शनिवार, मंसिर २ २०८०
नेपाल वाइड
खोटाङ, २ मंसिर । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरभित्रका सहकारीको अवस्थाका विषयमा अनुगमन सुरु गरेको छ । दिक्तेलबजारका केही सहकारीमा बचतकर्ताको लगानी डुवेको जनगुनासो आएपछि नगरपालिकाले स्थानीय सरकारका रुपमा सहकारीहरु प्रकृया अनुसार चले/नचलेको विषयमा पहिलोपल्ट अनुगमन सुरु गरेको हो ।
पहिलो दिन शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, उपमेयर बिसन राई, दिक्तेलका वडाध्यक्ष नवराज राईलगायतको टोलीले सक्रिय बचत तथा ऋण सहकारी संस्था र शुभलाभ बचत तथा ऋण सहकारी संस्था अनुगमन गरेको छ ।
सहकारीलाई सहकारीको मर्म र भावना अनुसार प्रभावकारी बनाउन सहयोग गर्ने र बचतकर्ताको लगानी सुरक्षाको सुनिश्चितता गराउने उद्धेश्यका साथ अनुगमन सुरु गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर भट्टराईले जानकारी दिए ।
‘सहकारीहरु नियम र प्रकृया अनुसार चलिरहेका छन्छै/नन् ? नियम बिपरित वा मनपरी चलाइएका छन् की भनेर बुझ्न अनुगमन सुरु गरेका हौँ । यो स्थानीय सरकारको जिम्मेवारी पनि हो,’ मेयर भट्टराईले भने, ‘सहकारीलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने र बचतकर्तामा बिश्वासको वातावरण निर्माण गर्ने हाम्रो उद्धेश्य हो । सहकारीमा कसैको बचत डुव्नुहुन्न भन्नेमा हामी ढृड छौँ ।’
बचत अपचलनका कारण दिक्तेलको लालुपाते बहुउद्धेश्यीय सहकारी संस्था संकटमा फसेपछि त्यसको असर अन्य सहकारीमा परेको पाइएको छ । लालुपातेमा गरिएको लगानी फिर्ता हुने अनिश्चित बनेपछि अन्य सहकारीमा बचत गर्ने बचतकर्ता हच्किन थालेको पाइएको मेयर भट्टराईले बताए । क्रमशः अन्य सहकारीको अनुगमन गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।