Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिक्तेलमा ‘कसैलाई पछि नपारौं-नछोडौं’ परियोजना सुरु

    दिक्तेलमा ‘कसैलाई पछि नपारौं-नछोडौं’ परियोजना सुरु


    • शुक्रवार, भाद्र १५ २०८०

    • नेपाल वाइड


    दिक्तेलमा ‘कसैलाई पछि नपारौं-नछोडौं’ परियोजना सुरु
    ‘कसैलाई पछि नपारौं/नछोडौं’ परियोजना अन्तर्गत गरिएकोे मिडिया अभिमुखीकरण कार्यक्रम ।

    खोटाङ, १५ भदौ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ‘कसैलाई पछि नपारौं/नछोडौं’ परियोजना सञ्चालनमा ल्याइएको छ । विभेद, अन्याय, बञ्चितिकरण र बहिष्करणमा परेका जोखिम वर्ग तथा समूहको पहुँच स्थापित गराउने लक्ष्यका साथ युएनडीपीको सहयोगमा बाल सेवा समाज नेपाल खोटाङले ‘लिभ नो वन बिहाइण्ड’ परियोजना सञ्चालनमा ल्याएको हो ।

    अति विपन्न परिवार, दलित, एकल महिला, अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई लक्ष्यित गर्दै नगरपालिकाका १५ वटै वडामा ‘कसैलाई पछि नपारौं/नछोडौं’ परियोजना सञ्चालनमा ल्याइएको हो ।

    सामाजिक, आर्थिक, राजनीतिक, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, शैक्षिक, लैंगिक, जातीय, भाषिक, वर्गीय, धार्मिक वा अन्य कारणले विभेद, अन्याय, बञ्चितिकरण र बहिष्करणमा परेका जोखिम वर्ग तथा समूहको पहिचान गर्ने कार्यमा सरोकारवालाहरुको बुझाइमा एकरुपता ल्याउने उद्धेश्यका साथ परियोजना सञ्चालनमा ल्याइएको परियोजना प्रबन्धक युवराज रिजालले जानकारी दिए ।

    परियोजनामार्फत अधिकार, सेवा, सामाजिक सञ्जाल र विकास योजना प्रक्रियाहरूमा जोखिममा परेका समूहको अर्थपूर्ण सहभागिता र पहुँचमा सुधार गर्न सहयोग गर्ने लक्ष्य राखिएको छ ।

    गत साउन १ गतेदेखि आगामी पुस मसान्तसम्म सञ्चालन हुने परियोजनाले प्रत्यक्ष रुपमा १२० जना र अप्रत्यक्ष रुपमा ३०६ जना जोखिममा परेका वर्ग र समुदायका लागि काम गर्ने परियोजना प्रवन्धक रिजालले बताए ।

    परियोजना अवधिमा १८ लाख बजेट खर्च हुने बालसेवा समाजले जनाएको छ । दिगो विकास लक्ष्यद्वारा संकल्पित विश्वव्यापी शान्ति, समृद्धि, पृथ्वीको रक्षा, साझेदारीता र मानवको अस्तित्व जोगाउने सन्दर्भमा गरिएका प्रतिवद्धताको कार्यान्वयनमा विश्व होमिएको बेला खोटाङमा ‘कसैलाई पछि नपारौं/नछोडौं’ परियोजना सञ्चालनमा ल्याइएको हो ।

    परियोजनामार्फत नगरपालिकामा सामाजिक समावेसीकरण र अपांगताको न्युनतम मापदण्ड, महिला अधिकार, मानव अधिकार, मानव बेचबिचन र सरकारी सेवा सम्वन्धी जनचेता, सार्वजनिक सेवामा पहुँच वृद्धिका लागि जनचेतनामुलक अभियान, सामाजिक सुरक्षा, समावेसीकरण, सार्वजनिक सेवा लगायतका विषयका सवालमा आधारित सेवा प्रदायकसँग पैरवी, आर्थिक सामाजिक सुधारका लागि छनौटमा परेका सहभागीलाई कृषि तथा गैर–कृषिमा आधारित सहयोग लगायतका क्रियाकलाप सञ्चालन गरिने जानकारी दिइएको छ ।

    ‘अति विपन्न परिवार, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, एकल महिला, असक्त, असहाय, दलित, बञ्चितिकरण, बहिष्करण, हिंसा पिडित र जोखिममा परेका वर्ग र समुदायको न्याय, श्रोत, अवसर, शासन र प्रशासनमा पहुँच स्थापित गर्न सबै सरोकारवालाहरुले निर्वाह गर्नुपर्ने भूमिकाको सन्दर्भलाई लिएर परियोजना कार्यान्वयनमा ल्याइएको हो,’ रिजालले भने, ‘परियोजनाले सामाजिक समावेशीकरणमा जोड दिदैं बञ्चितिकरण र बहिष्करणमा परेका, राज्यद्वारा प्रदत्त हक, अधिकार, सेवा सुविधा र अवसरबाट बञ्चित, राज्यको मुल धारमा समाहित हुन नसकेका, स्रोत साधनबाट पाखा लागेका, पछाडि परेका र पारिएका वर्ग र समुदायको अर्थपूर्ण राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक सहभागिताको पक्षमा वकालत गर्दछ ।’ ‘कसैलाई पछि नपारौं/नछोडौं’ परियोजना कार्यान्वयनकै क्रममा शुक्रबार मिडिया अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

    अभिमुखीकरणमा सहभागी स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यममा आवद्ध १८ पत्रकारले विपन्न परिवार, दलित, एकल महिला, अपांगता भएका व्यक्ति वा ज्येष्ठ नागरिकको सवालमा दुई महिनाभित्र एक–एक समाचार प्रकाशन/प्रशारण गर्ने कार्ययोजना बनाइएको छ ।

    मिडिया अभिमुखीकरण कार्यक्रम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले उद्घाटन गरेका थिए । कार्यक्रम बालसेवा समाजकी अध्यक्ष चन्द्रकला भुजेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

    परियोजनाले यसअघि नगरपालिकाका जनप्रतिनिधि तथा विभिन्न संघ संस्थामा आवद्ध सरोकारवालालाई अभिमुखीकरण र सामाजिक समावेशीकरण सम्बन्धी तालिम प्रदान गरिसकेको छ । केही समयपछि राजनीतिक दललाई सहभागी गराएर अभिमुखीकरण सञ्चालन गरिने परियोजनाले जनाएको छ ।

    सम्बन्धित समाचार