शुक्रवार, मंसिर २२ २०८०
नेपाल वाइड
खोटाङ, २२ मंसिर । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ (राजेम्पाडाँडा)मा ताला हालेर राखिएको रोलर रातारात अन्यत्र लगेको पाइएको छ ।
दिक्तेलको अस्पतालचोक–लफ्याङको दुबेचिवा सडक स्तरोन्नतीको काम अलपत्र पार्ने निर्माण कम्पनी ढुकुछु/बगाले/बिएनटी जेभीको फलामे साङ्लोले बाँधेर ताला हालेर राखिएको एउटा रोलर साकेला गाउँपालिका–५ मात्तिमको कात्तिके पुर्याएको पाइएको हो ।
दिक्तेल–खोटाङबजार सडक अन्तरगत अस्पताल चोक–लफ्याङको दुबेचिवा (३ किलोमिटर) सडक स्तरोन्नतीको काम अलपत्र पारेको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गत असोज २ गते ढुकुछु/बगाले/बिएनटीको दुई वटा टिपर, एउटा स्काभेटर र एउटा रोलर नियन्त्रणमा लिएर ताला लगाइदिएको थियो ।
टिपरसँग एउटै साङ्लोले बाँधेर राखिएको रोलर मंसिर २१ गते रातीदेखि हराएको थियो । साङ्लो काटेर रोलर अन्यत्र लगेको पाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रवक्ता दिनेश घिमिरेले बताए ।
स्थानीयका अनुसार राती पौने १२ बजे साङ्लो काटेको आवाज आएको थियो । राखेकै ठाउँबाट हराएको रोलर खोजी गर्दा साकेला गाउँपालिकामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरिक्षक बेनु कार्कीले बताए ।
श्रोतका अनुसार साङ्लोले बाँधेर राखिएको रोलर राउत कस्न्ट्रक्सनको हो । सो रोलर राउत कस्न्ट्रक्सनबाट आजाद निर्माण सेवाले चलाउन जिम्मा लिएका थिए ।
आजाद निर्माण सेवाबाट ढुकुछु/बगाले/बिएनटीले केही दिनका लागि चलाउन लगेको बेला रोलर नगरपालिकाको नियन्त्रणमा पुगेको थियो । नगरको नियन्त्रणमा रहेको रोलर मात्तिम क्षेत्रमा सडक ग्राभेलिङ गरिरहेको आजाद निर्माण सेवाको निर्माणस्थलमा फेला परेको हो ।
आजाद निर्माण सेवाका प्रेम मल्ल र डिवी गलानले राती साङ्लो काटेर रोलर लगेको स्थानीयले बताएका छन् । मल्लले भने राउत कस्न्ट्रक्सनले साङ्लो काटेर रोलर चलाउन दिएको दावी गरे ।
ठेकेदारले सडक स्तरोन्नतीको काम अलपत्र पारेर निर्माणस्थलमा रहेका मेसिन अन्यत्र लैजान थालेपछि स्वयं प्रवक्ता घिमिरे नेतृत्वको टोलीले उपकरणलाई फलामे साङ्लोले बाँधेर ताल्चा लगाइदिएका थिए ।
गत भदौ ३१ गते ढुकुछु/बगाले/बिएनटीको एउटा ग्रेडर भोजपुरतर्फ लैजाँदै गरेको अवस्थामा नगरपालिकाले दोर्पाचिउरीडाँडाको ढिकुरेबाट नियन्त्रणमा लिएको थियो ।
अस्पतालचोक–लफ्याङको दुबेचिवा सडक स्तरोन्नतीको काम अलपत्र छाडेर उपकरण लिएर हिँड्न लागेको अवस्थामा २०७९ कात्तिक २० गते पनि नगरपालिकाले एउटा एक्स्काभेटर र एउटा व्याकहो लोडरमा ताला लगाएको थियो ।
भ्याटसहित ५ करोड ६ लाख ५५ हजार ५८६ रुपैयाँमा अस्पताल चोक–लफ्याङको दुबेचिवा सडक स्तरोन्नती गर्नेगरी ढुकुछु/बगाले/बिएनटीले ठेक्का लिएको हो । सो निर्माण कम्पनीले २०७९ पुस २८ गतेसम्ममा सम्पन्न गर्नेगरी २०७८ जेठ २० गते ठेक्का सम्झौता गरेको थियो ।
सडक स्तरोन्नतीको काम अलपत्र हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट साकेला गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र खोटेहाङ गाउँपालिका आवतजावत गर्ने नागरिकलाई सास्ती भइरहेको छ । अस्पताल जान प्रयोग हुने सो सडकको दुरावस्थाका कारण कतिपय बिरामीलाई लाखौं तिरेर हेलीकोप्टर चार्टर गर्नुपर्ने वाध्यता छ ।
ढुकुछु/बगाले/बिएनटीले श्रम गरेका कामदारलाई पारिश्रमिक नदिएर रोजीरोटीमाथि खेलवाड गरिरहेको गुनासो आएको छ । ठेकेदारबाट पारिश्रमिक दिलाइदिनकालागि कामदारले असोज १ गते नगरपालिका समक्ष संयुक्त निबेदन दिएका छन् । यस्तै, ठेकेदारले खाना तथा खाद्यान्नको लाखौं रकम नदिएको होटल तथा पसल सञ्चालकले गुनासो गरेका प्रवक्ता घिमिरेले बताए ।
नगरपालिकाले २०७९ कात्तिक ३ गते पत्रकार सम्मेलन गर्दै ३५ दिनभित्र नगरभित्रका १७ आयोजनाको प्रगती सहित मासिक कार्ययोजना र मासिक प्रगती विवरण बुझाउन निर्माण कम्पनीलाई निर्देशन दिएको थियो ।