खोटाङ, २७ साउन । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका स्थानीयले अवैध रुपमा निकासी भइरहेको खयरको काठ नियन्त्रणमा लिएका छन् । स्थानीय उपभोक्ताले साविकको बडहरे–४ स्थित खोक्सेली सामुदायीक वनबाट चोरी निकासी हुँदैगरेको दुई ट्याक्टर खयरका काठ नियन्त्रणमा लिएका हुन् ।
जेठ २४ गते राती नियन्त्रणमा लिइएको खयरका काठ स्थानीय गरिबी निवारण संस्थाको भवन अगाडि राखिएको छ । प्रकृया पुरा नगरी तथा डिभिवन वन कार्यालयको कटान आदेश बिनै सामुदायीक वनबाट खयरका काठ निकासी भइरहेको अवस्थामा उपभोक्ताले नियन्त्रणमा लिएका हुन् ।
राती आठ बजेतिर खानेपानीको पाईप जोड्न गएको बेला स्थानीय कुन्तादेबी आमा समुहका अध्यक्ष पवित्रा दाहाल, लोकमायाँ दाहाल, सुमित्रा दाहाल र दिलकुमारी भुजेलले काठ निकासी हुँदैगरेको फेला परेपछि स्थानीयलाई खबर गरेका थिए ।
खयरका काठलाई त्रिपालले ढाकेर घोपाटारबाट बडहरे निस्कने सडकमार्फत निकासी गर्नेक्रममा नियन्त्रणमा लिइएको हो । ट्याक्टरलाई रोकेर सोधपुछ सुरु गरेपछि ‘अप्ठ्यारो पर्ने’ त्रासमा चालक काठ छाडेर हिँडेको खोक्सेली सामुदायीक वन समुहका अध्यक्ष घनश्याम दाहाल बताउँछन् ।
थाहै नदिइ सामुदायीक वनको खयर कटान भइरहेको हल्ला सुनेका स्थानीयले ‘यकिन’ गर्नका लागि काठ रोकेका थिए । यद्यपी, नियन्त्रणमा लिइएको काठको थुप्रोमा सामुदायीक वनको मात्र नभएर निजी जग्गाको काठ पनि मिसिएको स्थानीय रुद्रबहादुर बस्नेतले बताए । “पानी लिन नगाको भए हामीले पनि देख्ने थिएनौं ।
पालले चुली छोपेर ल्याएको देखेपछि के ल्याको भनेर सोध्दा काठ ल्याको भने,” कुन्तादेबी आमा समुहका अध्यक्ष दाहाल भन्छिन्, “हाम्रो जंगल फाँडेको छ भन्थे । हो–होईन, बुझौं है त भनेर बुझ्यौँ । हाम्रो जंगलको रछ भने राख्छौँ, निजी पाखाको रछ भने भोली बिहान लैजानु भनेपछि ड्राईभरहरु काठ खन्याइदिएर हिँड्नुभएको हो ।” स्थानीयले रोकेपछि ठेकेदार अनिल राईले फोनमार्फत ट्याक्टर चालकलाई काठ ‘त्यही छाड्न’ भनेका थिए ।
खोक्सेली सामुदायीक वनबाट बिना आदेश खयरका रुख कटान भएको प्रारम्भिक जानकारी आएको सव–डिभिजन वन कार्यालय हलेसीका प्रमुख रामसागर मण्डलले बताए ।
“कसैले सामुदायीक वनको भनिरहेको छ, कसैले निजीको काठ भनिरहेका छन्,” मण्डलले भने, “कति सामुदायीक वनको कति पर्छ, निजीको कति पर्छ, अथवा पर्दैन, यकिन गर्न बाँकी छ । छलफलबाट टुंगिएन भने अमिन लैजान्छौँ ।” सामुदायीक वनको खयर कटान भए÷नभएको यकिन गर्न उपभोक्ता समुहको टोलीले साउन २५ गते वन निरिक्षण गरेका थिए ।
अनुगमन गर्दा ५० देखि ६० बोट खयर कटान भएको ठुटो भेटिएको सामुदायीक वन समुहले जनाएको छ । खोक्सेली सामुदायीक वनको चमेरे पाखा, कात्तिके खोला, चनौटे लगायतका क्षेत्रको खयर काटिएको हो ।
स्थानीय काठ संकलकले घोपाटार आसपासका निजी जग्गाको खयर काट्नेक्रममा सामुदायीक वनको पनि काटेको समुहले जनाएको छ । कतिपयले साविकको बडहरे–४ स्थित हरियाली सामुदायीक वनको खयर पनि कटान भएको दावी गरेका छन् ।
स्थानीय हात्तीवन सामुदायीक वनको खयर काटे/नकाटेको विषयमा साउन २७ गते उपभोक्ता अनुगमनमा गएका छन् । सामुदायीक वनको खयर कटानमा वडाको कुनै हात नरहेको बडहरेका वडाध्यक्ष किशोर बस्नेतले बताए ।
डिकुवामा ऐलानी जग्गाको खयर काटिएको दावी
यस्तै, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा ऐलानी जग्गाको खयर कटान भएको केही स्थानीयले दावी गरेका छन् । निजी जग्गाको कटान आदेश लिएर ऐलानी जग्गाको खयर समेत उठाएको दावी गरेका हुन् ।
यस्तै, बाइटारका केशरबहादुर मगरको जग्गाको खयर कटान गर्ने आदेश लिएर बलुइका कुमारसिं राईको कटान गरिएको गुनासो आएको डिकुवाका वडाध्यक्ष देबेन्द्र राईले बताए । राईको नम्बरी जग्गाबाट नभै ऐलानी जग्गाबाट काठ निकासी गरिएको गुनासो छ ।
डिकुवाबाट एक हजार ४५७ क्यूबिक फिट काठ निकासीका लागि कटान आदेश दिइएको सव–डिभिजन वन कार्यालय हलेसीले जनाएको छ । डिकुवामा कटान गरिएको काठ बोझेओढारमा घाटगड्डी गरिएको छ । ऐलानी जग्गाको खयर कटान भएको विषयमा प्रहरीचौकी च्यास्मीटारदेखि डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय र प्रशासनलाई गुनासो सुनाईएको वडाध्यक्ष राईले बताए ।
डिकुवामा अर्जुन बस्नेतमार्फत खयर कटान गरिएको हो । जिल्लाको धितुङ, दुर्छिम, च्यास्मीटार, डिकुवा, बाहुनीडाँडा, बडहरे, मंगलटार लगायतका दुधकोसी र सुनकोसी किनारका जंगलबाट हरेक वर्ष खयरका काठ चोरी निकासी हुने गरेको छ ।