आइतवार, भाद्र १७ २०८०
दमन राई
खोटाङ, १७ भदौ । शसस्त्र द्धन्द्ध कालमा खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका देवबहादुर राई, कैलाश कार्की, थीरबहादुर कार्की र दिपक विष्टको हत्यामा संलग्न सुरक्षाकर्मीलाई कानूनी कारबाही नभएको पिडित परिवारले गुनासो गरेका छन् ।
चार जनालाई भवानी दल गुल्मबाट खटिएका संयुक्त सुरक्षा फौजले १५ भदौ २०६० मा घरबाट गिरफ्तार गरेर १७ भदौ २०६० मा सछितापोखरीको टुवाखोलाको जंगलमा पुर्याएर बिभत्स हत्या गरेका थिए ।
उनीहरुलाई कव्जामा लिएको भोलीपल्ट चिप्रिङमा पुर्याएर तेश्रो दिन गोली हानिएको पिडित परिवारको भनाई छ । चार जना निर्दोष नागरिकलाई कव्जामा लिएर गोली हानेर मारेको देखिन आएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले भवानी दल गुल्मका संयुक्त सुरक्षाफौजका कमाण्डर सुवास केसी र प्रहरी नायब निरीक्षक मनिष मल्ल समेतबाट घट्नामा संलग्न अन्य व्यक्तिको समेत नाम खुलाउन लगाएर बुझ्नुपर्ने प्रमाण बुझेर प्रचलित कानून बमोजिम ज्यान मुद्धातर्फ कारबाही गर्न र मृतकका आश्रित परिवारको भरणपोषणका लागि आयोगको क्षतिपूर्ति निर्धारण नियमावली २०५७ को नियम १७ बमोजिम हकवालालाई जनही ३ लाखका दरले क्षतिपूर्ति उपलव्ध गराउन २८ असार २०६६ मा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई सिफारिस गरेको थियो ।
आयोगको १२ भदौ २०६५ को निर्णय अनुसार दोषीमाथि कारबाही गर्न र मृतक परिवारलाई क्षतिपुर्ती उपलव्ध गराउन नेपाल सरकार समक्ष सिफारिस गरिएको भए पनि हालसम्म दोषीमाथि कारबाही नभएको राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय खोटाङका प्रमुख उपसचिव गीताकुमारी दाहालले बताईन् ।
निर्दोष व्यक्तिलाई गिरफ्तार गरेर हत्या गरेको भन्दै घटनाको निश्पक्ष छानविनका लागि पिडितका पक्षबाट आयोगमा ९ पुस २०६० मा उजुरी परेको थियो । मृतक परिवारले शान्ति तथा पुःननिर्माण मन्त्रालयबाट सुरुमा एक/एक लाख, दोश्रो र तेश्रोपल्ट दुई/दुई लाख र चौथो पटकमा पाँच/पाँच लाख द्धन्द्ध पिडितले पाउने राहत प्राप्त गरेको श्यामसुन्दरले बताए ।
“मृतक परिवारले द्धन्द्ध पिडित राहत पायौं तर न्याय पाएनौं,” उनले भने, “दोषी सुरक्षाकर्मीमाथि कारबाही पनि भएन । २०७० सालतिर सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी पनि दिएका थियौँ ।”
हत्या गर्नु अगावै रेडियो नेपालबाट दोहोरो भिडन्तमा मारिएको खबर प्रशारण गरेको केही समयपछि उनीहरुमाथि गोली हानिएको कांग्रेस जन्तेढुंगा सभापति बाजिन्द्र बिष्ट बताउँछन् ।
मारिनेमा कैलाश र थीरबहादुर एकाघरमा दाजुभाई हुन् । कैलाश स्थानीय बालोद्धय आधारभुत विद्यालयका शिक्षक थिए । उनी केही समय तत्कालिन नेकपा माओवादीमा हिँडेको स्थानीय बताउँछन् । थीरबहादुर भने एसएलसि दिएर बसिरहेका थिए ।
घरका तीन भाई मध्ये कान्छो श्यामसुन्दरलाई भने सुरक्षाकर्मीले बाटोबाट फर्काएकाले बाँचेका थिए । उनी त्यो बेला १४ वर्षका थिए । उनी हाल सोही बालोद्धय आधारभुत विद्यालयमा पढाउँछन् ।
१५ वर्षीय दिपक भने कक्षा ८ मा अध्यनरत थिए । संयुक्त सुरक्षाफौजले कव्जामा लिएका मध्ये गाउँका आठ/नौ जनालाई बिचबाटोबाट छाडिदिएको श्यामसुन्दर सम्झन्छन् । कव्जामा परेका टिकाराम कार्की गिलेनमा पानी भर्ने वाहनामा भागेर ज्यान बचाएका थिए ।
सुरक्षाफौजबाट चार जनाको हत्या भएको हप्ता दिन नवित्दै माओवादी कार्यकर्ताले सुराख गरेको आरोपमा शिक्षक धुर्व खड्काको हत्या गरेका थिए ।
कार्की परिवारको घरमा हाल कैलाश र थीरबहादुरका तस्बिर छैनन् । रिलवाला क्यामेराले खिचेर धुलाइएका तास फोटो फालिए, कुनै डढाइए । आमा मीनकुमारी कार्की र बुवा गणेशबहादुर कार्कीले तस्बिर देख्नासाथ रुवाबासी र विलौना गर्ने भएका कारण घरमा भएका उनीहरुका तस्बिर हटाइए, ताकी उनीहरुको याद नआउन्, बुवाआमालाई पीडा नहुन् ।
उनीहरुका कतिपय तस्बिर गाउँघरका आफन्तसँग मात्र सुरक्षित छन् । देवबहादुरको हत्यापछि चार छोरी सहित बसिरहेकी श्रीमतीले दोश्रो विवाह गरिन् । दिपकका परिवार बिराटनगर बसाई सरिसकेका छन् ।