बुधवार, आश्विन ३ २०८०
नेपाल वाइड
खोटाङ, ३ असोज । संविधान दिवसको अवसरमा खोटाङमा संविधान बाचन गरिएको छ । संविधान दिबस २०८० को अवसरमा संविधान दिवस जिल्ला समारोह समितिको आयोजनामा बुधबार संविधानको विभिन्न भाग बाचन गरिएको हो ।
जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथिदेखि अन्य अतिथिलाई मन्तव्यका क्रममा भाषणको सट्टा संविधान पल्टाएर बाचन गरेर सुनाउन लगाइएको थियो । कार्यक्रम पुर्वसांसद कुलप्रसाद फुयाँलले संविधानको प्रस्तावना बाचन गरेर कार्यक्रम उद्घाटन गरेका थिए । उद्घोषकले संविधानको भाग तोकेर बाचन गर्नका लागि अन्य अतिथिलाई मञ्चमा बोलाएका थिए ।
कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले संविधानको भाग १७ मा व्यवस्था गरिएको स्थानीय कार्यपालिका, प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले संविधानको भाग १७ मा व्यवस्था गरिएको नागरिकता, कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले संविधानको भाग २९ को राजनीतिक दल सम्बन्धी व्यवस्था, एमालेका जिल्ला कमिटि कानून विभाग प्रमुख ओमप्रकाश घिमिरेले प्रदेश कार्यपालिका र प्रदेश व्यवस्थापिका खण्ड बाचन गरेर सुनाएका थिए ।
यस्तै, नेपाल प्रहरीका डिएसपी पुरुषोत्तम खड्का र शसस्त्र प्रहरीका डिएसपी कृष्णबहादुर बमले भाग मौलिक हक र कर्तव्य, स्वास्थ्य कार्यालय प्रमुख पुण्यप्रसाद सिग्देलले विविध र जिल्ला समन्वय समितिका सदस्य ज्ञानेन्द्र राईले संघ, प्रदेश र स्थानीय तहबीच अन्तरसम्वन्ध खण्डलाई बाचन गरेका थिए ।
धार्मिक ग्रन्थहरु बाचन गरेर सुनाएजस्तै देश चलाउने महत्वपूर्ण दस्तावेजलाई पढेर बुझ्न र अरुलाई बुझाउने सन्देश प्रवाहका लागि संविधान बाचन कार्यक्रम राखिएको संविधान दिवस जिल्ला समारोह समितिका संयोजक एबं जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताए । कार्यक्रममा कांग्रेस र एमाले बाहेक अन्य दलको प्रतिनिधि अनुपस्थित भएका थिए ।
संविधान दिवसको अवसरमा बुधबार साँझ सरकारी कार्यालयहरुमा दिप प्रज्वलन गरिएको छ । दिवसको अवसशरमा बिहान जिल्ला अस्पताल परिषर सरसफाई गरिएको थियो ।