सोमवार, कार्तिक २० २०८०
नेपाल वाइड
खोटाङ, २० कात्तिक । खोटाङको प्रतिष्ठित र सबैभन्दा ज्येष्ठ बाक्सिला रनिङ गोल्डकपको १२ औं संस्करण आगामी फागुनमा हुने भएको छ । आयोजक बाक्सिला फुटबल क्लवको सोमबार बसेको बैठकले आगामी फागुन २ गतेदेखि बाक्सिला रनिङ गोल्डकप सञ्चालन गर्ने निर्णय गरेको हो ।
मोफसलमा फुटबलको व्यवसायीक विकासका लागि विगत १९ वर्ष अघि सुरु गरिएको बाक्सिला गोल्डकपको १२ औं संस्करण केपिलासगढी गाउँपालिका–४ बाक्सिला खेलमैदानमा सञ्चालन गरिने बाक्सिला फुटबल क्लवका अध्यक्ष शिबकुमार राईले जानकारी दिए ।
जिल्लामा फुटबल खेलको व्यवसायीक बिकास तथा फुटबल खेलाडीको प्रोत्साहन र प्रबद्र्धनकालागि बाक्सिला फुटबल क्लवले गोल्डकप सञ्चालन गर्दैआएको छ ।
बाक्सिला फुटबल क्लवले जिल्लामा व्यवसायीक रुपमा खेलिरहेका खेलाडीलाई प्राथमिकतामा राखेर आसन्न गोल्डकपको तयारी सुरु गरेको छ । प्रतियोगीतामा जिल्ला फुटबल संघमा आवद्ध चल्तीका क्लवहरुलाई पहिलो प्राथमिकतामा राखेर सहभागी गराइने क्लवका सचिव पवन श्रेष्ठले बताए ।
लिगकम नोकआउट विधिबाट सञ्चालन हुने प्रतियोगीतामा सहभागी टिमलाई सेवासुविधा वापत ५० हजार प्रदान गर्ने निर्णय गरिएको छ । जिल्ला बाहिरका खेलाडी राख्न चाहने टिमले बढीमा चार जना मात्र खेलाडी भित्र्याउन पाउने अध्यक्ष राईले बताए ।
चन्दाकैभरमा प्रतियोगीता सञ्चालन गर्दै आएको क्लवले यसपल्ट पनि शुभेच्छुकको साथ र सहयोगमा प्रतियोगीताको तयारी गरेको हो । क्लवको बैठक फुटबल संघका प्रदेश उपाध्यक्ष एबं गाउँपालिका अध्यक्ष समिर राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
ग्रामिण क्षेत्रमा फुटबलको व्यवसायीक बिकासको लक्ष्य लिएर २०६१ सालमा स्थापित बाक्सिला फुटबल क्लवले स्थापनाकै वर्षदेखि नै बाक्सिला गोल्डकप सञ्चालन गर्दैआएको छ ।