सोमवार, श्रावण २९ २०८०
नेपाल वाइड
खोटाङ, २८ साउन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले तेल पेल्ने कोलको प्रतिकलाई मायाँको चिनोका रुपमा प्रयोग गर्ने प्रस्तावको तयारी गरेको छ ।
नगरपालिकाले विभिन्न अतिथिलाई चिनो स्वरुप प्रदान गर्नका लागि काठबाट बनेको तेल पेल्ने कोलको प्रतिकलाई प्रयोग गर्ने योजना अघि सारेको हो ।
दिक्तेलको ऐतिहासिक पृष्ठभूमीको आधारमा तेल पेल्ने कोलको प्रतिकलाई मायाँको चिनोका रुपमा प्रयोग गर्न प्रस्तावको तयारी गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।
‘दिकु’ नाम गरेका चाम्लिङ राईको पुर्खाले कोलेबारीमा तेल पेलेर निकालेको इतिहासलाई जोडेर नगरपालिकाले तेल पेल्ने कोलको प्रतिकलाई मायाँको चिनोका रुपमा प्रयोग ल्याउने योजना बनाएको हो । दिकुको पेल पेल्ने ठाउँका रुपमा प्रसिद्धि पाएपछि कालान्तरमा ठाउँको नाम नै दिक्तेल रहन पुगेको इतिहास छ ।
अर्कातर्फ ‘दिबु’ अर्थात पुर्खा र ‘देल’ अर्थात बसोबास गर्ने ठाउँ भन्ने अर्थमा पनि दिक्तेलको नामाकरण हुन पुगेको कतिपयको भनाई छ । दिक्तेलको ऐतिहाससँग जोडिएका कारण तेल पेल्ने कोलको प्रतिकलाई मायाँको चिनोका रुपमा प्रयोगमा ल्याउन वहस छेडिएको मेयर भट्टराईले बताए ।
‘तेल पेल्ने कोलको प्रतिकलाई मायाँको चिनोका रुपमा प्रयोगमा ल्याउने विषयमा संस्थागत छलफल भएको छैन । तर नगरमा आउने पाहुनालाई के उपहार दिने ? विशिष्ट पहिचान दिने केही त बनाउनै पर्यो,’ मेयर भट्टराईले भने, ‘नगरको विशेष चिनोका रुपमा तेल पेल्ने कोलको प्रतिकलाई प्रयोगमा ल्याउँदा उपयुक्त होला ? नहोला भन्ने विषयलाई छलफलमा जाने योजना बनाएको छु ।’ हालसम्म नगरपालिकाले अतिथिलाई नगरभित्रका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको फोटोलाई फ्रेममा हालेर मायाँको चिनोको रुपमा प्रदान गर्दैआएको छ ।