Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    काम गरेको पैसा पाउनबाट बञ्चित छन् मजदुर, पारिश्रमिक दिन ठेकेदारलाई अल्टिमेटम

    काम गरेको पैसा पाउनबाट बञ्चित छन् मजदुर, पारिश्रमिक दिन ठेकेदारलाई अल्टिमेटम


    • बिहिवार, श्रावण ३२ २०८०

    • नेपाल वाइड


    काम गरेको पैसा पाउनबाट बञ्चित छन् मजदुर, पारिश्रमिक दिन ठेकेदारलाई अल्टिमेटम
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय

    खोटाङ, ३२ साउन । खोटाङमा सडक, पुल, भवन लगायतका संरचना निर्माणमका क्रममा श्रम गर्ने मजदुर ठेकेदारबाट ठगिइरहेका छन् । एकदुई पैसाका लागि दुःख गरिरहेका मजदुरहरु वर्षौंसम्म पारिश्रमिक पाउनबाट बञ्चित छन् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भने मजदुरलाई मारेर नाफा कमाउने ठेकेदारलाई तत्काल भुक्तानी दिन हप्ता दिनको अल्टिमेटम दिएको छ ।

    नगरपालिकाले दिक्तेलस्थित अस्पतालचोक–लफ्याङ–दुबे चौतारा–खरबारी सडक स्तरोन्नतीका क्रममा पसिना बगाएका श्रमिकलाई हप्ता दिनभित्र पारिश्रमिक भुक्तानी दिन ढुकुचु/बगाले थापा/विएनटि जेभीलाई अल्टिमेटम दिएको हो ।

    सडक स्तरोन्नीका क्रममा पसिना बगाएका कामदारले पारिश्रमिक नपाएको भन्दै मौखिक तथा लिखित उजुरी परेको आधारमा ठेकेदारलाई तत्काल हिसाव भुक्तानी दिन बिहिबार पत्राचार गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।

    ठेकेदारले कामदारको पारिश्रमिक बाहेक होटलमा खाएको खाना, खाजा तथा खाद्यान्न पसलबाट लगेको सामग्रीको भुक्तानी समेत नदिएको भन्दै व्यवसायीबाट नगरपालिकामा उजुरी परेको छ ।

    मजदुर तथा व्यवसायीको बक्यौता भुक्तानीका लागि फोन गर्दा ढुकुचु/बगाले थापा/विएनटि जेभीका गणेश भण्डारी, कुमार भण्डारी, मोहन श्रेष्ठ र सम्पर्क व्यक्ति सञ्जिव गुरुङले फोन नउठाउने र सम्पर्कमा आउन नमानेकाले अल्टिमेटम दिनुपरेको मेयर भट्टराईले बताए ।

    jjj.jpg

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ठेकेदारलाई तत्काल भुक्तानी दिन हप्ता दिनको अल्टिमेटम सहितको पत्र ।

    “आजको मितिले सात दिनभित्र सम्पर्कमा आइ मजदुर र अन्यलाई भुक्तानी गरी आफ्नो जिम्मेवारी एवं कर्तव्य पुरा गर्नुहोला,” पत्रमा भनिएको छ, “अन्यथा कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाई सम्बन्धित निकायमा पक्राउ गर्न अनुरोध गरिने जानकारी गराईन्छ ।”

    जिल्लाको सेखुवा–चखेवाभञ्ज्याङ सडक, महुरे–फोक्सिङटार सडक, पंखु खोला पुल निर्माण लगायतका ठूला आयोजनाको काममा पसिना बगाएका कामदारले समेत वर्षौँसम्म पारिश्रमिक पाउन सकेका छैनन् ।

    अन्य स–साना ठेक्का तथा निर्माण सम्वन्धी योजनाको काममा पसिना बगाएका कामदारहरु ठेकेदारबाट ठगिइरहेका छन् । तर ठगिएका मजदुरको पक्षमा आवाज उठाउने कोही नभएको बाहुनीडाँडा बेत्ताका हरिकुमार राईले गुनासो गरे । स्वयं मजदुरको हकहितको नारा लाउँदै खुलेका संगठनहरु समेत बेखबर छन् ।

    सडक स्तरोन्नतीको काम अलपत्र

    ढुकुचु/बगाले थापा/विएनटि जेभीले दिक्तेलस्थित अस्पतालचोक–लफ्याङ सडक स्तरोन्नतीको काम अलपत्र पारेको छ । २०७८ पुस २० गतेभित्रमा सम्पन्न गर्नेगरी २०७८ जेठ २० गते सडक स्तरोन्नतीको ठेक्का सम्झौता गरेको ठेकेदार काम अलपत्र छाडेर सम्पर्कबिहिन छन् । पछिल्लो पल्ट थप भएको म्याद आगामी असोज मसान्तमा सकिँदैछ तर ठेकेदारको अत्तापत्तो नभएको मेयर भट्टराईले बताए ।

    सडक स्तरोन्नतीको अलपत्र काम तत्काल सुचारु गर्नका लागि नगरपालिकाले २०७९ साउन २६ गते पनि निर्माण कम्पनीलाई पत्राचार गरेको थियो । तर ठेकेदारले टेरपुच्छर लगाएको छैन ।

    स्तरोन्नतीको काम अलपत्र पर्दा हाल सो सडक हिलाम्मे बनेको छ । हिलाम्मे बनेको सडकमा जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अन्य पैदलयात्रीको आवत–जावतदेखि एम्बूलेन्स सञ्चालनमा कठिनाइ भइरहेको नगरपालिकाले जनाएको छ ।

    सम्बन्धित समाचार