मंगलवार, श्रावण ३० २०८०
नेपाल वाइड
खोटाङ, ३० साउन । साहित्यिक पत्रकार संघले खोटाङका साहित्यकार तथा पत्रकार श्रीराम राईलाई सम्मान गरेको छ । नेपाली बाङमयको श्रीबृद्धिमा साहित्यिक पत्रकारिताको माध्यमबाट बिशेष योगदान दिएकामा साहित्यिक पत्रकार संघले राईलाई आफ्नो स्वर्ण महोत्सव समापनको अवसरमा सोमबार सम्मान गरेको हो ।
हाल काठ्माडौं बसेर पत्रकारिता र साहित्यमा कलम चलाइरहेका राईलाई साहित्यिक पत्रकार संघले प्रशंसा–पत्र सहित सम्मान गरेको हो । कार्यक्रममा राई सहित १९ साहित्यिक पत्रकार सम्मानित भएका छन् ।
दश वर्षे शिक्षण पेशा छाडेर २०७२ सालमा काठ्माण्डौं छिरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका श्रीराम नेपाली साहित्य लेखन र पत्रकारितामा क्रियासिल छन् ।
बिशेषगरी बालकथामा दख्खल राख्ने राई लघुकथा, हाईकु, मुक्तक, गजल र कवितामा पनि उत्तिकै स्थापित पात्र हुन् । उनका बाल कथा संग्रह ‘पोलेको मकै’ २०७८ र ‘टोली नेता’ २०७४ प्रकाशित छन् ।
संयुक्त लघुकथा संग्रह ‘आजका लघुकथा’ २०७४ मा पाँच वटा र ‘संयोग’ २०७९ मा उनका तीन वटा लघुकथा समावेश छन् । रावासावा प्राज्ञिक समाज नेपालका सचिव रहेका श्रीराम लघुकथा समाज नेपाल शाखा खोटाङको पहिलो अध्यक्ष पनि हुन् ।
केही समयपछि सामुहिक गीत संग्रह ‘माधुर्य’ र इलाखिम (चाम्लिङ नेपाली शब्दकोष) प्रकाशनको तयारी भइरहेका राईले बताए । साहित्यिक पत्रकार संघले १३ विशिष्ट साधकलाई अभिनन्दन र साहित्यका विभिन्न विधामा योगदान गर्ने श्रष्टालाई अभिनन्दन गरेको छ ।
सापस स्वर्ण महोत्सव सम्मानबाट मोहन सिटौला (अमेरिका), घनश्याम राजकर्णिकार, केके कर्माचार्य, गणेश रसिक, नरबहादुर दाहाल (भारत), डा. सुरेन्द्र केसी, द्वारिका श्रेष्ठ, रमा शर्मा, मायाँ ठकुरी, हिरण्यकुमारी पाठक, प्रदीप बमजन, एसपी कोइराला र डा. डीआर उपाध्याय अभिनन्दित भएका छन् ।
सोही कार्यक्रममा सर्जक गणेश रसिकलाई नेपाल–भारत साहित्य महोत्सवमा प्रदान गरिएको सम्मान–पत्र प्रदान गरिएको साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले बताए ।
यस्तै, सापस स्वर्ण महोत्सव सम्मानबाट संघका पूर्व अध्यक्ष नगेन्द्रराज शर्मा, अच्युतरमण अधिकारी, विश्वविमोहन श्रेष्ठ, हेमन्त श्रेष्ठ र नरेन्द्रबहादुर श्रेष्ठलाई अभिनन्दन गरिएको छ । पूर्व अध्यक्ष शर्मालाई नगद १० हजारसहित साहित्यिक पत्रकारिता पुरस्कार २०६३ पनि प्रदान गरिएको छ ।

सापस स्वर्ण महोत्सव समालोचना विशिष्ट सम्मान वरिष्ठ समालोचक प्रमोद प्रधान र समालोचक गीता त्रिपाठीलाई प्रदान गरिएको छ । सापस स्वर्ण महोत्सव समीक्षा सम्मानबाट वरिष्ठ समिक्षक ज्ञानु अधिकारी र समीक्षक छविरमण सिलवाललाई सम्मान गरिएको छ ।
व्यथित काव्य सम्मान उदय निरौला (२०७४), श्रवण मुकारुङ (२०७५), रमेश श्रेष्ठ (२०७६), कृसु क्षेत्री (२०७७), मोमिला जोशी (२०७८) र गीता कार्की (२०७९)लाई प्रदान गरिएको छ ।
यस्तै, हेमन्त श्रेष्ठ (अमेरिका), गोवर्धन पूजा (अमेरिका), भीमसेन सापकोटा (अस्ट्रेलिया), प्रकाश पौडेल माइला (जापान), जगत नवोदित (बेलायत) र शकुन ज्ञवाली (अमेरिका)लाई व्यथित काव्य डायसपोरा सम्मान प्रदान गरिएको संघले जनाएको छ ।
२०२९ सालमा स्थापित साहित्यिक पत्रकार संघले विगत एक वर्षदेखि स्वर्ण महोत्सवको अवसर पारेर विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ ।