Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग

    फोक्सिङटार–सिमपानी सडक कालोपत्रेको ठेक्का तोड्ने निर्णय उच्च अदालतबाट सदर

    फोक्सिङटार–सिमपानी सडक कालोपत्रेको ठेक्का तोड्ने निर्णय उच्च अदालतबाट सदर


    • बिहिवार, आश्विन ११ २०८०

    • नेपाल वाइड


    फोक्सिङटार–सिमपानी सडक कालोपत्रेको ठेक्का तोड्ने निर्णय उच्च अदालतबाट सदर
    खोटाङको फोक्सिङटार–सिमपानी (राजापानी) सडक खण्ड । तस्बीरः दमन राई

    खोटाङ, ११ असोज । उच्च अदालत पाटनले खोटाङ र उदयपुर जोड्ने गाईघाट–दिक्तेल सगरमाथा राजमार्गको फोक्सिङटार–सिमपानी (२७ किलोमिटर) सडक खण्ड कालोपत्रेको ठेक्का तोड्ने निर्णय सदरको फैसला गरेको छ ।

    ठेकेदार कम्पनी देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीको चरम ढिलासुस्तीका कारण सडक कालोपत्रेको काम अलपत्र परेपछि गाईघाट दिक्तेल सडक योजनाको कार्यालय उदयपुरले २०७९ पुस ८ गते ठेक्का तोड्ने निर्णय गरेको थियो ।

    ठेक्का तोड्ने निर्णय बिरुद्ध परेको रिटलाई उच्च अदालत पाटनका न्यायधिस टेकप्रसाद ढुंगाना र गोकर्ण डाँगीको संयुक्त इजलासले बुधबार खारेज गर्ने फैसला सुनाएको हो ।

    ठेक्का तोड्ने निर्णय बिरुद्ध ठेकेदारले २०७९ पुस १९ गते उच्च अदालतमा रिट दायर गरेका थिए । उच्च अदालतले अन्तिम फैसला नभएसम्मका लागि सडक कालोपत्रेको ठेक्का तोड्ने निर्णय कार्यान्वयन नगर्न २०७९ माघ ४ गते अन्तरिम आदेश दिए पनि अन्तिम फैसलामार्फत रिट खारेज गर्ने फैसला गरेको हो ।

    उच्च अदालतको सो फैसलासँगै ठेक्का तोड्ने र प्रकृया पुरा गरेर पुःन अर्को टेण्डर खुलाउने बाटो खुलेको गाईघाट दिक्तेल सडक योजनाको कार्यालय उदयपुरका योजना प्रमुख गोपालप्रसाद खकुरेलले बताए ।

    पुःन अर्को टेण्डर गरेर कालोपत्रे गर्नेक्रममा लाग्ने खर्च निर्माण व्यवसायीले बेहोर्नुपर्ने भएकाले उनीहरु रिट हाल्न पुगेका थिए । अन्तरिम आदेशपछि निर्माणस्थल फर्किएको निर्माण व्यवसायीले गत जेठ २० गतेदेखि प्राईमकोट राख्न सुरु गरेको थियो । करिब साँढे दुई किलोमिटर खण्डमा पहिलो लेयरको प्राईमकोट राख्ने बाहेक काम नभएको योजना प्रमुख खकुरेलले बताए ।

    २०७७ साल साउनमै सम्पन्न भइसक्नु पर्ने फोक्सिङटार–सिमपानी सडक कालोपत्रेको काम हालसम्म अधुरो छ । देवनारायण पवन/मैनाचुली/खाम्पाचेले ५५ करोड ८७ लाखमा २०७७ साउन १० गतेभित्र कालोपत्रे पूरा गर्ने शर्तमा २०७३ साउन ११ गते गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग (१०१ किलोमिटर)को महुरे–फोक्सिङटार सडक खण्ड अन्तरगत फोक्सिङटार–सिमपानी सडक कालोपत्रेको खरिद सम्झौता गरेको थियो ।

    सडक कालोपत्रेको काममा भइरहेको ढिलासुस्ती बिरुद्ध खोटाङका प्रदेशसभा सदस्य भुपेन्द्र राईले निरन्तर दवाव दिँदैआएका छन् । अन्तिम पेशीको दिन प्रदेश सांसद राई उच्च अदालत पुगेका थिए ।

    “निर्माण व्यवसायीले न्याय नपाए पनि हामी खोटाङ्गे नागरिकले न्याय पाएका छौँ । निर्माण व्यवसायीको रिट खारेज भएको छ,” राईले सामाजिक सञ्जालमा लेखेका छन्, “अब सम्बन्धित निकायले पुनः तत्काल कति पनि ढिला नगरी काम अगाडि बढाओस् । खोटाङलाई हार्ने, हराउने छुट छैन ।” सडक कालोपत्रेको काम अलपत्र पार्ने ठेकेदारको बिरोधमा प्रदेशसभा सांसद पाँचकर्ण राई नेतृत्वको स्थानीयले बैसाख १७ गते महुरेमा सडकमै बसेर डेढ घण्टा चक्का जाम गरेका थिए । उच्च अदालतले उदयपुरको अँधेरी खोला–फोक्सिङटार सडक खण्डको ठेक्का लिएको मैनाचुली सिद्धीसाई प्रकाश जेभीको रिट पनि खारेज गरिदिएको छ ।

    सम्बन्धित समाचार