बुधवार, आश्विन २४ २०८०
नेपाल वाइड
खोटाङ, २४ असोज । राष्ट्रिय मानव अधिकार आयोग नेपालले जिल्ला अस्पताल खोटाङमा जीवनजलकै अभाव देखिएको औंल्याएको छ । व्यवसाय तथा उपभोक्ताको अधिकारका विषयमा अनुगमनका क्रममा आएको आयोगका सदस्य मिहिर ठाकुर नेतृत्वको टोलीले अनुगमनका क्रममा जिल्ला अस्पतालमा जीवनजल नपाएको जनाएको छ ।
बुधबार जिल्लाका पत्रकारहरुसँगको छलफल कार्यक्रममा आयोगका सदस्य ठाकुरले अनुगमनका क्रममा जिल्ला अस्पताल पुगेर झाडापखालाको बिरामीलाई खुवाइने जीवनजल माग्दा नपाएको बताए ।
“मंगलबार जिल्ला अस्पताल पुगेका थियौं । होटलको कोठा चिसो भएका कारणले डाइजेसनमा समस्या आएको थियो,” सदस्य ठाकुरले भने, “जीवनजल लिउँ न त भनेर मागेको पाइएन ।
इमरजेन्सीमा सकिएको रहेछ । स्टोरमा पनि भेटिएन । जिल्ला अस्पतालको अवस्था बुझ्न यत्ती काफी छ ।” मानव अधिकार आयोगले १५ बेडको अस्पतालमा दरबन्दि अनुसारको चिकित्सक नभएको औंल्याएको छ ।
हालको बिरामीको चाप अनुसार दरबन्दि थप हुनुपर्ने आयोगको सुझाव छ । जिल्ला अस्पतालका डाक्टर चतुरानन्द यादवले भने स्वास्थ्य कार्यालयमा रहेको स्टक जीवनजल ल्याएर अस्पतालमा बुधबारदेखि जीवनजलको आपुर्ती गरिएको बताएका छन् ।
अनुगमनका क्रममा आयोगले जिल्लामा शिक्षाको नाजुक झल्को पाइएको जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सडकमा हिँडिरहेका तीन विद्यार्थीमध्ये कक्षा ११ मा अध्ययनरत एक विद्यार्थीले ‘नेशनल ह्युमन राइटस् कमिसन नेपाल’ पढ्न नसकेको, कक्षा ९ मा अध्ययनरत विद्यार्थीले कनिकुथी पढेको र कक्षा ५ मा अध्ययनरत विद्यार्थीले सहजै वाचन गरेको सदस्य ठाकुरले बताए ।
आयोगले नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीमा तल्ला तहका कर्मचारीलाई अपशव्द प्रयोग गरेर बोलाउने गरेको गुनासो आएको जनाएको छ । तल्ला पदमा काम गर्ने सुरक्षाकर्मीलाई ‘तिमी, तँ’ देखि तल्ला स्तरका शव्द प्रयोग गर्ने गरिएको सदस्य ठाकुले जानकारी दिए ।
उच्च ओहोदाको अधिकारीले तल्ला स्तरको गाली गरेकै कारण एक जनाले जागीर छाडेको पाइएको आयोगको जानकारी दिएको छ । तर, तीन सुरक्षा निकायमा महिलाको सहभागिता वृद्धि भएको तथा सम्मानजनक व्यवहार पाइरहेको प्रतिबेदनमा उल्लेख छ ।
यस्तै, विभिन्न स्थानीय तहका जनप्रतिनिधिलाई कर्मचारीबाट असहयोग हुने गरेको, बैंकको व्याज दरमा वृद्धि भइसहेको तर व्यपार, व्यवसाय कारोबारमा र्हास आएको, ठेकेदारले काममा लगाएका मजदुरलाई ज्याला नदिने गरेको, जाँड रक्सी प्रयोगका कारण महिला हिंसा तथा आत्महत्यका घटनामा बृद्धि भएको, तरकारी उत्पादनको वार्षिक सन्तुलन नभएका कारण बेला बेलामा महंगी बढेको लगायतका समस्या आयोगले औंल्याएको छ ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश शाखा कार्यालय खोटाङका प्रमुख उपसचिव गीताकुमारी दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष दिपील खत्री लगायतको उपस्थिति रहेको थियो ।