Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    नियात्रा

    आँखामा झलझली–सेक्सपियर

    आँखामा झलझली–सेक्सपियर


    • बुधवार, भाद्र २० २०८०

    • भीम राई


    आँखामा झलझली–सेक्सपियर
    भिम राई

    खोटाङ, २० भदौं । यतिबेला तारा र म यात्रामा छौं । मध्यान्हको टण्टलापुर घाम छ । बेलायतमा पनि यस्तो चर्को घाम लाग्छ भनेर कसैले सोच्दै सोचेको हुदैनन् । हामी केहि समय अगाडि सेक्सपियरको जन्मथलो ‘स्ट्रार्टफोर्ड अपन एभन’ आइ पुगेर धुइँधुइँ उनको जन्मघर खोजिरहेका छौं । तर घरको मेसो कहिँ फेला पार्न नसकेपछि,-

    “हामीले घर त पत्ता लगाउँन सकेनौं, सकेनौं । होइनँ ! तिमीले कतै कारपार्कको साइनपनि देख्यौं कि ?” तारालाई सुस्तरी प्रश्न सोध्छु ।

    घर छाडेदेखि यात्रामा पटक पटक निदाउँदै ब्युँझदै गरिरहेकी उनले,-

    “अह ! म झन कहाँ देख्छु र ? बल्ल बल्ल त आँखा खोल्दैछु । त्यसैले के देख्थे र ? अझै यसरि आँखा खोल्ने बितिक्कै सूर्यको प्रकाश मेरो आँखामा पर्यो । टलक्कै टल्केको त्यो प्रकाशले झन म त तिरिमिरी झ्याइँ पो देखे,” हतार हतार त्यसरी जबाफ फर्काउँछिन ।

    मेरी श्रीमती पनि अचम्मकी मान्छे छिन् । अझ यसो भनौं -अति नै सोझीर इमान्दार छिन् ।हुनत मलाई उनकी आनिबानी राम्रैसँग थाहा छ । थाहा पनि किन नहोस् र ? बिगत ३५ बर्ष देखि यता हामी फलामे साङ्लीझैं एकअर्कामा मज्जाले बाँधिएर बाँचिरहेका छौं । त्यसैले हामी एक अर्कालाई राम्ररी बुझ्छौं ।

    तर सबैकुरो थाहा हुँदा हुँदै पनि मलाई यदाकदा यस्तो लाग्छ । म कुनै कुनैबेला सायद एककाँधे लगाएको गोरूझैं भएर जिन्दगी जिइरहेको छु कि ? मैले किन त्यसो भनेको हुँभने बिहान बेलुकी खाना पकाउने र घर सफा गर्ने कामहरु बाहेक जीवनको सबै बोझ मैले नै बोक्नु पर्छ । र, हरेक कुरोमा मार्गदर्शकको भूमिका मैले नै निर्वाह गर्नुपर्छ ।

    ल अरु बिगत त बिगत भैहाल्यो । अनि सबै बिगतका कुरोहरुलाई छाडेर अहिलेको अवस्थालाई मध्यनजर गर्ने हो भनेपनि म कार हाक्न व्यस्त भइरहेको बेला अलिकति सडकमा भएका नक्साहरु पढिदिए कति धन्य हुन्थ्यो होला, मनमनै त्यसो भन्छु ।

    तैपनि उनको कुरो सुनेर, “ल ठीक्कै छ,” भनेर चित्त बुझाउँछु ।

    सप्ताहन्तको समयले होला ? स्ट्रार्टफोर्ड अपन एभनका सडकहरु स-साना छन् तैपनिअलिक व्यस्त देखिन्छन् । मानिसहरुका भिडभाँड निक्कै बाक्लै छन् । म अरुकुरो केहि नसोचेर सडकको माग बमोजिम कारको स्टेरिङ दायाँबायाँ बटार्छु । र,आफैकारपार्कको खोजि गर्न थाल्छु । नभन्दै एकछिनपछि बेलायतभरी छयासछ्यास्ति पाइने राष्ट्रिय कार पार्क (एनसिपी) को सूचनापाटी मेरो सामुन्ने देखापर्छ । त्यसपछि म ढुक्क हुन्छु ।अब सूचनापाटीलाई पछ्याउदै पछ्याउँदै त्यता हुइकिन थाल्छु ।

    सूचनापाटीलाई पछ्याउँदै जाँदात्यसले मलाई कारपार्क गर्न मिल्ने एउटा थोत्रो घरमा पुर्याउँदछ । अनि त्यहाँ पुगेपछि कारपार्क गर्ने उपयुक्त्त स्थानको खोजि गर्छु । त्यसरी खालिठाउँ खोज्दैखोज्दै जाँदा चौथो तलामा पुग्छु । त्यहाँ पुगेपछि एउटा खाली ठाउँ देखापर्छ । त्यसपछि खुसि मुद्रामाम त्यहिँ कारपार्क गर्छु ।

    कारपार्क गरिसकेपछि,-

    “अ...साँच्चि ! कति घण्टाको लागि कारपार्क गरौ हँ ?”तारालाई सल्लाह माग्छु ।

    “अब यहाँ पहिले कहिलै आइएको छैन् । ठाउँ के कस्तो छ ? निश्चय नै अलिकति समय लाग्छहोला ? मेरो विचारमा तीनचार घण्टा जति त त्यसै लाग्छ होला नि ?” उनले मधुरो स्वरमा जबाफ दिन्छिन् ।

    उनको कुरो सुनेपछि, “ल ! हुन्छ - हुन्छ,” भन्छु ।

    कारदेखि निस्केर सीधै अगाडि पर्खालको नजिकै पुग्छु । किनभने त्यहाँ कारपार्क गर्नको लागि टिकट खरिद गर्न मिल्ने एउटा स्वचालित यन्त्र (भेन्डिङ मेसिन)देखापर्छ । क्रेडिट कार्डको सहयोगले तिनै यन्त्रदेखि चार घण्टासम्म कारपार्क गर्ने एउटा टिकट खरिद गर्छु । र, त्यसलाई कारको डेस्कबोर्डमा राखिदिन्छु ।

    “खै ! अब कहाँदेखि मुनि झर्ने होला ?” कारदेखि बाहिर निस्कदै गर्दा ताराको मुख खोलि हालिन्छ ।

    “म पनि तिमी जस्तै त हो नि, के नै पो भन्न सक्छु र ?” उनको कुरो सुनेर प्रति प्रश्न गर्छु ।

    मध्यान्हको समयछ । त्यसैले कारपार्क एकदम सुनसान छ । तैपनि हामी दुईजनाले घरिघरि गरेको बार्तालापले कारपार्कको शून्यतालाई भङ्ग गर्छ । यहाँ बजारमा हटिया भर्नको लागि वा यस टाउनमा काम गर्नको लागि आउने मान्छेहरुले बिहानै कार पार्क गरेर छाडिराखेका छन् । त्यति सुनसान ठाउँमा कारबाट बाहिर निस्कन्छु र पहिले यसो दायाँबायाँ हेर्छु । त्यसपछि अब कहाँदेखि मुनि झर्ने होला भनेर एकछिन सोच्न थाल्छु । तर म उभिएको ठाउँभन्दा अलिक परतिर पर्खालको छेउँमा एउटा लिफ्टको साइन देखापर्छ ।

    त्यसलाई देख्ने बितिक्कै, “खै कहाँ छौं ? लु मलाई पछ्याउँ है,” भन्छु र म बिस्तारै अगाडि बढ्न थाल्छु ।

    मेरो कुरो सुनेर उनी पछिपछि आउन थाल्छिन् । त्यसपछि हामी दुवैजना सुस्तरी हिडेर लिफ्टको नजिकै पुग्छौं ।तर त्यहाँ पुग्दा अचानक भित्तामा,-

    “यो लिफ्टले काम गर्दैन है,” भनेको सूचना देखापर्छ ।

    त्यस्तोसूचना देख्ने बितिक्कै, “छ्या ! कस्तो हौं । यो लिफ्टले पनि काम गर्दैन रे ?” अनायसै ताराको मुख खोलिन्छ ।

    उनको कुरो सुनेर, “ठीक्कै छ नि, यी हिडेर झर्ने भर्याङपनि यहिँ रहेछ । आखिर हिड्दाखेरि व्यायम पनि हुन्छ भनेर सबैले भन्छन् । लु आउँ है, म त हिडें,” भन्छु ।

    त्यति भनि सकेर म टकटक जुत्ता पड्काउँदै ओरालो लाग्छु । अब उनको पनि केहि अन्यउपायहुँदैन । त्यसैले खुरुखुरु मलाई पछ्याउँन थाल्छिन् । तर मुनिकोतलामा झर्ने बितिक्कै ह्वास्सै पिसावको गन्ध आएर हामी दुवै जनाको नाखमा ठोकिहाल्छ । हरेक दिन तरकारीको वासना सुँघ्ने बानी परेकी ताराको नाख स्वभावैले मेरोभन्दा अलिक बढि नै चलाख छ त्यसैले,-

    “होइनँ ! मान्छेहरुले त यहिँ भर्याङमा पिसाव फेर्छ कि के हो ? थाहा पाउनु भो ?” सर्मिन्दा भाषामा मलाई सोध्छिन् ।

    “थाहा पाएँ हौं । थाहा पाएँ । भट्टिपशलमा टन्न बियर पिएर मातेको कुइरेलाई जाबो पिसाव फेर्न के को आइतबार कुर्नु पर्छ र ?” तुरुन्तै जबाफ फर्काइ हाल्छु ।

    मेरो त्यति जबाफले उनको मुख बन्द हुन्छ । त्यसपछि हामी दुवैजना एकछिन चुपचाप बस्छौं । तर कोलाहलमय त्यस वातावरणमा हामी दुवैजनाले भर्याङमा टेक्दा निस्केको जुत्ताको टकटक आवाज निक्कै टाढासम्म सुन्न सकिन्छ । एकछिनपछि हामी सबैभन्दा मुनिको तलामाझर्छौं । तर त्यहाँ झर्ने बितिक्कै तिनै कार पार्कमा मैला टिपिहिड्नेएकजना सफाइकर्मी (क्लिनर) सँग हाम्रो अचानक भेट हुन्छ । उनी त्यसबेला दुवै खुट्टा बङलङ्गै दायाँबायाँ फालेर भुइँमा बसिरहेको हुन्छ ।

    उनलाई देख्ने बितिक्कै म एकपटक राम्ररीहेर्छु । उनले शरिरको माथिलो भागमा निक्कै टाढाबाट देख्न सकियोस भनेर पहेलो चमकदार फ्लोरोसेन्टको ज्याकेट पहिरण गरिरहेको छ । मुनि चाहिँ निख्खुर कालो पतलुङ र खुट्टामा छालाको एकजोर बुट लगाएको छ । उनको सिधै अगाडि एउटा मैला राख्ने साधन ट्रली छ र बायाँ हातले भूइँको कसिङ्गर बढार्ने झाडु समाति रहेको छ । जस्ले ऊँ एकजना बढारकुँढार गर्ने सफाइकर्मी हो है भन्ने राम्रो परिचय दिन्छ । तर दायाँ हातले भने गालालाई आराम गराइ रहेको दृश्य देख्दा ऊँ थाकेर लखतरण भएको छ है भन्ने कुरो स्पष्ट जान्न सकिन्छ ।

