सोमवार, भाद्र ४ २०८०
नेपाल वाइड
खोटाङ, ४ भदौ । खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी छेतुवाकी २७ वर्षीय सुत्केरी अलिशा बिकको मृत्यु भएको छ । छाती दुख्ने, श्वास फेर्न अप्ठ्यारो हुने लगायतका समस्या देखिएपछि उपचारमा बिराटनगर लगिएकी सुत्केरीको भदौ २ गते मृत्यु भएको हो ।
गत असार ६ गते दोश्रो सन्तानको रुपमा छोरा जन्माएकी अनिशालाई साउन ३१ गते कोशी अस्पताल बिराटनगर लगिएको थियो । कोशी अस्पतालले अन्यत्र लैजान भनेपछि बिराट मेडिकल कलेजमा लगेर उपचार गर्नेक्रममा सुत्केरीको मृत्यु भएको हो ।
उनको मुटुको समस्याको कारण मुत्यु भएको अस्पतालले परिवारलाई जानकारी दिएको छ । बिक परिवार हाल उदयपुरको चौदण्डीगढी नगरपालिका–२ माडिबास बस्दैआएका छन् ।
ईमरजेन्सीमा २४ घण्टासम्म उपचार गर्दा बिरामीको स्वास्थ्यमा सुधार नदेखिएपछि कोशी अस्पतालले अन्यत्र लैजान भनेपछि भदौ १ गते बिराट मेडिकल कलेजमा लगिएको थियो ।
बिराट मेडिकलमा आइसियुमा राखिएकी अलिशालाई सोही दिन राती भेन्टिलेटरमा सारिएकोमा भदौ २ गते बिहान मृत्युको जानकारी पाएको श्रीमान रमेश बिकले बताए । उनको भदौ ३ गते माडिबास लगेर दाहसंस्कार गरिएको छ ।
आमाको मृत्युपछि दुई महिने बच्चाको हेरचाहमा समस्या भएको छ । बच्चालाई गाईको दुध, नजिकमा सानो बच्चा भएका आमाको दुध र ल्याक्टोजिन खुवाउने गरिएको बिकले बताए ।
अलिशाको उपचारमा कोशी अस्पतालका स्वास्थ्यकर्मीले लापरबाही गरेको मृतक परिवारको गुनासो छ । डाक्टरले बिरामीलाई आइसियुमा राख्न सुझाव दिए पनि इमरजेन्सी कक्षले बेड नभएको बताएको, मेडिसिन वार्डमा राख्नका लागि आग्रह गर्दा पनि बेड नपाएको कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र बिष्टले बताए । बिरामीलाई सकेसम्म प्राइभेट स्वास्थ्यसंस्थामा जान बाध्य बनाउने गरिएको पिडित पक्षको दावी छ ।
“ईसिजी गर्नुपर्छ भनेर १२ बजेको समय दियो तर आज इसिजी गर्ने मान्छे आएन भन्दिए, बिरामी बेडमा छट्पट्टी रहेको छ, बुझ्दा इसिजी गर्ने मान्छे थियो, भर्खर गयो भन्छन् । हे बिडम्बना ! सरकारी अस्पतालको लापरबाही पनि कति ?,” बिष्टले सामाजिक सञ्जालमा लेखेका छन्, “सरकारमा रहेका सम्वन्धित मन्त्री चर्को स्वरमा कुर्लिन्छन्, कोही उपचार नपाएर मर्न पर्दैन तर दिनरात गरिब जनता मरिरहनु परेको छ ।”