शनिवार, आश्विन २७ २०८०
नेपाल वाइड
खोटाङ, २७ असोज । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले तोकिएभन्दा बढी भाडा उठाउने चार सुमो चालक तथा सञ्चालकलाई कारबाही गरेको छ ।
दशैँ, तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित गरेर सुरु गरिएको विशेष सवारी जाँच अभियानका क्रममा यात्रुबाट तोकिएको भन्दा बढी भाडा उठाउने सुमोलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।
यात्रुबाट तोकिएको भन्दा बढी भाडा उठाइएको पाइएपछि काठमाडौँबाट यात्रु लिएर खोटाङ आउँदै गरेको ना १ ज ३३९३, ना १ ज ४४८३, प्रदेश–२–०३०१ ज ००११ र ना १ ज ५६५९ नम्बरको सुमो चालकलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी सहायक निरीक्षक हिमाल पौडेलले बताए ।
दिक्तेल–काठमाडौँ तथा काठमाडौँ–दिक्तेलको एकतर्फी भाडा दुई हजार १० रुपैयाँ निर्धारण गरिएको भए पनि सुमो चालक तथा सञ्चालकले दुई हजार २०० देखि तीन हजार ५०० सम्म बढी भाडा लिएको पाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
ना १ ज ५६५९ नम्बरको सुमोले सबैभन्दा बढी निर्धारित भाडा दरमा एक हजार ४९० रुपैयाँ बढी भाडा लिएको यात्रुको गुनासो छ । अभियान सुरु गरेको दुई दिनमै चार वटै सुमोलाई कारबाही स्वरुप आगामी दिनमा गल्ती नदोहोर्याउने सर्तमा तीन/तीन हजार जरिवाना गरेर छाडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी सहायक निरीक्षक पौडेलले बताए ।
सुमो चालकले यात्रुबाट निर्धारण गरिएकोभन्दा झण्डै दोब्बर बढी भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरीले असोज २६ गतेदेखि विशेष सवारी जाँच अभियान शुरु गरेको हो ।