    मलाई लाग्छ - उनी म भन्दा निक्कै पाको मानिस हुनुपर्छ । किनभने उनको पुरै चाउरि परेको अनुहारले त्यहिँ बताउँछ । अझै उनले निक्कै लामो समयसम्म केस पनि काटेका छैनन् । त्यति लामोलामो केसरासि र दार्ही जुङ्गा पाकेका त्यस्तो बृध्द मानिसको दृश्य देख्दा मलाई भिन्सेन्ट भ्यानगगको याद आउछ । किनभने भ्यानगगले कुनैपनि दुखान्त दृश्य देख्ने बितिक्कै एउटा नयाँ कलाको सिर्जना गरिहाल्थे । दुर्भाग्यबस ! म भ्यानगग त परिनँ तैपनि उनको नजिकै गएर, “मध्यान्हको नमस्कार,” भनेर उनलाई सम्बोधन गरिहाल्छु ।

    अचानक मेरो कुरो सुनेर ऊँ पहिले झसङ्गै झस्किन्छ । तैपनि सरकारी काम कहिले जाला घाम भनेर बसिरहेको ती बुढोमान्छे मलाई देखेर प्रसन्न मुद्रामा,-

    “नमस्कार ! अनि आराम हुनुहुन्छ ?” भनेर उल्टै प्रश्न सोध्छ ।

    “बेसै छ, धन्यबाद ! तर सेक्सपियरको जन्मघर चाहिँ कता हो नि, जिउ ?” भनेर म फेरि उनलाई सोध्छु ।

    उनको बायाँ हातमा झाडुको डण्डी छ । त्यसैले फुर्तिको साथ दाहिने हातले मलाई देखाउँदै,-

    “उ त्यो पार्क गरिरहेको कोचलाई एकपटक नजर मार्नोस त अनि त्यहाँसम्म सिधै हिडेर जानुहोस् । त्यसपछि देब्रे घुम्नोस् अनि ५० मिटर जति हिडेर दाहिने घुमि हाल्नोस् । त्यहाँदेखि दुई तीन मिनेट हिड्नोस्, तपाइँ ठेक्कै उनको घरकोकरेसोमा नै पुग्नु हुन्छ, ढाँटेको भने मरि जाउँ, मित्र” त्यति भन्छ र एकपटक लामो सास तान्छ ।

    अब त्यति राम्ररी बेलिबिस्तार लगाएपछि फेरि म उनलाई अन्तिम चोटी, “धन्यबाद,” भन्छु । र, हामी उनीसँग बिदा हुन्छौं ।मध्यान्हको सूर्यको प्रकाशले सारा धर्ति नै उज्यालो बनाइ रहेको बेला हामी स्टार्टफोर्ड अपन एभनमा पुगेका हुन्छौं । नत्रभने बेलायती मौसमको के विश्वास गरिहाल्न सकिन्थ्यो र ? मौसम क्षणक्षणमा गडबडि भइरहने गर्दछ । तैपनि आज भाग्यले साथ दिएको छ र त्यति राम्रो मौसम छ ।

    हाते घडिमा दिउसोको समय ठीक २ बजेको हुन्छ । अनि आज अङ्ग्रेजी सम्वत २०२३ को अगस्ट महिनाको तेश्रो सप्ताहन्तको दिन पर्न गएको छ ।

    उनले भने बमोजिम हामी त्यहाँदेखि निस्केर हिडेको एकछिनमा हेन्ली सडकमा पुग्छौं । यो सडक मानचित्रमा कहाँ पर्छ भनेर मैले बेलिबिस्तार लगाउने हो भने बेलायतको राजधानी लण्डनदेखि ठेक्कै ९१ माइल्स उत्तर पश्चिम र दोश्रो ठूलो सहर बर्मिङघामदेखि २२ माइल्स दक्षिण पूर्वमा अवस्थित रहेको छ ।

    अथवा यहाँहरुलाई सजिलो होस भनेर यसो भनौं – यो वारविकसेयर काउन्टीमा पर्दछ । तर तपाइँ वारविकसेयर आइपुग्न कोसौ अगाडिदेखि,“तपाइँहरुलाई सेक्सपियरको जन्मभूमी वारविकसेयरमा न्यानो स्वागत छ,” भनेर बेलायती महासडक (एम ४०) को सूचनापाटीमा पटक पटक लेखेको मज्जाले देख्न सकिन्छ ।

    हेन्ली सडक,स्टार्टफोर्ड अपन एभनबेलायतको इतिहासमा ज्यादै प्रख्यात सडक हो । किनभने आजभन्दा लगभग ५ सय बर्ष पहिले यहाँ विश्व विख्यात साहित्यकार सेक्सपियरको जन्म भएको थियो । त्यसैले बिश्वका हरेक शाहित्यिक पारखिहरुले यसलाई पवित्र भूमी भनेर यहाँ पाइला टेक्ने गरेका छन् । वास्तवमा एउटा जीवन मात्र त जिउनु पर्छ । यस ब्रम्हाण्डमा स्थायि भन्ने चिज केहि हुँदै हँदैन । आखिर सूर्यको त आयु हुन्छ । त्यसैले यो जाबो जीवन ढल्न अगावै यहाँ एकचोटी आइहालौं भन्ने मेरो निक्कै पुरानो धोको थियो । त्यसैले म त्यो धोको पुरा गर्न यता लागेको हुँ ।

    हो, हामी अहिले तिनै सडकमा हाम्रो पाइतालाहरुगनिरहेका छौं । र, सेक्सपियरको बारेमा बिभिन्न कुरोहरु सोचिरहेका छौं । तर यहाँ आइपुग्ने बितिक्कै बाटोको दाहिने कुनामा बसेर गित गाइरहेकी सुमधुर स्वरकी धनि एकजना गायीकाको स्वर सुनेर हामी एकछिनमन्त्रमुग्ध हुन्छौं । त्यसैले तारासँग बाटोको बिचमा ठिङ्गै उभिएर एकछिन गीत सुन्न थाल्छौं । अनि उनले यसबेला बहुचर्चित गायक जोन डेनभरको गीत गाइरहेकी छिन् ।

    “यो स्वर्ग हो, पश्चिम भर्जिनिय हो । निला डाँडाकाँडा छन्, सेनाडो नदी छ । जिन्दगी बुढो छ, रुखहरु भन्दा बुढो । मलाई घर लैजाउ, गाउँको बाटो भएर - पश्चिम भर्जिनिय । पश्चिम भर्जिनिय ।”

    उनकी गीत सुनेर मलाई एक्कासि पश्चिम भर्जिनिय पुगेको झझल्कोले छुन्छ । तैपनि हामी सुस्तरी अगाडि बढ्छौं तर यो पापी मनले मान्दै मान्दैन । त्यसैले एकछिन हिडेपछि फेरि अघिझैंठिङ्गै उभिएरगित सुन्न थाल्छौं । त्यहिँबेला मेरो नजिकै उभिएका तर निषध्यान दिएर गीत सुन्दै गरेको एकजनापुड्के मान्छेलाई,-

    “गीत ज्यादै मिठो छ - हगि,” भन्छु ।

    उनले प्रति उत्तरमा, “हो हो, पश्चिम भर्जिनिय मेरो गाउँ हो । अब यति टाढा परदेशमा छु । तैपनि आफ्नो गाउँघरको गित सुन्दा त्यसै मिठो र आनन्द भैहाल्छ नि,” गर्विलो मुद्रामा उ बोल्छ ।

    उनको कुरो सुनेर, “आम्मै ! हो र ? उसो भए भरपुर मनोरन्जन गर्नु होला है,” भन्छु ।

    हामी उँसँग बिदा हुन्छौं । त्यसपछि खुरुखुरु अगाडि बढ्छौं । खै के भएर हो कुन्नि ? आज हामीले स्ट्राटफोर्ड अपन एभनमा पहिलो मान्छे भेटने बितिक्कै अङ्ग्रेज नभएर अमेरिकादेखि आएकोसँग भेट्न पुगेछु जस्तो लाग्छ ।

    खयर जे सुकै होस् । हामी आफ्नो गति बढाउन थाल्छौं । शाहित्यप्रति अगाध रुचि राख्ने हरेक मानिसहरुको लागि “पवित्र स्थल” मानिनेहेन्ली सडकमा कोही गित गाइरहेका छन् । कोहि नजिकै रहेको क्याफेमा चिया र कफि पिइरहेका छन् । कसैकसैले दिउँसोको पारिलो घामसँगसँगै हाँसिखुसि बियर र वाइनका चुस्कि लिइरहेको दृश्यवलोकन पनि गर्न मिल्छ । झन ठूल्ठूला मुख हुनेहरुले दिउँसोको लन्च सान्डविच र बर्गरलाई च्यापु हल्लाइ हल्लाइ चपाइँ रहेकोरमाइलो दृश्य पनि यहाँ नजर गर्न मिल्छ ।

    साँच्चै साँच्चै भन्नुपर्दा यो सडकको दृश्य एकदम जिवित छ र हामीलाई पर्यटकहरुको तीखेलहरु हेर्न ज्यादै रमाइलो लागिरहेको छ ।

    “होइनँ ! यतिका धेरै मान्छेहरु छन् । यहाँ मान्छेहरु त आश्चर्य लाग्ने गरि आउने रहेछ । म त तीनछक परे,” मलाई पछाडिदेखि कोट्याउँदै ताराले त्यति भन्छिन् ।

    यहाँ मानिसहरु मात्र हिड्न मिल्ने सडक छ । सडक निक्कै फराकिलो र अति व्यस्त छ । अझै सडकको दायाँवायाँ किनारमा अवस्थित दोकानहरु झन व्यस्त देखिन्छन् । हरेक दोकानहरु बाहिर लहरै झुन्डाइएका गमलाहरुमा कति मज्जाले फूलहरु फूलिरहेका देखिन्छन् । लाग्छ – यहाँ मान्छेले त भन्नै परेन । ती फूलहरुले पनि पर्यटकहरुलाई आकर्षण गरिरहेका देख्न सकिन्छ ।

    तपाइँ हेर्दै जानुहुन्छ भने मानिसको हुल झनझन बढिरहेको देख्न सकिन्छ । तर त्यतिका धेरै मानिसहरुको घुइँचो देखिएतापनि अधिकांश मानिसअङ्ग्रेजहरु होइनन् भन्ने कुरो उनीहरु एक अर्कामा बोलिरहेको भाषा र लगाइरहेको पहिरणले प्रष्ट छुट्याउन सकिन्छ । मलाई लाग्छ – धेरैजसो पर्यटकहरु अमेरिकन, फ्रेन्च, स्पेनिस, अरब, जापानिज र चाइनिजहरु हुनुपर्छ ।

    वास्तवमा कुरो यस्तो छ । हामी संसारको परिक्रमा गर्ने क्रममा कहाँ पुग्यौं वा कहाँ पुगेनौं । त्यसको एउटा छुट्टै पाटो हुनसक्छ । तर जहाँजहाँ पुगेका छौं । प्रायः यी माथि उल्लेख गरिएका मानिसहरु नै भेटने वा देख्ने गरेका छौं । किनभने जुन देशको आर्थिक हैसियत अलिक जल्दोबल्दो हुन्छ । ती देशका मानिसहरु नै विश्व भ्रमण गर्न निस्कने गरेका हुन्छन् । सम्भवतःयो प्राकृतिक नियम यहाँ स्ट्राटर्फोड अपन एभनमा पनि ठेक्कै लागु भएको मलाई यसबेला महसुस हुन्छ ।

