मंगलवार, श्रावण ३० २०८०
नेपाल वाइड
खोटाङ, ३० साउन । वर्षा सुरु भएसँगै सिन्धुलीको फिक्कल गाउँपालिका–६ रत्नावतीस्थित सोखु खोलामा सास्ती सुरु भएको छ । मध्य पहाडी राजमार्गको खुर्कोट–घुर्मी सडक खण्डमा पर्ने खोलामा पुल निर्माणको काम अलपत्र हुँदा काठमाडौंबाट खोटाङ, ओखलढुंगा, सोलुखुम्बु र भोजपुर यात्रा गर्ने यात्रुले सास्ती खेपिरहेका छन् ।
खोलामा भलबाढी आउन थालेपछि खोलाको दुई किनारमा सवारी साधन छेकिने गरेको छ । सवारी साधन छेकिएपछि यात्रु दिनभर खोला किनारमा अलपत्र पर्ने गरेका छन् ।
पप्पु नेपाल प्रगति जेभिसँगको पहिलो ठेक्का तोडिएपछि आत्रेय निर्माण सेवाले ठेक्का लिएको १० वर्ष बित्दा समेत पुल निर्माणको अलपत्र पारेपछि सोखु खोलाले हरेक वर्षा याममा यात्रुलाई सास्ती दिने गरेको छ ।
बाढीमा जबरजस्ती तार्न खोज्दा कतिपयको गाडी खोलाले बगाउने गरेको छ । साउन २८ गते जीप चढेर काठमाठौं जानेक्रममा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सोखु खोलाको बाढीले थुनेको दिक्तेलका यात्रु भोजराज श्रेष्ठले बताए ।
सोही दिन काठ्माडौं जाने क्रममा खोटाङका संविधानसभा सदस्य दुर्गाजयन्ती राई लगायतका यात्रु सोखु खोला किनारमा ६ घण्टा अलपत्र परे । सुरुमा खोलामा ठूलो बाढी आएको थियो ।
केही गर्न सक्ने अवस्था थिएन । झण्डै चार घण्टापछि खोलाको बाढी केही घट्यो । प्रहरीहरु आइपुगे, स्काभेटर प्रयोग गरेर खोलालाई फराकिलो बनाइएपछि गाडीहरु वारपार गराइएको संविधासभा सदस्य राईले बताईन् ।
“हामी त्यही छँदै एउटा सुमो खोलाबीचमा फस्यो, त्यसलाई स्काभेटरले निकाल्यो । हामी हिँडेपछि एउटा गाडी बगायो भन्ने खबर सुन्यौँ,” संविधानसभा सदस्य राईले भनिन्, “यो सबै समस्या निर्माण व्यवसायीको लापरबाहीले भएको हो ।”
बाढीमा बाईक तार्ने मालामाल सोखु खोलामा बाढी आउँदा केही स्थानीयलाई मालामाल हुने गरेको छ । उनीहरुले प्रतिवटा पाँच सयदेखि हजार शुल्क लिएर नलमा बोकेर बाईक तार्ने गरेका छन् । शुल्क लिएर ट्याक्टरले तानेर जीपलाई समेत खोला पार गराउने गरेका छन् । खोलामा बाढी आएको दिन उनीहरुलाई भ्याइनभ्याइ हुनेगरेको छ ।

सोखु खोलामा पुल निर्माणको काम सम्पन्न नहुँदा केहीलाई कमाई खाने भाँडो भएको नेकपा एमाले खोटाङका उपाध्यक्ष देबबिक्रम राई बताउँछन् ।
“कति दिन त गाडी, बाइक र यात्रुहरु वारिको वारि र पारिको पारी नै रहन्छन् । बिगत १२ वर्षदेखि प्रत्येक वर्ष दोहोरिइरहने कथा हो यो । तर ठेकेदारको लापरबाहीले पुल बन्ने सुरसार छैन,” साउन २९ गते काठ्माडौं गएका उपाध्यक्ष राईले भने,
“यसरी जनताको जीउधनसँग खेलबाड गर्ने अनि राज्यअपराध गर्ने ठेकेदारलाई खै राज्यले कारबाही गरेको ? कारबाही गर्न पर्दैन ?” खुर्कोट–घुर्मी सडक खण्डकै गोलन्जोर गाउँपालिका–६ हैबारमा रहेको अक्करेभिरले पनि काठ्माडौं ओहोर दोहोर गर्नेक्रममा चार जिल्लाका यात्रुलाई दुःख दिने गरेको छ । अक्करेभिरले वर्षामा मात्र नभएर हिउँदमा समेत सास्ती दिइरहेको छ ।