बुधवार, भाद्र १३ २०८०
नेपाल वाइड
खोटाङ, १३ भदौ । खोटाङको रावाबेँसी गाउँपालिकाले राडीपाखी व्यवसायीलाई चर्खा र कोरेसो वितरण सुरु गरेको छ । पुर्खौली पेशा राडीपाखी व्यवसाय गर्दै आएका महिलाको व्यवसायीक विकासमा सघाउ पुर्याउने लक्ष्यका साथ गाउँपालिकाले आवश्यक सामग्री वितरण सुरु गरेको हो ।
गाउँपालिकाबाट विनियोजित पाँच लाखको खर्चमा १७० थान कोरेसो र ५० थान चर्खा वितरण गरिने रावाबेँसी गाउँपालिकाकी उपाध्यक्ष कोशिला गुरुङले बताईन् । बुधबार रावाबेँसी गाउँपालिका–६ हौंचुरको पोखरी र चाँपखर्क तथा रावाबेँसी गाउँपालिका–१ कुभिन्डे गोपिनीका गुरुङ समुदायका राडीपाखी व्यवसायी महिलालाई चर्खा र कोरेसो वितरण गरिएको छ ।
बिहिबार रावाबेँसी गाउँपालिका–४ डुम्रोधारापानी र रावाबेँसी गाउँपालिका–५ दुबेकोलका राडीपाखी व्यवसायीलाई चर्खा र कोरेसो वितरण गरिने गाउँपालिकाले जनाएको छ ।
भेडाको उनबाट राडी, जमट, चकटी, ब्रुसकोट, लुकुनी, घुमराडी, दोचा लगायतका सामान बुन्ने क्रममा सामग्रीको अभाव झेलिरहेका महिलालाई लक्ष्यित गर्दै चर्खा र कोरेसो वितरण सुरु गरिएको उपाध्यक्ष गुरुङले बताईन् ।
कोरेसो प्रत्येक व्यवसायीलाई र चर्खा दुई तीन जनाले चलाउन पाउनेगरी वितरण सुरु गरिएको हो । राडीपाखीको काम गर्ने अन्य राई, भुजेल, मगर समुदायका महिलालाई पनि चर्खा र कोरेसो उपलव्ध गराइने छ ।
विशेषगरी गुरुङ समुदायका महिलाले राडीपाखी बुन्ने काम गर्दै आएका छन् । कतिपय गुरुङ परिवारले राडीपाखी बुनेर आएको आम्दानीबाटै घरको गर्जो टार्ने गरेका छन् । राडीपाखी व्यवसाय गुरुङ समुदायको नगद हात लाग्ने मूख्य पेशा हो ।
जिल्लाको हौंचुर पोखरी र चापखर्क, नेर्पा, दिम्मा, बादुङ, बुईपा, साब्रु, बाक्सिला लगायतका स्थानमा बसोबास गर्ने गुरुङ समुदायले पुर्खादेखि चल्दैआएको पेशा अपनाउँदैआएका छन् ।




रावाबेँसी गाउँपालिकाद्धारा राडीपाखी व्यवसायीलाई वितरण गर्न तयारी गरिएको चर्खा र कोरेसो । तस्बिरहरु: मोहन गुरुङको फेसवुकवालबाट साभार