    यहाँ देखिएका पर्यटकहरुको खेल हेरेर हामी मन्त्रमुग्ध भएका छौं । तर हामी एकधुनमात्यसरी बाटोमा हिड्दै गर्दा अचानक एकजना मान्छेले उनकी प्यारीलाई, “डार्लिङ ! य कहाँ आगए हम,” भनेरहिन्दी भाषा बोलेको सुन्दा मलाई नयाँ दिल्ली पुगेको तिता मिठा स्मरण होइनउता बुईपा, खोटाङ्को पन्चरबाटो हटिया भर्नजाँदा सिलाबरे भाडाकुँडा बेचिहिड्ने एकजोडि भारतिय र उनको श्रीमतीको सम्झना आउँछ ।

    तिनै भारतिय भैयाको सम्झना गर्दैगर्दै हाम्रो यात्रा क्रमशः अगाडि बढिरहेको हुन्छ । तर अचानक, -

    “होइनँ ! यो अगाडिको क्याफेमा सौचालयको प्रयोग गर्न मिल्छ कि मिल्दैन होला ? म त मरिहाले नि,” सानो स्वरमा ताराको मुख खोलिन्छ । उनको कुरो सुन्ने बितिक्कै म सरासर हिड्दै क्याफेभित्र छिरिहाल्छु । भित्र पसेपछि बारमा देखिएको एकजना बेयरालाई, -

    “हजुर ! तपाइँहरुको सौचालय प्रयोग गर्न पाइँन्छ कि पाइँन्दैन होला ?” थोरै सुर्ता सहित सोध्छु ।

    नत्रभने धेरै ठाउँहरुमा मलाई माफ गर्नोस । हाम्रो यो सौचालय त केवल ग्राहकहरुको लागि मात्र हो भन्ने सजिलो जबाफ पाइ हालिन्थ्यो । तर खै यहाँका मानिसहरु थोमस हब्सले सोचेको जस्तै त्यति क्रुर र निर्दयी छैन रहेछन् । बरु हामी नेपालीहरु जस्तै निक्कै दयालु रहेछन् । त्यसैले, -

    “कृपया ! चलाउनु भए हुन्छ ।” उनले हास्दै हास्दै प्रति उत्तर फर्काउँछ । त्यसपछि हामीउनलाई आभार प्रकट गर्दै सौचालयको प्रयोग गर्छौं ।

    सौचालयदेखि निस्कन्छौं र पुनःसडकमा हिड्न थाल्छौं । तर दुईचार मिनेट हिड्ने बितिक्कै सेक्सपियरको जन्मघर अगाडि पुगिहाल्छौं । अब त्यहाँपुग्ने बितिक्कै तारा प्रशन्न मुद्रामा हुन्छिन् । अनि मोबाइल निकालेर तस्विर लिन सुरु गरिहाल्छिन् । म चाहिँ तिनै घरको सामुन्ने सिमानामा रहेको दशगजा खम्वाझै हलचल नगरि एकछिन ठिङ्गै उभिरहन्छु । र, सोर्हौं शताब्दीमा निर्माण भएको उक्त घरलाई मज्जाले नियाल्न थाल्छु ।

    त्यति अगाडि बनेका त्यस घर स्वभावैले पुरानो त यस्सै देखिन्छ । अझै ढुङ्गा र माटोले निर्माण गरिएको त्योघर निक्कै विशाल देखिन्छ । अझै त्यो घरको निर्माण हुँदा कति धेरै काठको प्रयोग गरिएकोरहेछ भन्ने कुरो पनिदेखिन्छ । हरेक दिन म जस्तै दशौं हजार पर्यटकहरुले हेर्ने त्यसघरमा निक्कै धेरै झ्यालहरुरहेका छन् र सबै झ्यालहरुमा फलामे तारका जाली हालेर सुरक्षित बनाइएका छन् । जिन्दगीमा पटक पटक घरहरु किन्दै बेच्दै गरेको मसँग अनुभव भएको हुनाले म त्यस घरको छानोदेखि जमिनको सतहसम्म राम्ररीहेर्छु ।

    निक्कै लामो समयसम्म घरको दृश्यावलोकन गरिसकेपछि अङ्ग्रेजी पुनर्जागरणका मूख्य कवि सेक्सपियरको बाबु जोन सेक्सपियर र आमा म्यारी सेक्सपियरलाई सम्झन पुग्छु । उनका बाबु जोन भेडाको उनी बाट बन्ने पन्जा व्यापारी थिए । जाडोको समयमा अत्याधिक पन्जा बिक्रि गर्ने उनको माथिलो तलामा वास वस्ने कोठा र मुनिको तलामा दोकान थियो ।

    यिनै घरमा जोन र म्यारी सेक्सपियरका ७ जना सन्तानहरु जन्मेका थिए । सेक्सपियर जन्मनुभन्दा अगाडि जन्मेका दुईजना दिदीहरुमध्ये सबैभन्दा ठूली दिदी जोयन जन्मेर दुई महिनामात्र बाँचेकीथिइन । तर माइली दिदी मार्गरेटकोभने जन्मने बितिक्कै मृत्यु भएको थियो । उनीहरु पछि तेश्रो सन्तानको रुपमा सेक्सपियरको जन्म यिनै घरमा सन् १५६४ भएको थियो ।

    सेक्सपियरको जन्म भएपछि उनलाई यहिँ नजिकै रहेको पवित्र त्रिदेव गिर्जाघर “होली ट्रिनिटी चर्च” स्ट्रार्टफोर्ड अपन एभनमा २६ अप्रिलको दिन न्वरान (बाप्टाइज्ड) गरिएको थियो । त्यसदिन उनको न्वरानमा को को उपस्थित थिए भन्ने प्रमाण त्यस गिर्जाघरमा अहिलेसम्म पनि मज्जाले पढन सकिन्छ तर त्यो ल्याटिन भाषामा लेखिएको छ ।

    २६ अप्रिल १५६४ मा न्वरान भएको सेक्सपियरको जन्म कुन दिन भएको हो भनेर कसैले ठेक्कै ठोकुवा गर्न सकेका छैनन् । किनभने त्यसको यथेष्ट प्रमाण अहिलेसम्म कहिँ कतै भेटिदैन् । तर उनको जीवन कहानि लेख्ने बिख्यात विद्वान अध्येता द्वय विलियम ओल्डिज र जर्ज स्टेभेन्सले उनी जन्मेको दिन निश्चित नभएता पनि तत्कालिन समयमा मानिस जन्मेको तीन दिन पिछाडि न्वरान गरिनेपरम्परा थियो । सोहि चलनलाई मध्ये नजर गर्दै उनी २३ अप्रिलमानै जन्मेका हुन है भनेर उनीहरुले भनेका छन् । र, तिनै दिनलाई अहिलेपनि उनको आधिकारिक जन्मदिन हो है भनेर मान्ने गरिन्छ ।

    विश्व बिख्यात साहित्यकार सेक्सपियरको ५२ बर्षमा मृत्यु भएको थियो । तर काकतालि के पर्यो भने उनी जुन दिन जन्मेको भनेर २३ अप्रिललाई मान्ने गरिन्छ । उनको मृत्यु पनि सोहि दिन२३ अप्रिल १६१६ मा भएको थियो । सोमृत्युको प्रमाण चाहिँ उनको समाधिस्थल तिनै गिर्जाघरमा अहिले पनि मज्जाले देख्न सकिन्छ । अझै उक्त्त दिन २३ अप्रिललाई जर्जियन पात्रोमा ‘सेन्ट जर्जेस डे’ पनि भनेर मानिन्छ ।

    हामी सेक्सपियरलाई सम्झदै सम्झदै त्यहाँदेखि सुस्तरी हिडेर थोरै अगाडि बढछौ ।एकछिनपछि बाटोको बिच भागमा रहेको उनको शालिकनेर पुगेर ठिङ्गै उभिन्छौं । जुन शालिकलाई सन् २०२२ मा टोनी बर्ड ओबिइ र बर्ड परिवारले बनाइ दिएका थिए । मैले त्यो शालिकलाई मज्जाले नियालेर हेर्दा उनको नाम विलियम सेक्सपियर भनेर त्यहाँ लेखेको देख्छु ।

    वास्तवमा तपाइँ सेक्सपियरको जीवनीलाई एकदम गहिरिएर अध्यान गर्नु हुन्छ भने उनकोन्वरानको नाम विलियम सेक्सपियर हुँदै होइनँ - ‘गुलिलमस सेक्सपियर’ हो ।

    त्यसबेला अङग्रेजी भाषाको प्रचलन त्यति थिएन । त्यसैले सम्भवतः त्यो नाम ल्याटिन भाषामा राखिएको हुनुपर्छ । हामीले अझै एउटा कुरा के याद गर्नु पर्छ भने उनले यहाँ नजिकै रहेको ग्रामर स्कूलमा ल्याटिन भाषा अध्यान गरेका थिए । उनले नाटक, रुपक र कविताहरु लेख्दा ‘विल’ भनेर समय समयमा लेखिरहने गर्दथे । उनले विल भनेर लेखेपछि उनका साथिहरुले उनलाई विलियम भन्ने गर्थे । कालान्तरमा तिनै नामबाट परिचित भएर उनको नाम विलियम सेक्सपियर रहन गएको हो ।

    अझै सेक्सपियरको पारिवारिक कथा पनि एकप्रकारले अचम्मको नै मान्नु पर्छ । उनले १८ बर्षको उमेर हुँदा २६ बर्षकी आना हाथवेसँग बिबाह गरेका थिए । उनकी माइती घर यहिँ नजिकै पर्छ । अहिले उनी जन्मेकी उक्त्त घरलाई “आना हाथवे कटेज” भन्ने सङ्ग्राहलयमा परिणत गरिएको छ । हामी त्यहाँ पहिले नै पुगिसकेका छौं ।

    उनीहरुको बिहे भएपछि सन् १५८३ मा पहिलो सन्तानको रुपमासुजना सेक्सपियर जन्मेकी थिइन । त्यसपछि सन् १५८५ मा जुम्ल्याहाछोरा र छोरी क्रमशः हेमनेट र जुडिथ सेक्सपियर जन्मेका थिए । तीन जना सन्तानहरुको बाबु सेक्सपियरलाई सम्झेर हामी त्यहाँ एकछिनसम्मखडा भइरहन्छौं । र, शालिकलाई मज्जाले नजर मारिरहेका हुन्छौं ।

    तर ताराले अचानक, -

    “खै ! तपाइँ सेक्सपियरको शालिकसँग तस्विर लिने होइन र ?” त्यति भनेको सुन्ने बितिक्कै म केहि नसोचि सरासर शालिकको नजिकै पुग्छु । त्यसपछि तस्विरलिनको लागि दुवैहात पछाडि राखेर तम्तयार भइहाल्छु । तस्विर खिच्नको लागि तयार भैसकेपछि पनि ताराले तस्विर लिन थोरै समय लिन्छिन् । तर ठीक त्यहिँबेला एकजना बालक एक्कासि मेरो सामु देखापर्छ र, -

    “मलाई माफ गर्नोस्! मलाई तस्विर खिच्ने अवसर दिने होइन र ?” भन्दै प्रश्न गर्छ ।

    उनको बोली सुनेर पहिले मलाई हाँसो उठछ । त्यसपछि म उनलाई क्वारक्वार्ति हेर्न थाल्छु । लगभग ५-६ बर्षको जस्तो देखिने जाबो अङ्ग्रेजी फुच्चाले यस धर्तिमा कम से कम ६ दशक पार गरेको मान्छेसँग एकरति नडराइ त्यसरी बोलेको सुन्दा म एकछिन अचम्मितहुन्छु । अझै म शालिकको नजिकै पुगेर तस्विर लिनको लागि तीस सेकेण्ड समय पनि खर्च नगर्दै मलाई निकाल्न खोज्दा एकपटक त बेस्सरि झोंक चल्छ ।

