आइतवार, मंसिर २४ २०८०
नेपाल वाइड
खोटाङ, २४ मंसिर । खोटाङको ऐसेलुखर्क गाउँपालिकास्थित सप्तरंगी महिला मञ्चले देउसीभैली खेलेर जम्मा भएको पैसाले पूर्णअपांगता भएका व्यक्तिलाई ज्याकेट वितरण गरेको छ ।
यसै वर्ष स्थापना गरिएको सप्तरंगी महिला मञ्चले गत तिहारमा देउसीभैली खेलेर जम्मा भएको रकमबाट गाउँपालिकाका २५ जना पूर्णअपांगता भएका व्यक्तिलाई ज्याकेट वितरण गरेको हो ।
गाउँपालिकाको ७ वडामध्ये ६ वडाका तीन/तीन जना र ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका सात जनालाई जाडोमा लाउने न्यानो कपडा प्रदान गरिएको सप्तरंगी महिला मञ्चका सल्लाहकार संयोजक निर्मला शर्माले जानकारी दिइन् ।
पूर्णअपांगता भएका व्यक्तिलाई लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापनको अवसर पारेर आइतबार गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राई र सप्तरंगी महिला मञ्चकी अध्यक्ष कल्पना राजभण्डारीको हातबाट ज्याकेट हस्तान्तरण गरिएको छ ।
अपांगता भएका व्यक्तिको अनुपस्थितिमा आफन्त तथा सम्वन्धित वडाका जनप्रतिनिधिमार्फत ज्याकेट पठाइएको छ । सप्तरंगी महिला मञ्चले देउसीभैली खेलेर करिब ४० हजार संकलन गरेको थियो । व्यवस्थापन खर्च गरेर बाँकी रहेको रकमबाट गाउँपालिकासँग समन्वय गरेर पूर्ण अपांगता भएका व्यक्तिलाई जाडो छेल्ने ज्याकेट प्रदान गरिएको महिला मञ्चले जनाएको छ ।
ऐसेलुखर्क गाउँपालिकामा विभिन्न कार्यक्रम गर्दै लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गरिएको छ । अभियानको अवसरमा गाउँपालिकाले मावि स्तरिय बक्तृत्वकला र निमावि स्तरिय हाजिरीजवाफ प्रतियोगीता गरेको थियो । अभियान समापनको अन्तिम दिन ऐसेलुखर्क बजारमा प्रभातफेरी निकालिएको थियो ।
