Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    माखिपा पार्कमा कुकुरको प्रतिमा !

    माखिपा पार्कमा कुकुरको प्रतिमा !


    • आइतवार, भाद्र ३ २०८०

    • दमन राई


    माखिपा पार्कमा कुकुरको प्रतिमा !
    माक्पाको माखीपा पार्कमा राखिएको माकीपा कुकुरको मुर्ती । तस्बीरः दमन राई

    खोटाङ, ३ भदौ । हिजोआज लाखौं बजेट खर्च गरेर शालिक बनाउने होड चलेको छ । समाजलाई विशिष्ट योगदान दिएका व्यक्तिको शालिक बनाएर राख्नु त स्वभाविक नै हो तर पशुपन्छीसम्मको प्रतिमा बनाएर चोकचोकमा राखेको देखिन्छ ।

    खोटाङको ऐसेलुखर्क गाउँपालिका–७ माक्पामा कुकुरको शालिक बनाएर राखिएको छ । तर माक्पामा कुकुरको शालिक स्थापना गर्नुको सन्दर्भ भने फरक छ । माक्पामा बसोबास गरिरहेका दुमी राईको इतिहाससँग जोडिएको ‘माकी/माखी’ नामको कुकुरको प्रतिमा राखिएको हो ।

    साविकको माक्पा–३ दुम्नीडाँडा (पुर्खाडाँडा)मा ‘माखीपा पार्क’ निर्माण गरेर माकी कुकुरको प्रतिमा राखिएको हो । माखिपाकै साहरामा दुर्मी राईका पुर्खा दाजुभाई गान्पा र रतेपाले माक्पा पत्ता लगाएर बस्ती बसाएका कारण ‘माकी’को समाधिस्थल रहेको दुम्नीडाँडामा ‘माखीपा पार्क’ निर्माण गरिएको हो । माकीपाको मुर्ती तीन लाख ८० हजारमा तयार पारिएको हो ।

    माकीपाले पत्ता लगाएका कारण ‘माकी÷माकीपा’बाट अपभ्रंश भएर ठाउँको नाम नै माक्पा रहन गएको इतिहास छ । दुम्नीडाँडामा हाल माकीपाको चिहानको भग्नावशेष मात्र बाँकी छ । बहुमुल्य वस्तु राखिएको आशंकामा अज्ञात व्यक्तिले माकीपाको चिहान खोतलेर भग्नावशेष बनाएका हुन् ।

    दुमी राई र माखिपाको इतिहासलाई जोगाउँदै पर्यटन प्रवद्र्धनका लागि ऐसेलुखर्क गाउँपालिकाले डिपिआर तयार पारेर आर्थिक वर्ष २०७४/०७५ देखि माखीपा पर्यटन क्षेत्रको विकासको काम सुरु गरेको हो ।

    हालसम्म करिब ५० लाख खर्च हुँदा माखिपा पार्कमा माखिपाको प्रतिमा, गान्पा र रतेपाको अर्धकदको शालिक, स्वीमिङ पुल, सती चिहान लगायतका संरचना तयार पारिसकिएको छ ।

    यस्तै, दुमकिम (भेला भएर बस्ने ठाउँ) भवन र शिव मन्दीर बनिरहेको माक्पाका वडाध्यक्ष अरुण राईले बताए । माक्पाकै चंखेखोलामा रहेको सपनेश्वर महादेवस्थानसँग जोडेर पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ माखिपा पार्क निर्माण गरिएको हो ।

    makipa park_ganpa & ratepa.jpg

    माक्पाको माखीपा पार्कमा राखिएको दुमी पुर्खा गान्पा र रतेपाको शालिक । 

    माखिपा पर्यटन क्षेत्रको विकास अन्तरगत सुम्नीमा पारुहाङ, एलम्बरको मुर्ती, स्तुपा लगायतका संरचना बनाउने योजना छ । माखिपा पर्यटन क्षेत्रको विकासका लागि आर्थिक वर्ष २०७९/८० मा १७ लाख विनियोजन गरिएको थियो ।

    यसरी पुगे माक्पामा दुमी पुर्खा माक्पाको दुमी इतिहास बारे स्नातकोत्तर तहमा शोधपत्र तयार गरेका कीर्तिकुमार राईका अनुसार गान्पा र रतेपा दाजुभाई केपिलासगढी गाउँपालिकाको सिमपानीमा बस्थे । उनीहरु सिकार खेल्दै जीवन निर्वाह गर्थे । उनीहरुले माखी नामको कुकुर पालेका थिए ।

    गान्पा र रतेपाले तिनै कुकुरको सहयोगमा शिकार गर्थे । एक दिन शिकार खेल्न गएको माखी शरीरभरी भेडेकुरो टाँसिएको अवस्थामा फर्कियो । कुकुरको शरीरमा टाँसिएको भेडेकुरो देखेर गान्पाले ‘माखी पुगेको ठाउँ मलिलो हुनुपर्छ’ भनेर त्यही गएर बस्ने निधो गरे र रतेपालाई जानकारी नदिइ कुकुरलाई अघि लगाएर पछ्याउँदै हिँडे ।

    चिन्ह स्वरुव केरा र बोहोरीको बोट काट्दै रावा खोला तरेर कुकुरसँग हालको माक्पा पुगेर बस्न थाले, (इसिलिम २०७४, अंक १७) । यता सिमपानीमै छोडिएका रतेपाले गान्पाको खोजी सुरु गरे ।

    नजिकै गोहो भेटेपछि गोहो पहिल्याउँदै रतेपा पनि गान्पा भएको ठाउँमा पुगेको ७८ वर्षीय वृद्ध जसबहादुर राई बताउँछन् । माक्पामा बसोबास सुरु भएपछि माखि कुकुरले नै हम्बकुमा पानीको मुहान पत्ता लगाएको इतिहास छ ।

    स्थानीय सन्तकुमार दुमीका अनुसार रतेपा कुकुर लिएर शिकार खेल्न पहिलोपल्ट माक्पा पुगेका थिए । कुकुरको शरीरमा भेडेकुरो टाँसिएको देखेपछि रतेपाले उव्जाउ थलो ठानेर त्यही बस्ने निधो गरेका थिए । वृद्ध जसबहादुरका अनुसार उनीहरुका पुर्खा भारतको सिङमाङगढीबाट बराहक्षेत्र हुँदै आइपुगेका हुन् ।

    हाल माक्पामा बसोबास गरिरहेका दुमी राई उनै गान्पा र रतेपाको सन्तान हुन् । गान्पा र रतेपा दाजुभाईले नै माक्पामा भुमे निकाल्नुका साथै साकेला नाच्ने ठाउँ स्थापना गरेका थिए ।

    सम्बन्धित समाचार