    तर जति झोंक चले पनि म उसलाई के गर्नु सक्छु र ? बेलायतमा बालबालिकाहरुलाई छुन पनि सकिदैन । त्यसैले आफूलाई आफै चित्त बुझाउँछु । उता मेरो गाउँघरजस्तो भए त के छाड्थे र ? छाड्दै छाड्दिनथे, बेस्सरि हप्काउने थिएँ हुँला ? अब यता प्रजातन्त्रको जननी देश पर्यो । बालबालिकाहरुलाई थाथाथुथु गर्न मिल्दै मिल्दैन भन्छन् । त्यसैले आफूले आफैलाई शान्त्वना दिदै चुपचाप अपमान पनि सहर्ष स्वीकार गर्छु ।

    एकचोटी फेरि सोच्छु । वास्तवमा त्यो बालक निर्दोष पनि थिए होला ? त्यो मानेमा सबैभन्दा दोषी त उनको अभिभावकहरुलाई देख्छु । किनभने बालकलाई जस्तो सिकायो त्यस्तो बन्ने त हो मनमनै भन्छु । अनि त्यो बालकलाई हेर्ने त्यहाँ दुईजना आइमाईहरु पनित्यहाँ देखिन्थे । निश्चय पनि तिनीहरुमध्ये एकजना उनको आमा हुनुपर्छ । किनभने उनीहरु बालकको नजिकै उँभिरहेकाथिए ।

    उनीहरुले आफ्नो बच्चालाई बाबा ! तिमी एकछिन पर्ख ? तिम्रो पालो आउँछ, भन्नको साटो मप्रति लक्षित गरेर हाँसिरहेको देख्दा मेरो छाला हेरेर उनीहरुले त्यस्तो व्यवहार गरेका हुन् कि भन्ने मलाई त्यसबेला आभाष हुन्छ । तैपनि सकरात्मक सोच्ने मानिस भएको हुनाले ती बालकलाई तस्विर खिच्ने स्थान छाडि दिएर म त्यहाँदेखि निस्कन्छु र लुरुलुरु हिड्न थाल्छु ।

    स्ट्राटफोर्ड अपन एभनमा हातको घडि एकरफ्तारले घुमिरहेकै छ । घडिले आफू कहाँ पुग्ने होला भनेर केहि अत्तोपत्तो पाउँदैन । तैपनि घुमिरहन्छ तर हामीलाई दिउँसोको समय ४ बजिसकेको छ है भनेर जानकारि पनि गराउँदछ । त्यसपछि हामी सडकमा सुस्तरीहिड्दै अगाडि बढ्न थाल्छौं । त्यसरी हिड्दै जाँदा ताराले, -

    “तपाइँ नामर्द मान्छे । जाबो एउटा बच्चाले पनि हेप्छ । मान्छे पनि अलिक अजङ्गको भा पो । हेर्दा अलिक ठूलो देखिए त फुच्चेले के आट्थ्यो ?अब के गरौ ? घर फर्केर जाउँ कि के हो ?” अनेक थरि प्रश्न गर्छिन् ।

    “त्यसो नभन न । अब यो सङ्ग्रालयभित्र पसियो भने अर्को एकघण्टा समय त्यतिक्कै नस्ट हुन्छ ।पाँच बजे होली ट्रिनिटी गिर्जाघर बन्द हुन्छ । बरु मलाई सेक्सपियरको समाधिस्थल त्यो गिर्जाघर पुग्न ज्यादै ठूलो रहर छ । त्यसैले अब त्यतै लाग्नु पर्छ होला ?” उनलाई भन्छु ।

    मेरो कुरो सुनेपछि, “लौ ! लौ ! त्यसै गरौ न त,” उनी भन्छिन् ।

    त्यति भनिसकेपछि जिन्दगीमा प्रथमचोटी उनी मेरो अगाडि हिड्न सुरु गर्छिन् । तर अलिकति हिड्ने बितिक्कै उनी टक्क रोकिन्छिन । उनी त्यसरी रोकिनुको कारण एकजना गायिका देखेर हो । उनी रोकिएपछि म हिड्दै उनको नजिक पुग्छु । र, म पनितिनै गायिकालाई निक्कै नजिकदेखि राम्ररी नियाल्न थाल्छु ।

    पहिले उनकी अनुहार हेर्छु। केश हेर्छु, लामो तर सिलिक्कै परेको केश कालो रहेछ ।त्यसपछि अलिक गहिरिएर आँखा, नाक, कान, मुख, पाखुरा र खुट्टाहरु सबै हेर्छु। उनले मुनि जिन्सको पतलुङ लगाएकी छिन् । अन्तमा सानो गन्जिले छोपिरहेको भर्खर भर्खर उँठेको छातीलाई कर्के नजरले अलिकति हेर्छु ।

    वास्तवमा मेरो उमेर साँझको घामझै सर्लक्कै ढल्किसकेको छ । तैपनि उनको शरिरले मलाई यसबेला खुब आकर्षण गरिरहन्छ । श्रीमती साथैमा छ, तर छोरा मान्छेको मन न हो । कुनै कुनै बेला यो मन पनि कति पापी हुन खोज्छ । आखिर जे सुकै होस् । मलाई लाग्छ– उनी चिनियाँ मूलकी हुनुपर्छ । हो हो,फरक पर्दै पर्दैन, मनमनै भन्छु ।

    उनले आफ्नो अगाडि एउटा ठूलो बर्की बिछ्याएकी छिन् ।बर्कीको रङ्ग टाटेपाटे देखिन्छ । त्यो बर्कीको बिच भागमा पैसा माग्नको लागि उनले बजाउँदै गरेकी गितारको खोल थापेकी छिन् । त्यहाँ त्यति धेरै पैसा देखिदैन् । त्यसले के बताउँछ भने उनले त्यहाँ पैसा माग्न थालेकी त्यति धेरै समय भएको छैन् ।

    त्यसपछि म उनको शरिरलाई फेरी एकचोटी दोहर्याएर हेर्छु । यसो हेर्दा मान्छे सानी सानी छिन् । तर एकदम धेरै मेहनतको साथ गीत गाउँदा असिन पसिन भइरहेकी छिन् । अब त्यति बैसालु युवतीको स्वरले भन्दा पनि मलाई उनको अर्धनग्न शरिरले निक्कै आकर्षित गर्न थाल्छ ।

    “खै खै ! एक-दुई पाउण्डको सिक्का छ कि कतै ?” भनेर हतार हतार तारालाई सोधिहाल्छु ।

    “मैले पैसा नबोकेको कति बर्ष भो ? त्यति पनि चाल पाउनु हुन्न र ? यी पैसा निकाल्ने एउटा प्लास्टिकको कार्ड मात्र छ । कि त्यो पनि चल्छ र ?” मेरो कुरो सुनेर उनले कार्ड देखाउँदै साङ्केतिक भाषा प्रयोग गर्दै मलाई थर्काइ हालिन् ।

    म पनि मान्छे लाटो अथवा अति पटमूर्ख नै हुँ । अचानक बाटोमा भेटिएकी राम्री तरुनीलाई पैसा दिनको लागि आफ्नो श्रीमतीसँग पैसा माग्ने । त्यसैले उनी रिसाउनुको कारण मैले पछि बुझ्छु । बल्ल त्यति भनाइ खाएपछि मेरो मुख सुकेर आउँछ । एकछिनमा कलेटी पर्दै बन्द हुन्छ । प्रेमी र प्रेमिकाको बियोगान्त नाटक लेख्ने सेक्सपियरको घर अगाडि श्रीमतीसँग बित्थैमा के झगडा गरिरहने है भनेर म एकछिन बोल्दै नबोलिक्रमशः अगाडि बढ्न थाल्छु । तर छिनछिनमा गीत गाएर पैसा माग्ने गायक र गायिकाहरुलाई भेट्दा हेन्लि सडक– स्ट्राटफोर्ड अपन एभन शाहित्य र सङगितको सङ्गम स्थल नै मान्नु पर्ने रहेछ जस्तो लाग्छ ।

    हामी हिड्दै अगाडि बढेको केहिबेरमा हेन्ली सडकको पुछारमा रहेकोगोलघुम्तिको अगाडि पुग्छौं ।  त्यहाँदेखि सर्लक्कै दाहिनेतिर घुम्छौ । हामी दाहिने घुम्ने बितिक्कै ब्रिज स्ट्रिटको बक्षस्थलमाथि हिड्न सुरु गरिहाल्छौं ।

    तर त्यहाँ हेन्ली सडकमाजस्तो सडकको बिच भागमा हिड्न मिल्ने ठाउँ छैन् । त्यसैले सडककोपेटीपेटी हिड्न थाल्छौं । त्यसरी सडकको पेटीमा हिड्दै गर्दा कैयन राता, हरिया, निला र पहेला मोटर कारहरु आउँछन र जान्छन् । अझै कति पटक त बडेबडेमाका लोरी, बस र कोचले हामीलाई उछिनेर जान्छन् । उता नेपालमा जस्तो टाटाटिटि हर्न बजेको पटक्कै सुन्न सकिदैन् । त्यसैले हामी ती मोटरहरुलाई झिनो वास्ता गर्दैनौं । बरु निस्फिक्रीसँगत्यहाँका घरहरु हेर्दै हेर्दै निरन्तर अगाडी बढिरहेका हुन्छौं ।

    त्यसरी हिड्दै जाँदा आँखा नथाकिन्जेलसम्म घरहरुको दृश्य हेर्नको मूख्य कारण ती घरहरु आजभोली बनिने आधुनिक घरहरु जस्तोनक्कलि हुँदैहोइनन् । यहाँका धेरैजसो घरहरु सोर्हौं र सत्रौं शताव्दीतिर निर्माण भएका हुन् । तिनै घरहरुको रमाइलो दृश्यवलोकन गर्दै जाँदा ताराले, -

    “गाँठे ! यहाँ त बिकास उहिले नै भइसकेको रहेछ । अहिले भएको होइन रहेछ,” भन्छिन् ।

    तर म चाहिँ एकछिन अगाडि उनको भनाइ खाएको हुनाले केहि बोल्दै नबोलि सुइसुइ हिड्छु । तैपनि मेरो मनमनै यस्तो लाग्छ – घर बाहिरको घुमफिरमा सबैभन्दा बढि उनैले मनोरन्जन लिन्छिन् । अनि घर छाड्न नमान्ने पनि उनी नै हुन् । 

    अगस्टको महिना छ । यसबेला बेलायती पाठशालाहरु ग्रिष्मकालिन छुट्टि भएकोले पुरै बन्द भएकाछन् । त्यसैले स-साना बिधार्थीहरु र उनीहरुको अभिभावकहरु दोकानमा समान खरिद गर्नको लागि ग्वारग्वारती सडकको पेटीपेटी हिडिरहेको मज्जाले देख्न सकिन्छ । हुनत यो एउटा गाउँ हो । तर अति विकशित ठाउँ पनि हो । त्यसैले यहाँ कसैले कसैको वास्ता गर्दैनन् । र, नेपालमा जस्तो बिहान उँठेदेखि बेलुकि नसुतिन्जेलसम्म राजनीतिज्ञहरुलाई कसैले गालि गर्दैनन् । त्यो नै विकशित मूलुकको सबैभन्दा राम्रो चलन छ ।

