सोमवार, श्रावण २९ २०८०
नेपाल वाइड
खोटाङ, २९ साउन । खोटाङमा स्क्रब टाइफसको कारण बालिकाको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा बेताकी नौ वर्षीय बालिकाको स्क्रब टाइफसको संक्रमणको कारण मृत्यु भएको हो ।
सिकिस्त भएपछि २७ गते धुलीखेल अस्पताल लगिएकी बालिकाको उपचारकै क्रममा साउन २८ गते मृत्यु भएको हलेसी तुवाचुङ नगरपालिकाका स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले बताए ।
आफन्तका अनुसार सामुदायीक मिसन अस्पताल ओखलढुंगाले डेंगुको आशंक गरे पनि धुलीखेल अस्पतालमा स्क्रब टाइफसको संक्रमण भएको बताइएको थियो ।
उपचारमा ढिलाइ हुँदा बालिकाको जीवन बचाउन नसकिएको घिमिरेले बताए । साउन १८ गतेदेखि ज्वरोले बिरामी भएकी बालिकालाई स्थानीय स्वास्थ्यचौकी लगिएको थियो ।
केही निको हुने र फेरी बल्झिने समस्या देखिएपछि बालिकालाई घुर्मीहुँदै मिसन अस्पताल पुर्याइएको थियो । निको नभएपछि मिसन अस्पतालले बालिकालाई अन्यत्र रेफर गरेको थियो ।
बालिका स्थानीय पञ्चावती प्राविमा अध्ययनरत थिईन् । बालिकालाई झिंगाले आँखामा टोकेको निहुबाट ज्वरो सुरु भएको सुनेको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए ।