरी आधारभुत विद्यालयमा तल्लो हुर्लुङका अप्सरा राई र संकल्प राई कक्षा ७ मा, प्रदिप राई कक्षा ६ मा, समिक्षा राई कक्षा ५ मा र अनमोल राई कक्षा ४ मा अध्ययनरत छन् । उनीहरु अप्ठ्यारो बाटो पार गर्दै विद्यालय जाने आउने गरेका छन् ।

सोल्माको सिमाना देखाउँदै भरङ्गेका बीरबहादुर तामाङ । तस्बीरहरुः दमन राई