    आजको मौसम हल्कागर्मी छ । गर्मी भएपछि मानिसलाई तिर्खा लाग्न स्वभाविकै हो । त्यसैले यहाँ हुलका हुल मान्छेहरु बियर पिउनको लागि भट्टीपशल छिर्दै गरेका र निस्कँदै गरेका देख्न सकिन्छ । ठीक यहिँबेला हाम्रो अगाडि अगाडी दुईजना मातेको अङ्ग्रेजहरु एकअर्कामा पाल्सी भाषा बोल्दै हिडिरहेको देखिन्छन् । मलाई यसरी खुट्टा बाङ्गो टिङ्गो गर्दै बाटोमा मातेको मान्छे हिड्दै गरेको हेर्न एकदम आनन्द आउँछ । त्यसैले हामी केहिबेर उनीहरुको पछिपछि हिड्छौं । तर एकछिनपछि उनीहरु बाटो काटेर पारी जान्छन् । त्यसपछि हाम्रो नजरदेखि उनीहरु बिलय हुन्छन् ।

    यसरीसडकको पेटीबाट हिड्दै जादाँ धेरैजसो खुद्रा सरसमान बेच्ने दोकान, चिया पशल, क्याफे, रेष्टुराँ र भट्टिपशलहरुको नाम सेक्सपियर वा उनको कृतिसँग जोडिएका हामी देख्न सक्छौं । तर एकछिनपछि सडकको दायाँ किनारमा लहरै अङ्ग्रेजी, इटालियन, चिनियाँ र भारतिय रेष्टुराँहरु देखा पर्छन् । हामी ती सबै रेष्टुराँहरुलाई लाई छिचोलेर क्रमशः अगाडि बढिरहेका हुन्छौं ।

    ब्रिज स्ट्रिटलाई हाम्रा पाइलाहरुले छिचोलेपछि सिधै अगाडि रहेको हरित पार्कमा पुग्छौं । अगस्टमहिनाको सूर्यको किरणहरु तिनै चउरमा भएको हरियो दुबोहरुमाथि पर्दा चउरको शोभाकति धेरै बढेको त्यसबेला मलाई आभाष हुन्छ । अझै यहाँदेखि ढुङ्गा फाल्दा पुग्ने दुरिमा अविरल बहिरहनेएभन नदीलाई दृश्यवलोकन गर्दा मलाई स्वर्गिय आनन्द मिल्छ ।

    अब यति राम्रो प्रकृतीको बर्णन मैले यहाँ शब्दमा कसरि गर्न सक्छु र ? हुनत उता काठमाण्डौ सहरको तीनकुनेमा पनि नेपालीहरुले प्रकृतीप्रति स्नेह गरेर यसरि नै दुबो रोपेका थिए भन्ने सुनेको थिएँ। तर दुबो रोपेको अर्को दिनचोरि भैहाल्यो भन्ने झन ठूलो समाचार आएको थियो । नत्रभने सायद काठमाण्डौ पनि यस्तै रमाइलो देखिन्थ्यो होला ?

    केहिबेरपछि हामी दुईजना सुस्तरी हिडेर तिनै पार्कको पश्चिमी कुनामा पुग्छौ । तर त्यहाँ पुग्ने बितिक्कै अर्को एकजना अधबैसे अङ्ग्रेजी आइमाईले गीत गाइरहेकी रमाइलो दृश्य देखिन्छ । अ.... उनको ठीक अगाडि पनि अघि चिनियाँ युवतीले झैं गितारको खोललाई बङलङ्गै खोलेर उतानो पारिरहेको देख्न सकिन्छ ।

    यदि उतानो परेको गितारको खोललाई राम्ररी नजर लगाउने हो भने त्योखोलभित्र अलिअलि बेलायती चानचुनेसिलिङहरुकैद भएर बसेको नजर लगाउन मिल्छ । तर दुर्भाग्यबस हामीसँगगोजिमाफुटेको कौडीछैनन् । केवल प्लाष्टिकको पैसा मात्र छ र त्यसको प्रयोग गर्न मेसिनको जरुरत पर्छ । स्वभावैले पैसा माग्ने मान्छेहरुसँग आधुनिक मेसिन त हुँदै हुदैनन् । त्यसैले उनको सार्है नजिक नगइ हालौ कि भन्ने लाग्छ । नत्रभने उनले पैसा दिन्छ भनेर आश गर्छ होला भन्ने बिचार आउँछ ।

    उनको नजिक नगए पनि गीत ज्यादै मिठो गाएकी हुनाले अलिकटाढादेखिनै उँभिएर उनको गित सुन्छौं । अझै उनको स्वर पुरै हरित पार्क नै थर्किरहेको मलाई त्यसबेला आभाष हुन्छ ।झन उनले यतिखेर साङ्गितिक समुह आब्बाको गाइरहेकी छन् ।सत्तरी र असीको दशकमा आब्बा ज्यादै प्रख्यातसाङ्गितिक समुह भएको थियो । अहिले पनि संसारभरि उनीहरुका करोडौ फ्यानहरु रहेका छन् । जसमध्ये म पनि एक हुँ । उनले यतिबेला तिनैविश्व विख्यात साङ्गितिक समुह आब्बाले गाएको ज्यादै चर्चित गीत “डान्सिङ क्वीन” गाइरहेकी छिन् ।

    जुन गीतमा ‘योङ्ग एण्ड स्वीट – ओन्ली सेभेन्टिन’ भनेको वाक्यशं मलाई असाध्यै मन पर्छ । हुनत यथार्थमा म सिक्स्टी पुगिसकेको मान्छे हुँ । अब उनको गित सुनेर सिक्स्टीबाट सेभेन्टिनमा झर्नको लागि कति अङ्क घटाउनु पर्ने होला भनेर यसो एकछिन औला भाँचिहेर्छु र आफै थकित हुन्छु । यस्सै त म डरपोक मान्छे । अब गइसकेको जीवन फर्किन्दैन होला, के फर्किन्थ्यो भनेर एकछिन पिर पर्छु । तर जस्ले जे सुकै भनेता पनि मलाई आब्बा असाध्यै मन पर्ने भएको हुनाले म मदहोस हुँदै एकदिन, “आब्बा सङ्ग्राहलय” स्टकहोम - स्वेडेनमा पुगेका एकछिन स्मरण गरिरहन्छु ।

    डान्सिङ क्विन सिध्दिएपछि हामी चउरको बिच भागदेखि क्रमशः अगाडि बढ्दै जान्छौं । त्यसबेला चउरमा अर्धनग्न सेभेन्टिन र एटिनका युवायुवतीहरु ह्वाङ्गै खोलिएका भेष्टा र मसिना कट्टुलगाएकाहरु प्रशस्तै देखिन्छन् भेटिन्छन् ।यसरि दिनानु दिन कट्टुको साइजहरु घट्दै गएको देखेर मेरो मन एकछिन बिक्षिप्त हुन्छ । यहिँ क्रम जारि रहने हो भने अब मेरो नाति वा पनातिको पालामा झन यसको हालत केकस्तो हुने होला भनेर एकछिन कल्पनाको सागरमा डुब्छु ।

    हुनत यहाँ देखिएका धेरैजसोयुवतीहरु सबै वैशालुहरु हुन् । अहिले उनीहरुको मुरमुरे वैंश छ । भर्खर भर्खर जवानीमा चढ्दै गरेको त्यो उमेर एकप्रकारले राम्रै हुन्छ । त्यसैले यस्तो अवस्थामा उनीहरुको भर्खर पलाउदै गरेका बक्षस्थल र सेतासेता तिघ्राले जो कोहि युवकहरुको हृदय मज्जाले बिजय गर्न सक्छ जस्तो लाग्छ ।

    तर सबैभन्दा उदेक त मलाई घण्टौसम्म अँगालो मारेर मात्र होइन एक अर्कामा नाङ्गा खुट्टा खप्ट्याएर म्वाइ खाँदै गरेको दृश्यले पो लाग्छ । हुनत सत्र अठारको यो उमेर पनि यस्तै हो । यदि यो उमेरमा पनि मनोरन्जन गर्न सकिएन भने त कहिले गर्ने होला र ? जननेन्द्रियले काम गर्न छाडेपछि त जिन्दगी के रमाइलो हुन्छ होला र ? म फगत त्यस्तो सोच्छु ।

    वास्तवमा यहाँको चलन नै यस्तै रहेछ । त्यसैले यो कुनै नौलो कुरो चाहिँ हुँदै होइन । य यसलाई चलन चल्तिकोनियम नै हो है भन्न रुचाउँछु । त्यसकारण म त्यति धेरै आश्चर्यचकित भइरहन पनि जरुरि ठान्दिन । तर मेरो मनभित्र अर्को मन पनि छ । अर्को मनले वास्तवमा यो ठाउँ नै यस्तो हो क्यारे भन्छु ।

    अनि यसबेला म एभन नदीको पानीलाई थोरै दोष दिन्छु । अरु त अरु मान्छे भै हाल्यो । सम्भवतः यिनै एभन नदीको पानी पियर नै होला ? सेक्सपियरले आफू१८ बर्षको कलिलो उमेर हुँदा २६ बर्षकीआनालाई गर्भवती बनाइ दिइहाले । अनि बिहे गरेको ६ महिनामा सुजना जन्मिहाले । किनभने बिहे अगाडि नै उनी ३ महिनाकी गर्भवती थिइन ।

    एकछिन सेक्सपियरको बैंशको कुरो छाडौं । र, यहाँको कुरो गरौं । यो एकदम खुला चउर छ । अनि असाध्यैहरियो छ । तर यहाँघामको न्यानो किरणसँग लुकामारी खेल्दैखेल्दै भुइँभरि छरपष्टिएका जोडी जोडी युवायुवतीहरुलाई पार गर्दै हामी क्रमशः अगाडि बढ्दा, -

    “यस्तो खुला मैदानमा मान्छेहरु यसरि नै गाँठो पर्छन् होला भनेर मैले जिन्दगीमा कहिले पनिसोचेको थिइनँ । खै म यसलाई के भनौं । यो त मैले जिन्दगीमा अचम्मै देखे । सेक्सपियरको गाउँमा नै नानाथरि देख्न सकिने रहेछ,” सुस्तरी ताराको मुख खोलिन्छ ।

    उनको कुरो सुनेपछि, “यसलाई उता नेपालमा भए अश्लिल तर यतातिर त शिल नै भन्न मिल्छ होला,” भनेरजबाफ फर्काउँछु । तैपनि यिनीहरुले जे जे गरिरहेका छन् । त्यो सबै ठीक्कै गरिरहेका छन् जस्तो मलाई लाग्छ । आखिर जाबो मान्छेले एक जुनि त जिउनु पर्छ । त्यसैले हासिखुसि नै जिउनु ठीक हुन्छ होला भन्ने सोच्छु । वास्तवमा जिन्दगीभरि कति दुःख मात्र गरिरहने हो र ? बरु यहाँ पार्कमा आयो अनि दिनभरि घाम ताप्यो । मज्जा मज्जाको गफ चुट्यो र अँगालो मारेर घण्टौसम्मएकअर्कामा मुख जोड्यो । त्यो नै यहाँको वास्तविक्त्तारहेछ ।

    “ल! अब समय धेरै छैन फटाफट हिड्नु पर्छ,” अतालिदै तारालाई त्यति भन्छु । त्यसपछि उनी मेरो पछिपछि आउँन थाल्छिन । हामी पहिले थोरै अगाडि बढछौं र चउरको दाहिनेतिर मोडिन्छौं । तर त्यहाँअलिक फरक प्रकारको दृश्य देखा पर्छ ।

