Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कृषि

    तरकारी खेतीमा वडाध्यक्ष, सब्जी भारी बोकेर पुग्छन् हाट बजार

    तरकारी खेतीमा वडाध्यक्ष, सब्जी भारी बोकेर पुग्छन् हाट बजार

    आफ्नो मेहनतले उत्पादन गरेको तरकारी बिक्री गर्न गाउँपालिकाको केन्द्र हरमटारदेखि रभुँवा बजारसम्म पुर्‍याउँछन् उनी । 

    • आइतवार, श्रावण २१ २०८०

    • नेपाल वाइड


    तरकारी खेतीमा वडाध्यक्ष, सब्जी भारी बोकेर पुग्छन् हाट बजार
    रावा खोला किनारमा रहेको खेतमा तरकारी गोडमेल गर्दै वडाध्यक्ष डोलराज बस्नेत । तस्बीरः नेपालवाईड डटकम

    खोटाङ, २१ साउन । खोटाङको रावाबेँसी गाउँपालिका–२ खार्पाका वडाध्यक्ष डोलराज बस्नेत साग र तरकारी बोकेर पसल–पसलमा पुर्‍याइरहेका भेटिन्छन् । आफ्नो मेहनतले उत्पादन गरेको तरकारी बिक्री गर्न गाउँपालिकाको केन्द्र हरमटारदेखि रभुँवा बजारसम्म पुर्‍याउँछन् उनी । 

    उनलाई कतिपयले ‘वडाध्यक्ष भएर के तरकारी बोकेर हिँडिराख्या ?’ भन्दै कुरा काट्छन् । तर उनी त्यसको कुनै परवाह गर्दैनन् । “म भाँडा माझ्न पनि तयार हुन्छु ।

    farmer & ward chairman-dolraj (4).jpg

    मलाई काम गर्न कुनै शरम छैन,” वडाध्यक्ष बस्नेत भन्छन्, “मलाई ठूलो हुनुछैन । जस्तो छु, त्यस्तैमा रमाउने मान्छे हुँ ।” व्यवसायीक रुपमा कृषि खेती गर्दैआएका बस्नेत २०७४ सालको स्थानीय तहमा कांग्रेसबाट वडा सदस्य र २०७९ बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

    उनले रावा खोला किनारमा भाडामा लिएको खेतमा बन्दा, गोलभेँडा, ब्रोकाउली, तितेफापर, प्याज, लुसन, आलु, धनियाँ लगायतका तरकारी लगाउँदै आएका छन् ।

    farmer & ward chairman-dolraj (1).jpg

    २०३३ सालदेखि भाडामा लिइएको दिव्यप्रसाद पोखरल र नारायणप्रसाद राइटरको भाडामा लिइएको २० रोपनी खेतमा बस्नेतले सन् २०११ देखि तरकारी खेती सुरु गरेको बताउँछन् ।

    रोजगारीका सिलसिलामा परदेशमा पाँच वर्षभन्दा बढि समय पसिना बगाएका बस्नेतले घर फर्किएपछि आफ्नै गाउँमा बाख्रा पालन र तरकारी खेती सुरु गरेका हुन् ।

    कृषि कर्मबाट बालबच्चाको पढाई खर्च र घर खर्च गरेर वार्षिक एक लाखको हाराहारीमा बचत हुने गरेको बस्नेतले बताए । बिदेशबाट घर फर्किएपछि सुरुमा बाख्रा पालन सुरु गरेका बस्नेतले काउली रोपेर क्रमशः तरकारी खेतीमा हात हालेका हुन् ।

    मलेसिया रहेकोबेला उनले काउलीको तरकारी स्वाद लिएका थिए । घरबाट नुन बोक्न उदयपुरको घुर्मी पुगेकोबेला पनि काउलीको तरकारी चाख्न पाएका थिए ।

    farmer & ward chairman-dolraj (2).jpg

    काम विशेषले दिक्तेल पुगेकोबेला काउलीको पाँच बोट बिरुवा भेटे, किनेर घर लगे । बाँचेका तीन बोटमध्ये एउटै बोटमा अढाई केजीको काउली फलेपछि उनी यसको खेती विस्तार गर्न हौसिएका हुन् ।

    छ वडा रहेको रावाबेँसी गाउँपालिकाभित्र कहलिएका किसान हुन् डोलराज । गाउँपालिकाले आयोजना गरेको कृषि मेला प्रदर्शनीमै उनले उत्कृष्ट किसानका रुपमा पुरस्कार जितिसकेका छन् ।

    बस्नेतले वार्षिक रुपमा काउली सरदर छ सय केजी, गोलभेँडा डेढ सय केजी, प्याज साँढे तीन सय केजी, बन्दा चार सय केजी र लसुन दुई सय केजी फलाउँछन् । 

    तिते फापर वार्षिक १० मुरी फलाउँछन् । बस्नेतले उत्पादित कृषि उपज गाउँपालिकाको केन्द्र हरमटार, रभुँवा बजारमा पुर्‍याउने गरेका छन् । होटल तथा पसलमा फोन सम्पर्क गरेर आवश्यक मात्रामा तरकारी पुर्‍याउने गरेको बस्नेतले बताए ।

    farmer & ward chairman-dolraj (5).jpg

    रावा खोला किनारमा रहेको खेतमा तरकारी गोडमेल गर्दै वडाध्यक्ष डोलराज बस्नेत । तस्बीरहरु: नेपालवाईड डटकम

    सम्बन्धित समाचार