मंगलवार, आश्विन २३ २०८०
नेपाल वाइड
खोटाङ, २३ असोज । खोटाङमा गोरु काटेर भोज खान/खुवाउनमा संलग्न चार जना रिहा भएका छन् । गोरु काटेर खान र खुवाउन संलग्न भएको अभियोगमा गत असोज ९ गते पक्राउ परेका जालपाका तेजबहादुर तामाङ, २१ वर्षीय टिकमान तामाङ, ३५ वर्षीय गोपाल तामाङ र रावाबेँसी गाउँपालिका–६ हौंचुरका २७ वर्षीय बादल गुरुङ मंगलबार रिहा भएका हुन् ।
जिल्ला अदालतको आदेशमा जेतबहादुर सामान्य तारेखमा र अन्य तीन जना १०/१० हजार धरौटीमा छुटेको प्रहरीले जनाएको छ । मंगोल नेशनल अर्गनाइजेसन–डिजीजीको अगुवाईमा असोज ८ गते गोरु काटेर खान र खुवाउन संलग्न भएको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो ।
गोरु काटेर भोज खान/खुवाउनमा संलग्न भएको अभियोगमा पक्राउ परेका स्थानीयको रिहाइको माग गर्दै मंगोल नेशनल अर्गनाइजेसन–डिजीजीले असोज १० गते र असोज १४ गते दिक्तेलबजारमा प्रदर्शन गरेको थियो । प्रहरीले गोरु काट्न नेतृत्व गर्ने भन्दा सहयोगी र भोजको भिडियो शेयर गर्नेलाई मात्र पक्राउ गरेको भन्दै आलोचना भएको थियो ।