सोमवार, मंसिर ४ २०८०
नेपाल वाइड
खोटाङ, ४ मंसिर । ब्रोइलर कुखुराको चल्लालाई तातो दिन बालिएको कोईला र विजुलीको रातो चिमबाट आगो सल्किदा खोटाङमा घर जलेको छ । आइतबार राती केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका किशोर दुमी राईको घर जल्दा अनुमानित १५ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिए ।
आगलागीमा तीन तले घर सँगै घरमा राखिएको दुई तोला सुन, चार तोला चाँदी, ब्रोइलर कुखुराको १५ वटा चल्ला, अन्नपात, भाँडावर्तन, काठपात, लत्ताकपडा लगायत जलेर नष्ट भएको छ ।
आगलागीपछि भाग्ने क्रममा राईकी भान्जी १५ वर्षीय सरिता तामाङको लडेर अगाडिको दुई वटा दाँत र बायाँ हात भाँचिएको प्रहरीले जनाएको छ । घाइतेलाई स्थानीय क्लिनिकमा सामान्य उपचार गरेर तत्काल काठमाडौं पठाइएको बाक्सिला फुटबल क्लवका अध्यक्ष शिब राईले बताए । सरिता सुतिरहेको अवस्थामा आगलागी सुरु भएपछि अत्तालिएर भाग्ने क्रममा लडेर घाइते भएकी हुन् ।
ब्रोइलरको चल्लालाई घरकै एउटा कोठामा राखेर तातो दिने क्रममा आलगागी सुरु भएको थियो । आगो ईलाका प्रहरी कार्यालय बाक्सिलाका प्रहरी नायब निरिक्षकको कमाण्डामा खटिएको प्रहरी र स्थानीयबासीले राती २ बजे आयो नियन्त्रणमा लिएका थिए ।
अग्नी पिडितलाई क्षतीको आधारमा आर्थिक तथा बन्दोवस्तीका सामान उलपव्ध गराउने तयारी गरिएको केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले बताए ।