    हाम्रो सामुएकजना मामुली मान्छे छ । उसले एउटा भेस्टा र जाङ्गे लगाएको छ । र, ऊँ एकपाङ्ग्रे साइकलमा चढेर क्रमशः खुट्टा चालिरहको देखिन्छ । यसो हेर्दा ऊँ मामुलि फुच्चे देखिएता पनि उनको स्वर चाहिँ निक्कै ठूलो आइरहेको सुनिन्छ । किनभने त्यो मान्छेले उसको कानमा माइक्रोफोन झुन्डाइ रहेको छ । उसको चर्तिकला हेर्न मान्छेहरु वरिपरि झुरुप्पै भेला भएका छन् । अब त्यति धेरै झुरुप्पै भेला भएका मान्छेहरुको हुलमा निक्कै मनोरन्जन हुन्छ कि भनेर तारा र म पनि हतार हतार त्यहाँ पुगेर मिसिइ हाल्छौं ।

    हामी त्यहाँ पुग्ने बितिक्कै उनले मलाई एक पाउण्ड दिनु भयो भने म आगो खान्छु । ऊँ पहिले त्यसो भन्छ । हुन पनि उनको ठीक सामु एकजना युवतीले स-सानादुईवटा फलामे डण्डीमा आगोको पुल्ठो समाति रहेको दृश्य देख्न सकिन्छ । यदि पाँच पाउण्ड दिनु भयो भने म धर्ती नै खान्छु । अनि दश पाउण्ड दिनु भयो भने सारा आकाश खान्छु । उनको त्यस्तो कुरो सुनेर सबैजना दर्शकहरु ट्वाल्ल पर्छन र एक अर्कामा हेराहेर गर्छन् । तर पन्ध्र पाउण्ड दिनु भयो भने म दिने मान्छेसँग नै जान्छु तर त्यो मान्छे केटी हुनुपर्छ । उनले त्यसो भनेको सुन्दा सबैजना गलल हास्छन् । 

    तारालाई, “यस्तो जाबो बकमफुस्से कुरो सुनेर बस्ने हो । हैट बरु जाउँ,” भन्छु । उनी मेरो कुरो सुनेर पछिपछि आउँन थाल्छिन् । त्यसपछि हामी दक्षिण दिशा ताकेर थोरै अगाडि बढ्छौं । तर त्यसरी अगाडि बढदै गर्दा, -

    “होइनँ, भगवानले मानिसलाई गरिखानको लागि हरेक प्रकारको बुध्दि दिएको हुने रहेछ,” तारा त्यसो भन्छिन् ।

    उनको कुरो सुनेर छोटकारिमा, “हो रहेछ,” भन्छु । त्यहाँदेखि हिड्दै जाँदा हामी एभन नदीको ठीक किनारमा पुग्छौ । त्यसपछि नदीको किनारै किनार अगाडि बढ्न थाल्छौं । यहाँनेर नदीले आफ्नै सुरमा अबिरल गतिमा बहिरहने मात्र होइन । एउटा ठूलो तलाउ पनिबनाएको रहेछ । यो तलाउमा यसबेला बिभिन्न रङगका डुङ्गाहरुओहर दोहर गरिरहेको नजर लगाउन मिल्छ ।ती डुङ्गामा शयर गर्ने मान्छेहरु एकदम हासिखुसि र आमोदप्रमोद देखिन्छन् ।

    उनीहरुलाई देखेर, - “यिनीहरु कति भाग्यमानि मानिसहरु होलान् हगि,” ताराले त्यसो भन्छिन् ।

    उनीहरु भाग्यमानि भएपछि हामी अभागि भयौ । अनि हामी अभागि हुनुमा मेरो बढि हात छ भन्ने बुझ्छु । त्यसैले म उनको कुरा सुने पनि नसुने झै गर्छु । केहि वास्ता गर्दिन । बरु निरन्तर तलाउतिर हेर्छु । यदि तलाउलाई मज्जाले नियालेर हेर्ने हो भने थोरै दाहिने तिर फिँजिदै गएर निक्कै ठूलो क्षेत्रफल ओकटेको देख्न सकिन्छ । जहाँ अहिले अशख्यां डुङ्गाहरु रोकेर राखिएका दृश्य गर्न मिल्छ । तर तलाउको दायाँबायाँ देखिएका ठूल्ठूला बयस, जङ्गली कटुस र लटरम्म पाकिरहेको ऐसेलुका पोथ्राहरुले भने एभन नदीलाई अति नै शोभायमान र मनोमोहक बनाइरहेको देखिन्छ ।

    यतिका धेरै प्राकृतिक सुन्दर दृश्यहरु अवलोकन गर्दा सेक्सपियर मात्र होइनँ । यहाँ आइपुग्ने जो कोहि मान्छे पनि कवि बन्न सक्नेरहेछ । किनभने यहाँको वातावरण नै त्यस्तो रहेछ । सम्भवतःयिनै कारणहरुले होला ? नदीको किनारमा घण्टौघण्टा बसेर असख्यां कविताहरुको सिर्जना गर्ने सेक्सपियरलाई एभनका कवि “बार्ड अफ एभन” भन्ने उपनामले चिन्न सकिन्छ । कालान्तरमा उनलाई इङ्गल्याण्डको राष्ट्र कवि भनेर चिन्न थालिएको थियो ।

    वास्तवमा सेक्सपियरको जीवनीलाई सरसर्ति अध्यान गर्ने हो भने उनी बहुआयमिक प्रतिभाको धनि व्यक्ति रहेछन् । जसले गर्दा उनले आफ्नो जीवन कालमा ३७वा ३९नाटकहरु १ सय ५४ वटा रुपकहरु र नजाने अन्य कति कविताहरु लेखेका छन् । खास खासमा भन्नु पर्दा उनी नाटकमात्र लेख्दैनथे । नाटकसँगसँगै अभिनय गर्न पनि अति सिपालु एबम निपुण थिए । त्यसैले उनले आफ्नो अभिनय तत्कालिन इङगल्याण्डका राजा जेम्स प्रथम र रानी इलिजाबेथ प्रथमलाई पनि प्रदर्शन गरेका थिए ।

    हामी त्यसरीतलाउको छेउँछेउँ हिड्दै गर्दा मेरो ठीक बिपरित दिशादेखि एकजना मानिस मतिर आइरहेको देख्छु । उनी हेर्दा एकदम भद्र भलादमी जस्तो देखिन्छ । अब मौका यहिँ हो भनेर, “महोदय ! यता होली ट्रिनिटी चर्च कता पर्छ होला ?” म उनलाई प्रश्न गर्छु । मैले उनलाई प्रश्न सोध्नको कारण के थियो भने त्यसबेला मेरो मोबाइलमा गुगल नक्साले पटक्कै काम गरिरहेको थिएन ।फेरि म पक्का निश्चित नगरि अर्को बाटो जान पनि चाहँदिन थिएँ । यदि गलत बाटो गइहालियो भने प्रथम त समय पनि हामीसँग धेरै छँदै छैन् । दोश्रो गाली पनि पाइने लगभग निश्चित जस्तै हुन्छ ।

    त्यो मान्छेले अचानक मेरो प्रश्न सुनेर, -

    “यहाँदेखि सिधै जाउँ । अनि पाँच-छ सय मिटर जति हिडेपछि थोरै बायाँको गोरेटो पछ्याउँ। तर नदीको किनारै किनार गयौ भने केहि फरक पर्दैन,” भन्छ ।

    उनले त्यसो त भन्यो । तर टटर पट्टर गर्ने उनको अङ्ग्रेजी बोलाइ अलिक फरक खालको रहेछ ।उनको बोलि यताको अङ्ग्रेजहरुको वा भारतेलीहरुको ‍जस्तो निख्खुर छँदैछैन् । तैपनि म उनले भनेको कुरो मज्जाले बुझ्छु र धन्यबाद भन्छु । अझै भारत हाम्रो अशल छिमेकी राष्ट्र भएकोले हो कि खै के ले हो ? एण्ड एण्ड भन्दै उनीहरुले बोलेको अङ्ग्रेजी पो म झन सार्है मज्जाले बुझ्छु । बरु बर्षौबर्ष सँगसँगै काम गरेको स्कटिस र आइरिसहरुले घाँटीभित्रदेखि बोलेको भाषा पटक्कै बुझ्दिनँ ।     

    बाटोमा भेटिएको बटुवाले बाटो देखाइ दिएपछि म गमक्कै फुलिएर ठूलो मान्छे हुन्छु । त्यसपछि सरासर त्यस दिशातर्फ हिड्न सुरु गर्छु । तर तारा चाहिँ तलाउमा देखा परेका अनगिन्ती हाँस र जलेवाहरुको रमिता हेर्दै हेर्दै हिड्दा अलिक धिला गर्छिन् ।

    उनको र मेरो हिडाइँ नमिलेर हामी एक अर्कामा ४०-५० मिटरको फरक दुरिमा हिडिरहेका हुन्छौं । हुनत श्रीमान र श्रीमती बाटोमा यस प्रकारले हिड्ने नेपालीहरुको पहिचान नै हो भन्दा पनि खास्सै फरक पर्दैन । नत्रभने अङ्ग्रेजहरुको त के कुरो गरेर साध्य हुन्छ र ? यसरि बाटोमा हिड्दा हातमाहात समातेर हिड्ने मात्र होइन,उनीहरु बेलाबेलामा ओठमा ओठजुधाउँदै हिड्ने गर्छन् ।

    उनी मसँग निक्कै टाढा भएपछि म सेक्सपियरको सबैभन्दा प्रख्यात नाटक रोमियो र जुलियटलाई सम्झदै बाटो कटानि गर्न थाल्छु । जुन नाटक इटालीको भरोना सहरलाई आधार मानेर लेखिएको छ । आजका मितिसम्म तारा र म इटाली ११ चोटी पुगिसकेका छौं । जस्ले गर्दा भरोना छुट्ने त कुरै भएन । तिनै नाटकमा जुलियटले रोमियोलाई राति छुटिने बेलामा, -

    “बिदाइँभनेको यस्तो मिठो पिडा हो । भोली बिहान नभइन्जेलसम्म म शुभरात्रि भन्न सक्छु,” भनेको स्मरण गर्छु । त्यतिका धेरै मिल्ने उनीहरुको जोडीलाई सम्झेपछि मेरा पयरहरु अचानक बिस्तारै बिस्तारै चल्न थाल्छ र म तारालाई पर्खन बाध्य हुन्छु ।

    केहिबेरमा तारा हस्याङफस्याङ गर्दै मेरो नजिक आइपुग्छन् । तर उनी आउने बितिक्कै, -

    “सुन्नु भो ? यो ठाउँ त अति सुन्दर रहेछ नि । मलाई स्विटजरल्याण्ड पुगेको याद पो आयो । अझै तलाउ नजिक रहेका यि रुखपातहरुले स्ट्राटफोर्ड अपन एभनको झन कति शोभा बढाइ दिएको छ हगि,” सुस्तरीत्यसो भन्छिन् ।

    खै किन हो किन ? त्यसबेला उनको स्वर थोरै कम्पन सहित आएको सुनिन्छ । तर उनीसँग बोल्न थालेपछि दिन काटेको चालै पाइदैन । त्यसैले समय नष्ट हुन्छ भनेर म उनको भनाइ सुने पनि नसुने झै गर्छु र सरासर अगाडि बढ्छु ।

    हामी त्यसबेला राजकिय सेक्सपियर नाटकघर (थियटर हल)को बार्दलीमा पुगिसकेको हुन्छौं । पुरै सिजनिङ्ग गरिएका काठैकाठ बिछ्याएर निर्माण गरिएको उक्त्त बार्दली भेनिसको नहरमाथि देखिने बार्दलीहरु भन्दाएकरति पनि कमि देखिदैनन् ।

