Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    इलाका प्रशासन कार्यालय खोटाङबजारबाट राष्ट्रिय परिचय–पत्र वितरण सुरु

    इलाका प्रशासन कार्यालय खोटाङबजारबाट राष्ट्रिय परिचय–पत्र वितरण सुरु


    • शुक्रवार, मंसिर ८ २०८०

    • नेपाल वाइड


    इलाका प्रशासन कार्यालय खोटाङबजारबाट राष्ट्रिय परिचय–पत्र वितरण सुरु
    जन्तेढुङ्गा–२, बोपुङका रबिन राईको राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गराउनेक्रममा प्रमुख अतिथिहरुलगायत । तस्बिरः अम्मर सिंह बस्नेत ।

    खोटाङ, ८ मंसिर । खोटाङको इलाका प्रशासन कार्यालय खोटाङबजारमा राष्ट्रिय परिचय–पत्र स्थायी दर्ता स्टेशन स्थापना गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकाका नागरिकलाई आफ्नै क्षेत्रबाट राष्ट्रिय परिचय–पत्र दिलाउने लक्ष्यका साथ स्थायी दर्ता स्टेशन सञ्चालनमा ल्याइएको हो ।

    खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा रहेको इलाका प्रशासन कार्यालयमा शुक्रबार प्रतिनिधिसभा सदस्य रामकुमार राईले राष्ट्रिय परिचय–पत्र स्थायी दर्ता स्टेशन उद्घाटन गरेका छन् । हालसम्म दिक्तेलस्थित जिल्ला प्रशासन कार्यालयको दर्ता (स्टेशन)बाट मात्र राष्ट्रिय परिचयपत्र वितरण हुँदैआएकोमा इलाका प्रशासन कार्यालयबाट पनि सो सेवा सुरु गरिएको हो ।

    दर्ता स्टेशन उद्घाटन लगत्तै राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु गरिएको इलाका प्रशासन कार्यालय खोटाङबजारका प्रमुख मोहनबहादुर राईले बताए । पैदल दुई दिनसम्म हिँडेर दिक्तेल पुगेर राष्ट्रिय परिचयपत्र बनाउँदै आएका तीन पालिकाका २१ वडाका नागरिकको सहजताका लागि खोटाङबजारबाट राष्ट्रिय परिचयपत्र वितरणको प्रवन्ध मिलाइएको हो ।

    45.jpg

    इलाका प्रशासन कार्यालय खोटाङबजारमा स्थापना गरिएको राष्ट्रिय परिचय–पत्र स्थायी दर्ता स्टेशनको उद्धघाटन गर्नुहुदै प्रतिनिधिसभा सदस्य राम कुमार राई पासाङ ।

    राष्ट्रिय परिचय–पत्र स्थायी दर्ता स्टेशनबाट बराहपोखरी र जन्तेढुंगा गाउँपालिकाका नागरिक सबैभन्दा बढी लाभान्वित भएका छन् । राष्ट्रिय परिचयपत्र वितरण सेवा प्रवाहका लागि गृह–मन्त्रालयले एक जना अपरेटर पठाएको छ । इलाका प्रशासन कार्यालयले करारमा थप एक जना दर्ता सहायक नियुक्त गरेको छ ।

    राष्ट्रिय परिचय–पत्र नागरिकको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त र बहुउपयोगी प्रमाणपत्र हो । राष्ट्रिय परिचय पत्रमा व्यक्तीको नाम, थर, जन्म मिति, लिङ्ग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पति/पत्नीको नाम, बाजेको नाम लगायतका व्यक्तीगत विवरण देखि औंलाको छाप, आँखाको नानी, परिचय नम्बर, फोटो, राष्ट्रियता, हस्ताक्षर लगायत समावेश गरिन्छ ।

    राष्ट्रिय परिचय–पत्र स्थायी दर्ता स्टेशन उद्घाटनका क्रममा प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, खोटेहाङ गाउँपालिका अध्यक्ष उदिमबहादुर राई, उपाध्यक्ष रुपेश राई, जन्तेढुंगा गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्का, बराहपोखरी गाउँपालिका उपाध्यक्ष भुवलराज राई लगायतको उपस्थिति रहेको थियो ।

    ddefe.jpg

    इलाका प्रशासन कार्यालय खोटाङबजारमा स्थापना गरिएको राष्ट्रिय परिचय–पत्र स्थायी दर्ता स्टेशनको उद्धघाटनकाक्रममा प्रमुख अतिथिहरुलगायत । तस्बिरः युवराज कालिकोटे ।

     

    सम्बन्धित समाचार