मंगलवार, कार्तिक १४ २०८०
नेपाल वाइड
खोटाङ, १४ कात्तिक । खोटाङमा आयोजित ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’को दोश्रो चरणको कार्यक्रमको सन्दर्भमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटघाट गरेका छन् ।
जिल्लाको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्धन गर्ने उद्धेश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोले गत असोज १७ गतेदेखि असोज २० गतेसम्म दिक्तेलमा आयोजना गरेको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनीमा सहभागी स्वदेश तथा विदेशका चित्रकारले बनाएको चित्रलाई काठमाडौं लगेर प्रदर्शन गर्ने तयारीका सन्दर्भमा मेयर भट्टराई नेतृत्वको टोलीले राष्ट्रपति पौडेललाई भेटघाट गरेका हुन् ।
१८ जना विदेसी र २५ जना स्वदेसी चित्रकारले दिक्तेलको मझुवागढी, भवनगैरा, हाटडाँडा, शंखधर शाख्वा र शुभम फाउण्डेसनमा पुगेर उतारेका लाइभ पेन्टिङलाई दोश्रो चरणमा नेपाल आर्ट काउन्सिल, बबरमहल, काठमाडौंमा लगेर आगामी माघ १० गतेदेखि माघ मसान्तभित्र प्रदर्शन गर्ने तयारी गरिएको छ ।
चित्रकला प्रदर्शनीमा प्रमुख अतिथिका रुपमा उपस्थित गराउनका लागि आग्रह गर्न मेयर नेतृत्वको टोली सोमबार राष्ट्रपति पौडेललाई भेट्न गएका हुन् । भेटघाटका क्रममा राष्ट्रपति पौडेलले चित्रकला प्रदर्शनीमा प्रमुख अतिथिका रुपमा उपस्थित हुने आश्वसन दिएको मेयर भट्टराईले बताए ।
मेयर भट्टराईसँग प्राज्ञ धनबहादुर याम्खा, बिजय थापा, चित्रकार रतनकुमार राई, किरण सिजु, बिनिता इजम लगायत राष्ट्रपति कार्यालय पुगेका थिए । ‘राष्ट्रपति हँसिलो मुद्रामा प्रस्तुत हुनु भएको थियो ।
राष्ट्रपति कार्यालयको सचिवालयसँग समन्वय गरेर चित्रकला प्रदर्शनीको मिति तय गर्नु भन्नु भएको छ,’ मेयर भट्टराईले भने, ‘उहाँले कला, साहित्य र संगीतको क्षेत्रमा नगरपालिकाले अग्रसरता लिएर गतिविधि गरेकोमा प्रशन्नता व्यक्त गर्नु भयो । यस क्षेत्रमा निरन्तर लागि रहन सुझाव दिनुभयो ।’
चित्रकला कार्यशाला तथा प्रदर्शनीमा सहभागी बनेका नेपाल सहित अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका चित्रकारले बनाएका ११८ वटा चित्रलाई लगेर प्रदर्शन गर्ने तयारी गरिएको छ ।
नेपाल आर्ट काउन्सिलमा लगेर प्रदर्शन गरिएको चित्रलाई पुःन दिक्तेलमा ल्याएर संग्रहालयको रुपमा विकास गर्ने योजना बनाइएको मेयर भट्टराईले बताए ।
स्वदेस तथा बिदेशका ख्याती प्राप्त चित्रकारको उपस्थितिले जिल्लाका चित्रकलामा रुची राख्ने प्रतिभालाई उर्जा मिलेको, चित्रकला सम्वन्धी ज्ञान आर्जन भएको, बिदेसी चित्रकारको मानसपटलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको छाप बस्दा पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको, जिल्लाको संस्कार, संस्कृति र सहिष्णुतालाई अन्तर्राष्ट्रियकरण गर्न योगदान पुगेको, कला र संस्कृतिको प्रवद्र्धनमा टेवा पुगेको दावी गरिएको छ ।