    मलाई लाग्छ – भेनिस संसारको सबैभन्दा सुन्दर सहर हो । हामीले भेनिसमा बिताएका हरेक पलहरु हाम्रो जिन्दगीको सबैभन्दा महत्वपूर्ण पलहरु हुन् भनेरठानेका छौं । त्यो बाहेकका अन्य समयलाई वास्तवमा जिन्दगी नभने पनि हुन्छ । तिनै भेनिसलाई आधार मानेर सेक्सपियरले भेनिसको महाजन (मर्चान्ट अफ भेनिस) लेखेका थिए । जुन नाटकमा, -

    “सबै पहेँलो चम्कने पदार्थ सुन हुदैन,” भनेको तारालाई हेर्दै हेर्दैयाद गर्छु ।

    सेक्सपियरको उक्त्त बाणी मलाई जीवन बिताउने क्रममा हरेक दिन जसो काम लागिरहन्छ । त्यसपछिनाटकघरको बार्दलीदेखि निक्कै टाढा देखिएको तर घाम अस्ताउन लागेको क्षितिजलाईअन्तिमचोटी नियाल्छु । अनि मेरा कदमहरु सुस्तरीचाल्न सुरु गर्छु । स्ट्राटफोर्ड अपन एभनको समयले मध्यान्हलाई बिदाइ गर्दै साँझको समयलाई स्वागत गरिरहेको बेला तलाउमा स-साना डुङ्गाहरुले खुब रमाइलो खेल देखाइरहेका हुन्छन् । मलाई त्यसबेला तीनै डुङ्गाहरुको बिशाल रुप भनेको आखिर ठूलो पानीजहाज नै हो है भन्ने कताकता मनमा लाग्न थाल्छ ।

    मैले विश्व भ्रमण गर्ने भनेर निस्केपछि ठूल्ठूला पानिजहाजबाट कतिचोटी यात्रा गरें हुँला । त्यसलाई एकछिन एकान्तमाबसेर औला भाँचेर गन्नै पर्छ । तर जतिचोटी यात्रा गरेको भएतापनि म अहिले बाल्टिक सागरमा यात्रा गरिरहेको क्षणलाई स्मृती गरिरहेको छु । त्यसबेला हामी पानीजहाजबाटडेनमार्कदेखिनर्वे जाँदै थियौं । तर यात्राको क्रममा डेनमार्क र स्वेडेनको बिचभागमा पर्ने द साउन्ड (डेनिस रेसुन्ड र स्वेडिस ओरसुन्ड) जलसंयोजन पार गर्दे गर्दा क्रोनबर्ग दरवार (क्रोनबर्ग क्याश्चल) देखेको थिएँ ।

    त्यसबेला हाम्रो पानीजहाजका कप्तान नर्वेजियनमूलका थिए । उनले द साउन्ड जलसंयोजन पार गर्दै गर्दा नर्वेजियन लवजको अङ्ग्रेजीमायदि तपाइँहरुले पानीजहाजको वायाँ दिशातर्फ नजर लगाउनु भयो भने एउटा ठूलो दरवार देख्न सक्नु हुनेछ । त्यो दरवारको नामक्रोनबर्ग दरवार हो । अनि यहाँहरुलाई अवगत भएकै कुरो हो । यिनै प्रख्यात दरवारलाई आधार मानेर सेक्सपियरले हेमलेट नाटक लेखेका छन् ।

    उनले त्यसो भनेपछि म क्रोनबर्ग दरवारलाई निक्कै लामो समयसम्म नियालि रहेको हुन्छु । आफ्नो काका क्लाउडियस र आमा गेटरुट मिलेर बुबाको हत्या गरेपछि जीवनको कठिन अवस्था गुजारिरहेका राजकुमार हेमलेटले आफै आत्महत्या गर्ने सोच बनाउँछ । तर त्यतिबेला आफ्नो जीवन, - “हुनु वा नहुनु त्यो एउटा प्रश्न हो ?” भनेको म त्यसबेला झलझली सम्झन्छु ।

    विलियम सेक्सपियर आफ्नो जीवनकालमा आफ्नो देश छाडेर कहिलै परदेश गएका थिएनन् । तर सन् १५८० मा पहिलो पटक उनको जन्मघर स्ट्राटफोर्ड अपन एभनदेखि लण्डनगएका थिए । उनी त्यहाँ जाँदा विश्वपगेटमा बसेका थिए है भन्ने रेकर्ड अध्यावधि पाइन्छ । त्यसैले इतिहासकारहरु उनी बाँचिन्जेलसम्मलण्डन र स्ट्राटफोर्ड अपन एभनमात्र बसेका थिए भन्छन् । अरु त परै जावोस् । उनी स्कटल्याण्डसम्म पनि पुगेनन्है भन्ने जताततै सुन्न सकिन्छ । उनी नपुगेको भएतापनि म इनभार्नेस – स्कटल्याण्ड पुगेको छु ।

    उनले स्कटल्याण्डको इनभार्नेस क्याश्चललाई आधार मानेर म्यागबेथ लेखेका छन् । म्यागबेथ नाटकमा भविष्यबाणी बताउने तीनजना बोक्सीहरुको कुरो सुनेर जनरल म्यागबेथ र उनकी श्रीमती लेडी म्यागबेथ मिलेर स्कटिस राजा डनकनको हत्या गरेको हुन्छ । तिनै म्यागबेथमा, -

    “समान हुनु भनेको बेइमानी हो र बेइमानी उचित हुन्छ,” भनेको जान्न सकिन्छ ।

    म त्यति सोच्तै गर्दा तारासँग पवित्र त्रिदेव गिर्जाघरको पछाडिको गेटमा पुगिसकेका हुन्छौं । गेटभित्र छिर्दै गर्दा हाम्रो अगाडि केहि पोलिसहरु र पछाडि अमेरिकनकापरिवारहरु देख्छौं । म उनीहरुसँग बोल्न त बोल्दिन । तर उनीहरु एक आपसमा बोलेको लवजले उनीहरु ती देशका नागरिकहरु हुन है भनेर प्रष्टै छुट्याउन सक्छु ।

    मैले आफ्नो गाउँघरलाई चट्टै माया मारेर हिंडेको ४० बर्ष समय बितिसकेको छ । धन्न यतिको समयसम्ममा ती मानिसहरु कुन कुन देशको होला है भनेर उनीहरु बोलेको सुनेर जान्ने त्यति ज्ञान चाहिँ आर्जन गर्न सकेको रहेछु ।

    गेटभित्र छिरेपछि गिर्जाघरको तीनतिर ठूलो पर्खालले घेरिएको तर दक्षिणतिर भने एभन नदीको किनारमात्ररहेका देख्छौं । अब त्यहाँभित्र अरु चिज त केहि पनि देख्न सकिदैन । हाम्रो सीधा अगाडि त्रिदेव गिर्जाघर देखिन्छ तैपनि रुखहरुले अलिअलि छलेको छ । रुखहरुलाई मज्जाले नियालेर हेर्ने हो भने निक्कै बुँढो बुँढो देखिन्छ । र, तिनिहरु अलिअलि दुरीमा रहेकाछन् ।

    अनि त्यहाँ अरु केहि देखिदैन । तर जताततै भुइँभरि केवल मानिसहरुको छरपष्ट समाधिस्थल मात्र नजर लगाउन मिल्छ । रातको समय र नेपालमा हुँदो हो त यहाँ जागित्रले तर्साउँने थियो होला ? तर अहिले दोपहरको समय छ । अनि यो बेलायत भएको हुनाले सायद तर्साउनेहरु सुतिरहेका छन् होला भन्छु । तर यी यावत कुरोहरुलाई चट्टै भुलेर हामी निर्धक्क साथ अगाडि बढिरहेका छौं ।

    भुइँमा गिट्टीहरु पातलो बिछ्याएर सानो हिड्ने गोरेटो बनाइएका छन् । तिनै गिट्टीहरु माथि टेक्दा निस्केको जुत्ताको चुरुमचुरुम आवाज सहित हामी एकछिन चिहानै चिहानको बाटो भएर हिड्छौ । अनि गिर्जाघरलाई एकचक्कर लगाएपछि मूख्य ढोकामा पुग्छौं ।

    ढोकाबाट सुस्तरी कदमहरु भित्र पस्ने बितिक्कै एकजना ढोकेसँग हाम्रो भेट भैहाल्छ । उनले शरिरको माथिलो भागमा निख्खुर सेतो सर्ट मुनि कालो पतलुङ र कालै जुत्ता लगाएको छ । उनी मभन्दा निक्कै अग्लो छ र उनको शरिर बडेमाको खाइलाग्दो देखिन्छ । अब त्यति ठूलो मान्छेले मलाई देख्ने बितिकै, -

    “महाशय ! कति जना हुनुहुन्छ ?” भनेर पहिलो प्रश्न गर्छ ।

    “दुईजना,” छोटकारिमा उत्तर दिन्छु ।

    “निक्कै टाढादेखि पाल्नुभएको हो कि कसो ?” भन्दै फेरि उनले अर्को प्रश्न सोध्छ ।

    “हो नि हजुर,” भन्छु ।

    “अनि आज कहाँदेखि पाल्नु भयो त ?” पुनः मलाई सोध्छन् ।

    अब यस्ले धेरै प्रश्नहरु गर्ने भो जस्तो लाग्छ, त्यहिँ भएर, “हामी यहाँभन्दा धेरैटाढादेखि आएको हौं। पक्कापक्कि भन्ने हो भने यहाँभन्दा साढे ४ हजार माईल टाढादेखि आएको एकजना गोर्खा सिपाही हुँ,” भन्छु ।

    अब यस्तो ठाउँमा काम गर्ने मान्छेहरु त्यति धेरै पढेलेखेका हुन्नन् है भन्ने मेरो बुझाइँ छ । त्यति धेरै नपढेका अङ्ग्रेजहरु भूगोलमा ज्यादै नै कम्जोर हुन्छन् । अनि धेरैजसो नपढेका अङ्ग्रेजहरु यस धर्तीको पूर्व भनेको टर्कीमात्र हो भनेर जान्दछन् । त्यसैले नेपाल भन्यो भने जो कोहिले खास्सै चिन्दै चिन्दैनन् । बरु गोर्खा सिपाही भन्यो भने सजिलै चिन्छन्। र, सम्मान पनि मिल्ने भनेर म त्यसो भन्छु ।

    “होइनँ । मैले पहिले पनि एकजना गोर्खा सिपाही भेटेको थिए । तर ऊँ त तपाइँ जस्तो देखिदैन थियो । ऊँ तपाइँभन्दा सेक अग्लो थियो । उसको केस लामोलामो थियो । अझै उसले दार्ही जुङ्गा मज्जाले पालेको थियो । मलाई राम्रो याद त छैन् । तैपनि झट्ट हेर्दा उँ भारतेली‍हरु जस्तो देखिन्थ्यो । उसको अनुहार क्या, बुझ्नु भयो ?” भन्छ ।

    बुझें है बुझें । तर उनलाई गोर्खा सिपाही भनेर तपाइँ मज्जाले फसिनु भो छ । पक्कापक्का गोर्खाली सिपाही भनेको त मै जस्तो नै देखिन्छ । एकदम होचो कदको हुन्छ र मेरै जस्तो मुहार हुन्छ । कि तपाइँको आँखाले फेल खायो कि त उसले झुटो बोल्यो । हुनत आजभोली अगोर्खालीहरु पनि गोर्खाली हुँ भनेर बेलायतमा गोर्खाको नाममा फाइदा लुट्न खोज्ने सयकडौं भेटिन्छन् । ती सबै कप्तान किडजस्तै सामुन्द्रिक डाका वा लुटेराहरु हुन् । जमाना परिवर्तन भएको छ, हजुर । नत्रभने मलाई सोध्नोस न । म तपाइँलाई फकल्याण्ड, अफगानिस्थान, इराक, साइप्रस, मलाया र कोरियामा भएका लडाइँको कुरा, वीर गाथाको कुराहरुबताइ दिन्छु ।

