मंगलवार, कार्तिक १४ २०८०
नेपाल वाइड
खोटाङ, १४ कात्तिक । चाम्लिङ राईभित्रको पाछा मध्ये मायाराजाहोँछा समुदाय संगठित भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित हलेसीगढीमा शासन गरेका होलेसुङका दश भाई छोराहरुमध्ये माईलो छोरो मायाराजाहोँछाको सन्तान संगठित भएका हुन् ।
दुर्छिमको कोटगैरास्थित पञ्चकन्य न्यू भिजन हलमा मंगलबार सम्पन्न मायाराजाहोँछा समुदायको प्रथम भेलाले डिल्ली चाम्लिङको अध्यक्षतामा ३९ सदस्यीय मायाराजाहोँछा प्रतिष्ठान गठन गरेको छ ।
प्रतिष्ठानको उपाध्यक्षमा दीपेन्द्र राई, बबिन्द्र राई र लकिन्द्र राई, महासचिव राजुबिक्रम चाम्लिङ, उपमहासचिवमा बिक्रम चेतनशील र अञ्जिलहाङ राई, सचिवमा कमल मायाराजाहोँछा, निराजन किराती र सुजेन राई, कोषाध्यक्षमा कैलाश राई र सह–कोषाध्यक्षमा यज्ञराज राई चयन भएका छन् ।
खोटाङ सहित उदयपुर, भोजपुर, धनकुटा, सुनसरी, मोरङ, क्यानाडा, हङकङ, बेलायत, जापान, दुबई लगायतका ठाउँमा बसोबास गरिरहेका मायाराजाहोँछा प्रतिनिधिको उपस्थितिमा प्रतिष्ठान बनाइएको हो ।
मायाराजाहोँछा पाछालाई संगठित गर्दै आफ्नो समुदायको हकहित तथा जागरणका काम गर्नका लागि प्रतिष्ठान बनाइएको उपाध्यक्षमा दीपेन्द्र राईले बताए । स्वदेश तथा बिदेशमा रहेका मायाराजाहोँछाको प्रथम भेलाको अवशसरमा मानसुङ्छा डटकम शुभारम्भ गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष चुनिएका चाम्लिङले क्लिक गरेर मानसुङ्छा डटकम उद्घाटन गरेका थिए । भेलाले मायाराजाहोँछा नामक एप्स बनाउने, हलेसीगढी आसपासमा पुर्खा मायाराजाहोँछाको शालिक सहितको पार्क बनाउने लगायतका निर्णय गरिएको प्रतिष्ठानले जनाएकोछ ।
हालसम्म मायाराजाहोँछाको चौधौं पुस्ता पुगिसकेको छ । सो समुदायका एघार पुस्तासम्म जिवित छन् । मायाराजाहोँछा एप्सका माध्यमबाट त्यी पुस्ताबीचमा चिनजानको वातावरण निर्माणको योजना बनाइएको उपाध्यक्ष राईले बताए ।
‘पहिलो कुरा त समुदायको यूनिटी नै हो । प्रतिष्ठानको माध्यमबाट समुदायको हकहित र जागरणका काम गर्छौँ,’ उपाध्यक्ष राईले भने, ‘मायाराजाहोँछाको चौधौं पुस्ता चलिरहँदा एघारौं पुस्ता समेत जिवित छन् ।
प्रतिष्ठानको माध्यमबाट त्यी पुस्ताबीचमा चिनजान गर्ने/गराउने पुलको काम गराइने छ ।’ हलेसी गढीमा करिब चार सय वर्ष पहिले होलेसुङले राज्यसत्ता सञ्चालन गरेका थिए ।
हलेसीथुमका तिनै प्रथम कविला होलेसुङकै नामबाट ठाउँको नाम नै हलेसी रहन गएको इतिहास छ । किराती राजा होलेसुङले स्थापना गरेको राज्यमा भ्वाँरमहोँछा राजा भएको समयमा बिक्रम सम्बत १८३० भदौमा पृथ्बीनारायण शाहका सेनाले आक्रमण गरेर परास्त गरेको मुन्धुम अध्यता भोगीराज चाम्लिङ बताउँछन् ।