बिहिवार, मंसिर ७ २०८०
नेपाल वाइड
धनकुटा, ७ मंसिर । धनकुटामा एकैघरका तीन जना मृत फेला परेका छन् । धनकुटा नगरपालिका–१ हिले निगालेका मनिकलाल श्रेष्ठको घरमा कोठा भाडामा लिएर बस्दैआएका संखुवासभा चैनपुर नगरपालिका–१ नुनढाकीका ३५ वर्षीय टिका गुरुङ, उनकी श्रीमती ३६ वर्षीया भिमा तामाङ गुरुङ र छोरा ११ वर्षीय आयूष गुरुङ मृत फेला परेका हुन् ।
टिकाको शव झुण्डिएको अवस्थामा र श्रीमती भिमा र छोरा आयुषको शव खाटमा सुताइएको अवस्थामा बिहिबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
घटनाको जानकारी आए लगत्तै प्रहरीचौकी हिलेका प्रहरीले घटनास्थल सुरक्षित गरेपछि जिल्ला प्रहरी कार्यालय धनकुटाको अपराध अनुसन्धान शाखाको टोली प्रारम्भिक अनुसन्धान एबं कानूनी प्रकृयाका लागि घटनास्थल पुगेको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा सँधैजसो मादक पदार्थ सेवन गरेर झै–झगडा गर्दैआएका टिकाले श्रीमती र छोराको हत्या गरेर आफुले सलको पासो लगाएर आत्महत्या गरेको अनुमान गरिएको छ ।
कोठामा राखिएका दुई खाटमध्ये एउटा खाटमा श्रीमती र अर्को खाटमा छोराको शव राखेर सिरकले ढाकिएको देखिएको प्रहरीले जनाएको छ । दुई खाटको बीचमा भने टिका झुण्डिएको अवस्थामा फेला परेको थियो ।
६ वर्षीय छोरी आशिका गुरुङलाई भने स्वयं टिकाले राती पौने १ बजे ‘तल जाने काम पर्यो, बच्चा राखिदिनु पर्यो’ भन्दै छिमेकी लक्ष्मी श्रेष्ठको घरमा छाडेर गएका थिए ।
बिहान भएपछि आशिकाको खुट्टा खाली देखेर लक्ष्मीले ‘चप्पल लगाएर आउ’ भनेर घर पठाएकी थिईन् । आशिका घर पुगेपछि मात्र घट्नाको बारेमा छिमेकीलाई थाहा भएको हो । चप्पल लगाउन घर गएकी आशिका बुवा ‘पिङ खेलिरहेको छ’ भन्दै फर्किएकी थिइन् ।
पहिला श्रीमती र छोराको हत्यापछि छोरीलाई छिमेकीको घरमा छाडेर टिकाले आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । श्रीमतीलाई घाँटी थिचेर मुक्काले हानेर र छोरालाई समातेर टाउको पछाडिको भाग घरको भित्तामा ठोकाएर हत्या गरेको अनुमान गरिएको छ ।
गुरुङ परिवार विगत १२/१३ वर्षदेखि निगालेमा बसेर लेबर काम गर्दै बसिरहेका थिए । मादक पदार्थ सेवनका कारण गुरुङ परिवारमा सँधैजसो झगडा हुनेगरेको जानकारी आएको वडाध्यक्ष ओङद तामाङले बताए ।
घरधनी भने तराईमा बसिरहेका छन् । प्रहरीका अनुसार टिका स्वास्थ्य परिक्षणका लागि बुधबार जिल्ला अस्पताल पुगेका थिए । मिर्गौला र कलेजोमा समस्या देखिएको भन्दै अस्पतालले जाँडरक्सी नखान परामर्श दिएको थियो ।