शनिवार, श्रावण २७ २०८०
नेपाल वाइड
खोटाङ, २७ साउन । खोटाङको साकेला गाउँपालिकाले करारका सबै कर्मचारीको करार अवधि नवीकरण गरेको छ । अधिकांश स्थानीय तहले करारका कर्मचारीको करार अवधि थप नगर्ने र आफु अनुकुलका कर्मचारी भर्ती गरिरहेकामा साकेला गाउँपालिकाले भने करारका सबै ५४ कर्मचारीको करार अवधी नवीकरण गर्ने निर्णय गरेको हो ।
साउन १ गतेदेखि लागु हुनेगरी करारका सबै कर्मचारीको छ देखि एक वर्षसम्मको करार अवधि नवीकरण गरिएको गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले बताए ।
गाउँपालिकाले स्वास्थ्यतर्फका २४ जना, पूर्ण सरसफाई परियोजनामा कार्यरत छ जना, सूचना प्रविधि अधिकृत एक जना, असिष्टेण्ट सव–इन्जिनियर दुई जना, कृषि प्राविधिक दुई जना, भेटेनरीका एक जना, बहुक्षेत्रीय पोषण कार्यक्रमका एक जना करार कर्मचारीको करार अवधि नवीकरण गरेको हो ।
यस्तै, प्रधानमन्त्री रोजगार कार्यक्रमका एक जना, पञ्जीकरण शाखाका दुई जना, गरीवसँग विश्वेश्वर कार्यक्रमका एक जना, उद्यम विकास कार्यक्रम अन्तर्गतका एक जना, ब्याकहोलोडर चालक एक जना, एम्वुलेन्स चालक एक जना र कार्यालय सहयोगी १० जनाको करार अवधि नवीकरण गरिएको गाउँपालिकाले जनाएको छ ।
हाल कार्यरत करारका कर्मचारी हटाएर नयाँ नियुक्ति गर्दा केही समय जनताको काम प्रभावित हुनुका साथै नयाँलाई काम सिक्न र पुरानो कर्मचारी बराबर सक्षम बनाउन समय लाग्ने भएकाले पुरानै कर्मचारीलाई निरन्तरता दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।
गाउँपालिकाले गत वर्ष पनि करारमा कार्यरत सबै कर्मचारीहरुको अवधि नवीकरण गरेको थियो । “उहाँहरु आफ्नो योग्यता, दक्षता र क्षमता अनुसार नै नियुक्ति हुनु भएको हो ।
पुरानोलाई हटाएर नयाँ नियुक्ति गर्दा राज्यको लाखौं खर्च हुन्छ,” अध्यक्ष राईले भने, “करारका नयाँ कर्मचारी नियुक्तीको नाममा अनावश्यक खर्च नगर्ने निर्णय गरिएको हो ।” धेरैजसो स्थानीय तहमा राजनैतिक आस्थाको आधारमा करारका कर्मचारी नियुक्ती गर्ने र आस्थाकै आधारमा हटाउने गरिएको देखिन्छ ।