    त्यसपछि म एकछिन रोकिन्छु । तर ऊँ अझै म केहि भन्छु कि भनेर ध्यान दिएर सुनिरहन्छ ।

    अबत विश्वास लाग्यो होला नि ? कि अझै तपाइँलाई मेरो कुरोको विश्वास लाग्दैन । यदि त्यसो हो भने मेरो सैनिक नम्वर, दर्जा र पल्टनको नाम पनि सोध्नोस् न ? म खुरुखुरु बताइदिन्छु । बिसौं बर्ष बेलायती सरकारलाई सेवा दिँदा भोगेका युध्द मैदानको कुरो म झन फटाफट भनिदिन्छु । के तपाइँ चाहनु हुन्छ ? अझै चाहनु हुन्छ भने म तपाइँलाई प्रमाणको लागि हजुर महाराणीले दिएकी रातो किताव (रेड बुक) नै देखाइ दिनु सक्छु ।

    मैले त्यति भनिन्जेलसम्म ऊँ ट्वाल्ल परिरहन्छ । त्यसपछि, -

    “बाबा ! मैले कान समाते । अनि तपाइँहरुलाई यो गिर्जाघरमा स्वागत छ। अब सिधै अगाडि गएर बेथलाई भेटनु होला,”त्यति भन्छ । सेक्सपियरको समाधिस्थलमा पुगेर उनको दर्शन गर्ने रहर दशकौदेखि पालिरहेको थिएँ । ऊँदेखि छुटकारा पाएपछि बर्षौबर्ष जेल बसेर निस्केको उत्साहित कैदी जस्तै खुसि हुन्छु ।

    “बल्ल बल्ल सेक्सपियरको दर्शन गर्न पाइने भो । आज राम्रै दिनमा घर छाडिएछ,” तारालाई सुटुक्कै भन्छु । तर मेरो कुरो सुने पनि उनी नसुने झै गर्छिन् र बोल्दै बोल्दिनन् ।

    अङ्ग्रेजहरु एलिजाबेथलाई छोटकारीमा बेथ भन्छन् । जुन बोल्नको लागि अति सजिलो पनि हुन्छ । उनको कुरो सुनेपछि हामी २-४ कदम अगाडि हिड्छौं । त्यसपछि बेथलाई हेर्दै हेर्दै थोरै बायाँतिर मोडिन्छौं । एक्कैछिनमा उनको सामुन्ने पुगिहाल्छौं । हामी त्यहाँपुग्दा उनी कुर्सीमा थपक्कै बसिरहेकी हुन्छिन् । तर हामीलाई देख्ने बितिक्कै उनी कुर्सीदेखि उठ्छिन र हल्का मुस्कान दिदै हाम्रो नजिक आउँछिन् ।

    अङ्ग्रेजी युवतीहरु‍को मुस्कान भनेपछि म हुरुक्कै हुने गर्छु । खै किन हो किन ? मलाई उनीहरुको मुस्कानले सार्है आकर्षण गर्छ । त्यहिँ माथि हलिवुडको नायिकाहरु झै राम्री देखिने ती युवतीको त्यति मिठो मुस्कान सहित, -

    “यहाँहरुलाई गिर्जाघरमा स्वागत छ,”भन्दा म खुत्रुक्कै पर्छु ।

    हुन पनि हामी त्यहाँ पुग्दा उनी एकदम नरम भएकी छिन् । नरम मात्र होइनँ, उनी फर्साइली पनि रहेछिन् । तर उनी त्यसरी नरम हुनको मूख्य कारण मैले ढोकेलाई गोर्खाको परिचय दिएको हुनाले हो भनेर म निर्क्यौल काट्छु । किनभनेएकछिन अगाडि भएको हाम्रो वार्तालाप उनले निक्कै नजिकदेखि नियाली रहेकी थिइनँ ।

    फेरी मान्छेको जातमा अङ्ग्रेजहरु एकदम चतुर जातिका हुन्छन् । कस्ले कहाँ, कोसँग अनि के बोल्दैछ वा केगर्दैछ भनेर बिरालोभन्दा बढि चियोचर्चा गर्छन् । तर नगर्नु पनि कसरि ? जाबो यति सानो देशले जहिले पनि उनीहरु संसारभरि शासन गर्न खोजिरहेको हुन्छ । अझै आफ्नो उपनिवेशबादको विरासत अहिलेसम्म उनीहरु कायमै राख्न चाहन्छन् ।

    त्यसपछि उनले हामीलाई यसो भन्छिन, -

    “सबैभन्दा पहिले यहाँ७१३ एडीमा सेक्सनहरुले एउटा सानो विहार (मोनस्ट्री) स्थापना गरेका थिए । मलाई जहाँसम्म लाग्छ । त्यो विहार काठदेखि बनाइएको हुनुपर्छ । त्यसलाई रोमन साम्रज्यको पालामा थोरै परिवर्तन गरेर ढुङ्गार माटोले बनाइएका थिए । तर यता हेर्नुहोस् त । गिर्जाघरको मध्यभागमा अवस्थित यी चारवटा खम्बाहरु चाहिँ सन् १२१० मा निर्माण भएका हुन् । यसलाई क्रसिङ भन्छ । तर उता सिधै अगाडि पट्टिको भागचाहिँ सन् १३०० मा बनेको हो । त्यस क्षेत्रलाई चाहिँ चान्सल भनिन्छ । अनि यता फर्किनोस त ? यो भाग छ नि । हो, यस्को नाम चाहिँ नेभ हो । जसको निर्माण सन् १४०० मा भएको थियो । समग्रमा अहिलेको यो गिर्जाघर तीनपटकमा सम्पन्न भएको थियो ।”

    “अनि सेक्सपियर र उनका परिवारहरुको समाधिस्थल चाहिँ खै त ?” सानो स्वरमा सोध्छु ।

    बेथ मैले सोचेकीभन्दा निक्कै बाठी रहेछिन् । मेरो कुरो सुनेर, -

    “यि हेर्नुहोस् त । यतातिर घुम्नु हुन्छ भने सबै सित्तैमा हो । अँह ! एक्कैपैसा लाग्दै लाग्दैन । सन् १३०० मा बनेको शिसाका झ्यालहरु मज्जाले हेर्न सक्नु हुनेछ । यी उत्ताको झ्यालहरु अमेरिकनहरुले बनाइ दिएका हुन् । ती झ्यालहरु एकदम कलात्मक छन् । यी यताको झ्यालहरु चाहिँ बेलायतिहरु हामी आफैले निर्माण गरेका हौं । तर दुर्भाग्यबस सेक्सपियरको समाधिस्थलमा जान चाहनु हुन्छ भने प्रति व्यक्त्ति ४ पाउण्ड तिर्नुपर्छ,” थोरै मुस्कुराउँदै त्यसो भन्छिन ।

    “हैट ! यहाँ त कार्ल मार्क्सको चिहानभन्दा महङ्गो रहेछ,” भनेर एकचोटी जिस्क्याउँछु ।

    “के गर्नु र ? मुद्रास्फ्रिती बढेको छ,” भन्दै उनी हास्छिन् ।

    “अनि राजा जेम्स प्रथमले अङ्ग्रेजी अनुबाद गरेको पहिलो बाइबल चाहिँ कताछन् त ?” फेरि सोध्छु ।

    “महाशय ! पहिले पैसा तिर्नु होला ? त्यसपछि म तपाइँहरुलाई गेटदेखि भित्र जान दिन्छु । भित्रपट्टिको कोठामा मेरो सहकर्मी हुनुहन्छ । तपाइँहरुलाई उनले सबैकुरो देखाइ दिनु हुनेछ,” पैसा खुस्काउँनको लागि बिनम्रतापूर्वक उनी बोल्छिन् । तर उनले त्यसो भनेको सुन्दा मलाई अचानक अलिबाबाको मालिक ज्याक माले भनेको एउटा कुरोको खुब याद आउँछ, -

    “सित्तैमा केहि पाइदैन् ।”

    त्यसैले यहाँ पनि उनकै सिदान्तलाई अनुशरण गरेर सेक्सपियरको चिहानसम्म जान पैसा तिर्नु पर्ने रहेछ भन्छु । आ...ठीक्कै छ । उनीहरुकै पैसा हो । उनीहरुले नै राखुन भनेर गोजिदेखि क्रेडिट कार्ड निकाल्छु । अब मैले कार्ड निकालेको देखेपछि उनकी मुखमा पानी आउँछ । त्यसैले पैसा लिने यन्त्रमेरो नजिक ल्याउँछिन् । म प्लाष्टिकको कार्डलाई यन्त्रमा ट्याप्पै ठोकाउँछु ।तर उनलेत्यसरी पैसा लिदैगर्दा, -

    “यदि तपाइँहरुलाई गिर्जाघरको विवरण पुस्तिका (ब्रोसर) चाहिन्छ भने मलाई भन्नोस है । म दिन्छु,” भन्छिन ।

    उनको कुरो सुनेपछि, “भो भो, हामीलाई परेन, ब्रोसर न स्रोसर” भन्छु ।

    पैसा तिरिसकेपछि हामी सिधै सेक्सपियरको समाधिस्थलतर्फ लाग्छौं । तर त्यहाँ पुग्ने बितिक्कै अर्को एकजना कर्मचारीले, -

    “२३ अप्रिल १६१६ मा सेक्सपियरको मृत्यु भएपछि उनलाई यिनै गिर्जाघरमा राखिएको छ । गिर्जाघरभित्रको उक्त्त जमिन खरिद गर्न तत्कालिन समयमा ४ सय ४० पाउण्ड लागेको थियो,” भन्छन् ।

    उनको कुरो सुनिसकेपछि म सुस्तरी हिड्दै समाधि नजिकै पुग्छु । सेक्सपियरको ठीक दायाँ कुनामाउनकी श्रीमती आना हाथवेको समाधि रहेको छ। सबैभन्दा बायाँ कुनामा चाहिँ छोरी सुजना हलकी छिन् । सुजना हलको ठीक दाहिनेतिर जुवाइँडा. जोन हलको समाधि छ । उनीहरु दुईजनाको एकल छोरी इलिजाबेथ हल थिइन । तिनैछोरीकी पहिलो बिहे थोमस नाशसँग भएको थियो । जस्ले गर्दा सेक्सपियरको पहिलो नातिनी जुवाइँ थोमस नाशको समाधि पनि यहिँछ । जम्माजम्मि उनीहरु ५ जनाको समाधिस्थल यिनै गिर्जाघरभित्र रहेको छ ।

    सेक्सपियरको नातिनी इलिजाबेथले थोमस नाशको मृत्यु भएपछि जोन बर्नाडसँग दोश्रो बिहे गरेर स्ट्राटफोर्ड अपन एभनदेखि एबिङ्डन बसाइँ सरेकी थिइनँ । दुईदुई पटक बिहे गरेर पनि एउटै बच्चा जन्माउन नसक्ने इलिजावेथकी १७ फेब्रुवरी १६७० मा मृत्यु भएपछि सेक्सपियरको सन्तान यस धर्तीदेखि सधैँसधैँका लागि बिलय भइसकेको छ ।।।

    बानबरी, इङ्गल्याण्ड ।




    सम्बन्धित समाचार