बिहिवार, भाद्र २१ २०८०
नेपाल वाइड
खोटाङ, २१ भदौ । जिल्ला अस्पताल खोटाङको सेवा प्रवाहका विषयमा सेवाग्राहीले प्रश्न उठाएका छन् । आवश्यक जनशक्ती एबं उपकरण अभाव, अस्पतालको सरसफाई, औषधिको उपलव्धता, सेवा लिनेक्रममा गरिने व्यवहार लगायतका विषयमा सेवाग्राहीले प्रश्न उठाएका हुन् ।
जिल्ला अस्पतालको सरोकारका विषयमा भदौ १८ गते जिल्ला समन्वय समिति र बाल सेवा समाजको सह–आयोजनामा आयोजित नागरिक सम्वाद कार्यक्रममा लिखित रुपमा नौ प्रश्न उठाइएका छन् । अस्पतालको सेवा प्रवाह सेवाग्राहीमैत्री हुन नसकेको सहभागीले प्रश्न उठाएका छन् ।
प्रश्नहरुः
१. ग्याँस्ट्रिकले थला परेको बिरामीलाई मिर्गौला बर्बाद भयो भनेर बिराटनगर रेफर गरिएछ नी ?
२. कम्मर दुखेर स्वास्थ्य जाँच गराउन गएको बिरामीको मेरुदण्डको पुछारमा क्र्याक भनेर औषधि चलाइएछ नी ?
तर ग्याष्ट्रिकले नै रैछ हैन र ?
३. हस्पिटलमा शल्यक्रीया नगरी बच्चा जन्मिनै सक्दैन भनेको हुर्लुङ पुगेसी बाटैमा जन्मेछ नी ?
४. जिल्ला अस्पतालमा सम्भव नभएको उपचार फेमिली केयर हस्पिटल दिक्तेलमा हुन सक्छ र ?
५. जिल्ला अस्पताल गयो अन्य अस्पताल रेफर गुनासो सुन्ने अधिकारी अस्पताल सञ्चालक समितिका अध्यक्ष ज्यू कता केमा व्यस्त ?
६. जिल्ला अस्पतालका डाक्टरहरुले सही सल्लाह दिँदैन भन्छन् नी ?
७. अस्पताल सञ्चालक समितिमाथि पदमा बसेर अस्पताल बिगारेको, समस्यामाथ समस्याको चाङ हुँदा केही प्रयास नै नगरेको आरोप छ नी ?
८. निःशुल्क पाइने ९८ प्रकारको औषधि पनि बाहिर किन्नुपर्ने बाध्यता छ रे नी ?
९. स्वास्थ्य बीमा अन्तरगत पर्ने औषधिहरु पनि अस्पताल बाहिर बिरामीले नै किन्नुर्पे बाध्यता छ भन्छन् नी ?
नागरिक सम्वाद कार्यक्रममा उठाइएका सवालका बारेमा जिल्ला समन्वय समितिका प्रमुख एबं अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष सनबहादुर राईले जवाफ दिएका थिए ।
कार्यक्रमले जिल्ला अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन १३ बुँदे साझा समझदारी/निष्कर्ष निकालेको छ । जिल्ला अस्पतालमा एक महिनाभित्र स्थायी रुपमा एमबिबिएस डाक्टर व्यवस्थापन गर्न राजनीतिक दल, जिल्ला प्रसाशन, नगरपालिका तथा अस्पताल व्यवस्थापन समितिले नेतृत्वदायि र उपलब्धीमूलक भूमिका निर्वाह गर्ने, अस्पताल परिसर तथा इमर्जेन्सी आसपासमा आपतकालिन सौचालय निर्माण गर्ने र हालका सौचालय, भवनहरु सरसफाई गर्ने/गराउने, विरामी काउन्सेलिङकालागि काउन्सिलरको व्यवस्था गर्ने समझदारी कायम गरिएको छ ।

यस्तै, अस्पताल व्यवस्थापन समितिको बैठक बसी आवश्यकीय मेसिन औजार उपकरणको सूची तयार गरी सामान्य उपचारका लागि पनि अभाव भएका त्यस्ता औजार उपकारणको मर्मत, व्यवस्थापन तथा प्रबन्ध गर्ने, जेष्ठ नागरिक तथा अपांग भएका व्यक्ति असक्त महिला र असहायहरुलाई उपचारमा प्राथमिकता दिने तथा बस्ने स्थानको उचित प्रबन्ध गर्ने, निःशूल्क तथा बीमा बमोजिमको औषधीको प्रबन्ध गर्न व्यवस्थापन समिति तथा सरोकारवालाहरुले सशक्त भुमिका खेल्ने, नागरिक बडापत्र र निःशूल्क औषधीको सूची टिकेट काउन्टर नजिक बुझिने भाषामा देखिने गरी राख्ने निर्णय गरिएको छ ।
यस्तै, विगतमा अस्पतालमा भएको भ्रष्टाचार सम्बन्धी सवालहरुलाई निष्कर्षमा पुर्याउने, वीमाको प्रभावकारी कार्यान्वयनकालागि अस्पताल प्रशासन र अस्पताल विकास समितिले विशेष ध्यान दिने, राष्ट्रिय मानव अधिकार आयोगले अनुगमनको क्रममा औंलाएका सुझावहरुलाई कार्यान्वयन गर्ने, स्तनपान तथा सहायताकक्षको प्रबन्ध गर्ने, दिर्घकालिन रुपमा सम्बोधन गर्नु पर्ने अन्य विषयमा पुनः सरोकारवालाहरुबीचमा बसेर योजना निर्माण गरी कार्यान्वयनमा जाने, निर्माणाधिन पूर्बधार संरचना अझ बढी अपांग र सेवाग्राहीमैत्री बनाउने र निर्माण कार्य चाडो सम्पन्न गर्न तागेता गर्ने समझदारी कायम गरिएको छ ।