बुधवार, कार्तिक १५ २०८०
नेपाल वाइड
खोटाङ, १५ कात्तिक । चोमोलुङमा राइड २०२३ नामक यात्रामा निस्किएको रोयल इस्टर्न इन्फिल्डर्स मोटरसाईकल क्लव धरानको टोली खोटाङको दिक्तेलबजार आइपुगेको छ । धरान–पिके पिक (सोलुखुम्बु)को यात्रामा निस्किएको मोटरसाईकल क्लवको टोली दिक्तेल तथा दिक्तेल आसपासका पर्यटकीय क्षेत्रको भ्रमण सकेर ट्याम्के, भोजपुर हुँदै धरान फर्कनेगरी बुधबार साँझ दिक्तेलबजार आइपुगेको हो ।
जिल्लाको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको आयोजनामा गत असोज १७ गतेदेखि असोज २० गतेसम्म दिक्तेलमा आयोजना गरिएको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनीको प्रभाव स्वरुप मोटरसाईकल क्लव चोमोलुङमा राइड अन्तरगत दिक्तेलबजार बास आइपुगेका हुन् ।
बिभिन्न सञ्चार माध्यम, यूटुब तथा सामाजिक सञ्जालमार्फत चित्रकला कार्यशाला तथा प्रदर्शनीमा सहभागी स्वदेश तथा बिदेशका चित्रकारलाई जिल्लाबासीले देखाएको सम्मान र नगरको कार्यक्रममा स्थानीयको सहभागीता देखेर मोटरसाईकल क्लवका २८ जनाको टोली दिक्तेलबजार आइपुगेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।
नगरपालिकाको अगुवाईमा शुक्रबार बिहान साँढे ५ बजे रोयल इस्टर्न इन्फिल्डर्स मोटरसाईकल क्लवको टोलीले मुढेबाट हिमाल र सुर्योद्धयको अवलोकन गर्ने, टोलीलाई साँढे ६ बजेदेखि ८ बजेसम्म दिक्तेलबजारमा मोटरसाइकल सहित यात्रा गराएर हाटडाँडामा स्वागत गर्ने तथा मझुवागढी देबिथान अवलोकन गराउने कार्यक्रम तय गरिएको छ ।
यस्तै, बिहान ९ बजेदेखि साँढे ९ बजे भुलभुले क्षेत्रको भ्रमण गरी टोली भोजपुरतर्फ प्रस्थान गर्ने मेयर भट्टराईले बताए । ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनीको प्रभाव स्वरुप पर्यटकहरुले हाम्रो क्षेत्रलाई घुमघाम गर्ने रोजाइमा पार्नु अवश्य पनि खुसीको कुरा हो ।
पर्यटकलाई गर्ने सम्मान र स्वागतमा हामीले जुन पहिचान बनाएका छौँ, वास्तवमा यो नै हाम्रो परिचय हो,’ मेयर भट्टराईले भने, ‘मोटरसाईकल क्लवको यस भ्रमणले हाम्रो क्षेत्रको पर्यटन प्रवर्द्धनमा इट्टा थप्नेछ भन्ने कुरामा हामी बिश्वस्त छौँ ।’
सन् २०१२ मा धरानका युवाले स्थापना गरेको रोयल इस्टर्न इन्फिल्डर्स मोटरसाईकल क्लवले सडक दुर्घटना न्यूनिकरण गर्न ट्राफिक सचेतना, पर्यटन प्रवद्र्धन, लागुऔषध दुर्व्यसन न्यूनिकरण सम्वन्धी सचेतनाका अलवा सामाजिक कार्यक्रमहरु गर्दै आएको छ । हाल सय भन्दा धेरै युवा आवद्ध क्लवले विभिन्न प्याकेज टुर तथा आन्तरिक पर्यटनको सम्भावना पहिचान र प्रवद्र्धनमा टेवा पुर्याउँदै आएको छ ।