बिहिवार, आश्विन २५ २०८०
नेपाल वाइड
खोटाङ, २५ असोज । खोटाङको दिक्तेलबजारमा स्थानीय तहमा लैंगिक समानता तथा सामाजिक समावेसीकरण मुल प्रवाहीकरण सम्वन्धी अन्तरक्रिया गरिएको छ ।
स्थानीय तहका विषयगत समितिका संयोजक, पालिका उपाध्यक्ष, विषयगत समितिका सदस्य सचिव, विषयगत समितिमा रहेका निर्वाचित जनप्रतिनिधि र कार्यपालिका सदस्यहरुलाई सहभागी गराएर दलित महिला केन्द्र नेपालले बिहिबार अन्तरक्रिया गरेको हो ।
‘शी लिड्स–महिला नेतृत्व’ कार्यक्रम अन्तरगत जिल्लाका १० स्थानीय तहमध्ये जन्तेढुंगा गाउँपालिका बाहेक ६ स्थानीय तहका ३१ जना प्रतिनिधिलाई सहभागी गराएर कार्यक्रम गरिएको हो । स्थानीय तहमा लैंगीक समानता तथा सामाजिक समावेसीकरण सम्वन्धी निती बनाउने, बजेट बिनियोजन गर्ने र लागू गर्ने वातावरण निर्माणका लागि अन्तरक्रिया गरिएको ‘शी लिड्स’ परियोजनाका सहजकर्ता दुर्गााजयन्ती राईले बताईन् ।
‘राज्यको मुल नितीमा लैंगीक समानता तथा सामाजिक समावेसीकरण सम्वन्धी नीति, योजना र बजेट बनाउनुपर्छ भन्ने छ । अन्तर्राष्ट्रिय फोरमहरुमा पनि हामी चैं लैंगीक समानताको पक्षपाती हौँ भन्छौँ । सामाजिक समावेसीकरणको लागि हामी निती बनाउँछौं, कार्यान्वयन गर्छौँ र उत्पीडनमा परेका, उपेक्षामा परेका सबै जाती, वर्ग, लिंगको क्षेत्रको मानिसलाई राज्यको मूल प्रवाहमा ल्याउँछौँ भन्दै भाषण गर्छौँ तर प्राक्टिसमाचैं अलि कम छ,’ राईले भनिन्, ‘स्थानीय सरकारले पनि क्षमता विकास योजना बनाउनुपर्छ तर त्यस्ता कुरामा ध्यान दिएको पाइन्न ।
त्यसैले अवचैं लैंगीक समानता तथा सामाजिक समावेसीकरण निती बनाउने, लागू गर्ने, बजेट बनाउने कुरामा पोजिटिभ बनाउनका लागि अन्तरक्रिया गरिएको हो ।’ विशेषगरी निर्वाचित दलित तथा सिमान्तकृत महिलाको अधिकार संरक्षण, प्रवर्द्धन, आर्थिक सवलीकरण तथा आत्मसम्मानको क्षेत्रमा काम गर्दै आएको परियोजनाले सामाजिक विकास, आर्थिक विकास र वातावरण तथा विपद व्यवस्थापन समितिलाई सहभागी गराएर अन्तरक्रियामा गरेको हो ।
कार्यक्रममा दिप्रुङ चुईचुम्मा गाउँपालिकाका उपाध्यक्ष अरुणा थापा मगर, साकेला गाउँपालिकाका उपाध्यक्ष बिर्सिका राई, वडाध्यक्ष लगायतको सहभागीता रहेको थियो ।
जिल्लाको साकेला गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मकुवागढी नगरपालिका रावावेसी गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका तथा पछि थप गरिएका ऐसेलुखर्क गाउँपालिका, खोटेहाङ गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिकामा ‘शी लिड्स–महिला नेतृत्व’ परियोजना सञ्चालन भइरहेको छ ।