आइतवार, कार्तिक १२ २०८०
नेपाल वाइड
खोटाङ, १२ कात्तिक । ज्वरोले थलिएकी खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बु (बुईखा)का २६ वर्षीय जेसुका राईको उपचारका लागि शनिबार स्वास्थ्यकर्मी घरैमा पुगे । जेसुका बिरामी परेको खबर पाएपछि गाउँपालिकाबाट औषधि सहितको स्वास्थ्यकर्मी छोरम्बु पुगेका थिए ।
ओछ्यान परेकी जेसुकालाई गाउँपालिकाको “हेल्लो डाक्टर” कार्यक्रम अन्तरगत खटिएका स्वास्थ्यकर्मीले स्वास्थ्य चेक जाँच गरेपछि इन्जेक्सन दिए । उनै स्वास्थ्यकर्मी बेलुका जेसुकाको फलोअपमा गए । उपचारपछि जेसुकाको स्वास्थ्य ‘रिकभर’ भइरहेको “हेल्लो डाक्टर” कार्यक्रमका संयोजक अहेव सुरेश प्रधान बताउँछन् ।
“हेल्लो डाक्टर” कार्यक्रम अन्तरगत खटिएका स्वास्थ्यकर्मीले शनिबार छोरम्बु पिप्लेका नौ महिनाको जुजुहाङ राई र ३६ महिनाकी सोनिया राईको प्राथमिक उपचार गरिदिए । यस्तै, ज्वरोले बिरामी परेकोबेला कात्तिक १० गते स्लाईन र इन्जेक्सन दिएपछि दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे राटमाटाका देबिका श्रेष्ठ निको भईन् । कात्तिक ९ गते बतासे मुलाबारीका इन्ट्रेष्ट राईलाई घरमा पुगेर प्राथमिक उपचार गरेर उदयपुरको गाईघाट रेफर गरिएको प्रधानले बताए ।
सामान्य स्वास्थ्य समस्या भएका सर्वसाधारणलाई घरैमा प्राथमिक उपचार सेवाको व्यवस्थाका लागि दिप्रुङ चुइचुम्मामा सुरु गरिएको “हेल्लो डाक्टर” कार्यक्रम अन्तरगत उनीहरुको उपचार गरिएको हो । गत भदौ १ गतेदेखि सुरु गरिएको “हेल्लो डाक्टर” कार्यक्रममार्फत हालसम्म उनीहरु सहित ६१३ स्थानीय लाभान्वित भइसकेका छन् ।
“हेल्लो डाक्टर” कार्यक्रमका लागि हाल गाउँपालिकामा ६ जना स्वास्थ्यकर्मी चौबिसै घण्टा तयारी अवस्थामा राखिएका छन् । उनीहरु औषधि बोकेर बिरामीको घर–घरमा पुग्छन्, स्वास्थ्य जाँच गर्छन्, आवश्यक औषधि वितरण गर्छन् र जटिल किसिमको स्वास्थ्य समस्या देखिए अन्यत्र रेफर गर्छन् । बिरामीका आफन्तले खबर गरेपछि स्वास्थ्यकर्मी उपचारका लागि तत्काल औषधि बोकेर दौडिने गरेका छन् ।
“हेल्लो डाक्टर”मार्फत दिर्घरोगीको स्वास्थ्य परिक्षण, प्रेसर र सुगर जाँच, बाफ दिने, ज्वरो नाप्ने, सुई लगाउने, चोट पटक लागेको ठाउँमा सिलाउने, स्लाईन दिने, आवश्यक स्वास्थ्य परामर्श दिने व्यवस्था मिलाइएको छ । सामान्य प्रकृतिका स्वास्थ्य समस्याका लागि स्थानीयले फोनबाटै परामर्श लिन सक्छन् ।
गाउँपालिकाका नागरिकको स्वास्थ्य संवेदलशिलतालाई मध्यनजर गर्दै चालु आर्थिक वर्षदेखि “हेल्लो डाक्टर” कार्यक्रम सुरु गरिएको हो । तत्काल स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसक्ने अवस्थाका गम्भीर तथा आकस्मिक स्वास्थ्य समस्या भएमा नागरिकलाई घरैमा प्राथमिक स्वास्थ्य सेवा तथा परामर्श सेवा प्रदान गर्नेगरी “हेल्लो डाक्टर” कार्यक्रम सुरु गरिएको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राई बताउँछन् ।
“घर–घरमै पुगेर प्राथमिक उपचार सेवा दिने लक्ष्यका साथ हेल्लो डाक्टर कार्यक्रम ल्याइएको हो । सकेसम्म आफैले उपचार गरिदिने नसकिने अवस्थामा रेफर गर्ने गरिएको छ,” गाउँपालिका अध्यक्ष राईले भने, “नागरिकले घरैमा छिटो, छरितो र सहज ढंगले स्वास्थ्य सेवा पाइरहेका छन् । स्वास्थ्य संस्थासम्म जान नसक्ने अशक्त अझै बढी लाभान्वित भइरहेका छन् ।”
गाउँपालिकाका सात वडामध्ये हेअ रमेशकुमार यादवलाई बतासे र छोरम्बु, अहेव गोबिन कटुवाललाई छितापोखरी र सछितापोखरीको माथिल्लो भाग तथा कैलाश खत्रीलाई याम्खा र टेम्मामा “हेल्लो डाक्टर”को जिम्मेवारी दिइएको छ ।
अहेव प्रधान, शुशिला राई र बलराम मगरलाई गाउँपालिकाबाट समन्वय गर्ने तथा आवश्यकता अनुसार चौबिसै घण्टा सेवामा खटिनेगरी राखिएको छ । हालसम्म ५८४ जना बिरामीको उपचार गर्दा ५३३ जना निको भएको, ५१ जनालाई रेफर गरिएको र २९ जनालाई परामर्श प्रदान गरिएको प्रधान बताउँछन् ।
“हामी चौबिसै घण्टा सेवामा खटिएका छौँ । कसैलाई आकस्मिक स्वास्थ्य समस्या भएको खबर पाए लगत्तै घरैमा पुग्छौँ,” प्रधानले भने, “दुरदराजमा बस्ने गरिब जनता सबैभन्दा बढी लाभान्वित भएका छन् । उनीहरुको समय र खर्चको बचत भएको छ ।”
“हेल्लो डाक्टर” कार्यक्रमलाई थप प्रभावकारी बनाउन एक जना एमबिबिएस डाक्टर नियुक्त गर्ने र गाउँपालिकाको केन्द्रमा अस्पताल स्थापना गर्ने लक्ष्य राखिएको अध्यक्ष राईले बताए ।