सोमवार, मंसिर ४ २०८०
नेपाल वाइड
खोटाङ, ४ मंसिर । खोटाङमा घरमा आगलागी सुरु भएपछि भाग्ने क्रममा गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि आर्थिक सहयोग जुटाउन थालिएको छ ।
मंसिर ३ गते राती मावली घर केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका किशोर राईको घरमा आगलागी सुरु भएपछि भाग्ने क्रममा दुई तलामाथिबाट हाम फाल्दा घाइते भएकी १५ वर्षकी सरिता तामाङको उपचारार्थ सहयोग उठाउन थालिएको हो ।
टिचिङ अस्पताल काठमाडौंमा पुर्याइएकी बालिकाको उपचारका लागि आर्थिक समस्या भएपछि आफन्त तथा शुभेच्छुकले गाउँपालिका र काठमाडौंमा सहयोग संकलन सुरु गरेको स्थानीय प्रताप राईले बताए ।
सुतिरहेको अवस्थामा आगलागी सुरु भएपछि ज्यान जोगाउन भाग्ने क्रममा लडेकी सरिताको बायाँ हात र तीन वटा दाँत भाँचिएको छ । एक्स–रे गर्दा दाहिने खुट्टाको घुँडामुनिको हाड चोइटिएको देखिएको छ ।
बालिकाको मुखमा लागेको घाउमा १८ टाँका हालिएको छ । परिवारमा अर्मपर्म गरेर गुजारा चलाउनुपर्ने अवस्था भएका कारण घाइते किशोरीको उपचारकालागि सहयोग संकलन गर्न अभियान चलाइएको हो ।
घाइते किशोरीलाई स्थानीय क्लिनिकमा सामान्य उपचार गरेर काठमाडौं पठाइएको थियो । घाइते बालिका पृथ्बी माबि बाक्सिलामा कक्षा ९ मा अध्ययनरत छिन् ।
आगलागीमा राईको तीन तले घर सँगै घरमा राखिएको दुई तोला सुन, चार तोला चाँदी, ब्रोइलर कुखुराको १५ वटा चल्ला, अन्नपात, भाँडावर्तन, काठपात, लत्ताकपडा लगायत जल्दा १५ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।