Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा अवैध रुपमा खयरको काठ चोरी निकासीमा संलग्न दुई जना पक्राउ

    खोटाङमा अवैध रुपमा खयरको काठ चोरी निकासीमा संलग्न दुई जना पक्राउ


    • सोमवार, मंसिर ४ २०८०

    • नेपाल वाइड


    खोटाङमा अवैध रुपमा खयरको काठ चोरी निकासीमा संलग्न दुई जना पक्राउ
    प्रतिकात्मक तस्बिर

    खोटाङ, ४ मंसिर । खोटाङमा अवैध रुपमा खयरको काठ चोरी निकासीमा संलग्न दुई जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय खोटाङबाट वन पैदावार मुद्धा दर्ता भएपछि फरार भएका ६ जनामध्ये हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका जोखबहादुर बस्नेत र श्यामकुमार माझीलाई मंसिर २ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    साविकको बडहरे–४ स्थित खोक्सेली सामुदायीक वनबाट खयरको काठ चोरी निकासीमा संलग्न भएको पाइएपछि डिभिजन वन कार्यालयले कात्तिक १६ गते जारी गरेको पक्राउ पुर्जीका आधारमा बस्नेत र माझीलाई पक्राउ गरिएको डिएसपी पुरुषोत्तम खड्काले बताए ।

    सामुदायीक वनबाट प्रकृया पूरा नगरी खयरको काठ निकासी गरेको आधारमा उजुरी परेपछि डिभिजन वन कार्यालयले ठेकेदार अनिल राई, गाउँमा नेतृत्व गर्ने जोखबहादुर बस्नेत सहित ६ जना बिरुद्ध असोज ७ गते मुद्धा दर्ता गरेर पक्राउ पुर्जीको प्रकृया अघि बढाएको थियो ।

    स्थानीय महिलाले जेठ २४ गते राती एक ट्याक्टर काठ नियन्त्रणमा लिएपछि सामुदायीक वनबाट खयरका काठ चोरी निकासी भइरहेको खुलेको थियो । राती आठ बजेतिर खानेपानीको पाईप जोड्न गएको बेला स्थानीय कुन्तादेबी आमा समुहका अध्यक्ष पवित्रा दाहाल, लोकमायाँ दाहाल, सुमित्रा दाहाल र दिलकुमारी भुजेलले काठ निकासी भइरहेको फेला पारेर गाउँमा खबर गरेका थिए ।

    ट्याक्टरमा त्रिपालले ढाकिएको अवस्थामा खयरका ३९६ टुक्रा काठ फेला परेको थियो । खयर काटिएको विषयमा छानविन गर्न घनश्याम दाहालको संयोजकत्वमा गठन गरिएको छानविन समिति र सव–डिभिजन वन कार्यालयले हलेसीले साउन २९ गते गरे सामुदायीक वनमा पुगेर स्थलगत अनुगमन गरेको थियो ।

    अनुगमनका क्रममा ३८ वटा खयर काटिएको पाइएपछि ठेकेदार राई तथा काठ काटेर ओसार पसारमा संलग्न स्थानीयलाई बयन लिएर सामुदायीक वन समुहलाई साउन ३२ गते प्रतिबेदन बुझाएको छानविन समितिका सदस्य एबं वडा सदस्य शेषकुमार पौडेलले बताए ।

    छानविन समितिको प्रतिबेदन आएपछि वन उपभोक्ता समितिले जरिवाना गरेर ठेकेदारलाई उन्मुक्ती दिने प्रयास गरेको थियो तर डिभिजन वन कार्यालयले अस्वीकार गरेपछि वन पैदावार मुद्धा अघि बढेको हो । बरामद खयरका काठ डिभिजन वन कार्यालयले नियन्त्रणमा राखेको छ ।

    सामुदायीक वन उपभोक्ता समुहको टोलीले साउन २५ गते वन निरिक्षण गर्दा पनि ५० देखि ६० बोट खयर कटान भएको ठुटो भेटिएको थियो । प्रकृया मिचेर सामुदायीक वनको काठ निकासी भएको पाइएपछि कोशी प्रदेश वन तथा वातावरण मन्त्रालयले सड–डिभिजन वन कार्यालय हलेसीका प्रमुख रामसागर मण्डलको सरुवा गरेको छ ।

    आर्थिक मिलेमतोको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले मण्डलको नाममा रहेको बैंक खाताको स्टेटमेन्ट समेत मगाएको श्रोतले जनाएको छ । स्थानीय काठ संकलकले घोपाटार आसपासका निजी जग्गाको खयर काट्नेक्रममा सामुदायीक वनको पनि काटेको छानविन प्रतिबेदनमा उल्लेख छ ।

    सम्बन्धित समाचार