Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    साउन बित्दा खोटाङमा ९० प्रतिशत रोपाई सकियो

    साउन बित्दा खोटाङमा ९० प्रतिशत रोपाई सकियो


    • शनिवार, भाद्र २ २०८०

    • नेपाल वाइड


    साउन बित्दा खोटाङमा ९० प्रतिशत रोपाई सकियो
    खोटाङको हौंचुरमा रोपाई गर्दै किसान । तस्बीरः चिरञ्जिवी कार्कीको फेसबुक

    खोटाङ, २ भदौ । लम्पी स्किन रोगको महामारी र वर्षा कम भएका कारण खोटाङमा अघिल्लो वर्षको तुलनामा रोपाईमा ढिलाई भएको छ । अघिल्लो वर्ष साउन मसान्तसम्ममा सतप्रतिशत रोपाई भएको जिल्लामा चालु आर्थिक वर्ष ९० प्रतिशत रोपाई सकिएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ ।

    लम्पी स्किन रोगको कारण गाईगोरु मरेको, छिमेकीको गोरुले पालोपालो खेत जोत्नु परेको तथा बेलामा पर्याप्त वर्षा नहुँदा धानको व्याड हुर्केर बुढो भएकाले रोपाई ढिलो भएको कृषि ज्ञान केन्द्र खोटाङका सूचना अधिकारी एबं कृषि प्रशार अधिकृत सञ्जयकुमार पण्डितले बताए ।

    खोटाङमा रोपाई हुँदैआएको १२ हजार ८९८ हेक्टरमध्ये साउन ३२ गतेसम्ममा ११ हजार ६०८.२ हेक्टरमा मात्र रोपाई भएको छ । यन्त्रीकरणमा सबै किसानको पहुँच नपुग्नु लगायतका कारण अपेक्षित मात्रामा रोपाई हुन नसकेको हो ।

    हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकामा सत प्रतिशत रोपाई सकिएको छ । रावाबेँसी गाउँपालिकामा सबैभन्दा कम ५० प्रतिशत रोपाई भएको छ ।

    चैते धान र मकै काटेपछि रोपाई गर्नुपर्ने भएकाले रावाबेँसीमा भदौ १५ गतेदेखि २० गतेसम्म रोपाई हुने कृषि ज्ञान केन्द्रले जनाएको छ । हालसम्म केपिलासगढी गाउँपालिकामा ९५ प्रतिशत र ऐसेलुखर्क गाउँपालिकामा ९० प्रतिशत रोपाई सकिएको छ ।

    ऐसेलुखर्क र केपिलासगढी गाउँपालिकामा बेर्ना हुर्केर गएकाले यस वर्षका लागि रोपाई लगभग टुंगिएको छ । साउन मसान्तसम्ममा दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ९८ प्रतिशत, साकेला गाउँपालिकामा ९५ प्रतिशत, खोटेहाङ गाउँपालिकामा ९५ प्रतिशत, जन्तेढुंगा गाउँपालिकामा ८९ प्रतिशत र बराहपोखरी गाउँपालिकामा ८८ प्रतिशत रोपाई सकिएको छ ।

    सम्बन्धित समाचार