बुधवार, भाद्र १३ २०८०
नेपाल वाइड
खोटाङ, १३ भदौ । नेपाल सरकारले सय गन्तव्यको सूचीमा समावेश गरेको खोटाङको धार्मिक तथा पर्यटकीय स्थल बराहपोखरीको स्वरुप बिग्रेको छ । बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा रहेको बराहपोखरी बर्षाको समयमा माथिबाट झरेको भलबाढीले बगाएर झारेको ढुङगा, माटो र बालुवाको गेगर थुप्रिएर कुरुप बनेको हो ।
ढुङगा माटोले बराहपोखरीको करिब आधाभन्दा बढी भाग पुरिसकेको छ । छेउबाट गेगरले पुरिँदै गएका कारण पोखरीको स्वरुप र सुन्दरता नै बिग्रिएको बराहपोखरीका वडाध्यक्ष ढकबहादुर कार्कीले बताउनुभयो ।
कुनैबेला गोलो आकारको बराहपोखरी गेगरले पुरिएर खुर्पाको जस्तो आकार बनेको छ । बलौटे गेगर पन्छाएर बराहपोखरीको आकारलाई पुर्ववत अवस्थामा फर्काउने चासो चिन्ता कसैको देखिएको छैन । चारैतिर पहाडले घेरिएको खाल्डोमा रहेको बराहपोखरीलाई उचित बिकास र संबर्धन गर्न सके प्रमुख पर्यकीय स्थलकारुपमा बिकास गर्न सकिने सम्भावना छ ।

तर संरक्षण र संबद्र्धनको अभावमा पोखरीको अस्तित्व संकटमा पर्दैगएको छ । बराहपोखरीलाई कतिपयले बाराहपोखरी र बारुवापोखरी पनि भन्छन् । मुहान र निकास हुने ठाउँ नदेखिए पनि बार्हैमास पानी हुनु बराहपोखरीको बिषेशता हो ।
लोपोन्मुख मानिने रातो माछा बराहपोखरीको अर्को आकर्षण हो । करिब चार दशकअघिसम्म बराहपोखरीमा गेगर पसेको थिएन । पानी टम्म थियो । तर २०४१/०४२ को वर्षामा पुर्वतिर पर्ने कोका खोलाबाट खहरे भेल झरेपछि बराहपोखरीको आधा भाग पुरिएको स्थानीय ध्रुब गिरीले बताउनुभयो ।
३३० मिटर लम्बाई र २१० मिटर चौडाई रहेको बराहपोखरीमा अहिले पनि जिमीगाउँ (सैंटार)तिरबाट वर्षामा भलपानी झर्नेगरेको छ । बराहपोखरीमा खहरे भेल छिरेर गेगर मात्रै थुप्रिएको छैन । पानीको सतह पनि घटेको छ ।
बिक्रम संवत १९९० सालको भूकम्पका कारण बराहपोखरीको पानी घट्न थालेको डिल्लीराम गिरीले बताउनुभयो । २०७२ सालको भूकम्पले पनि बराहपोखरीको छेउछाउका जमिन फुटेको थियो ।
स्थानीयका अनुसार धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको चार भागमा तीन भाग पानी घटेको छ । कतिपयले पर्याप्त वर्षा हुन छाडेका कारण पनि पोखरीमा पानीको सतह घटेको बताउँछन् । खोलाको पानी फिल्टर गरेर हिउँदमा हाल्ने व्यवस्था गर्न सके बराहपोखरीको आकर्षण फर्काउन सकिने सम्भावना छ ।
बराहपोखरीमा दैनिकजसो दर्शनार्थी पुग्ने गरेका छन् । हरिबोधनी एकादशी, बालाचतुर्दशी, माघे संक्रान्ती, शिबरात्री र रामनवमीमा मेला लाग्ने गरेको छ । बराहपोखरीको पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाको पहलमा आसपासमा पर्खाल, सिँढी, मन्दिर, बुद्धको मुर्ती लगायतका संरचना तयार पारिरहेको छ ।