शुक्रवार, श्रावण १९ २०८०
दमन राई
खोटाङ, १९ साउन । खोटाङको बराहपोखरी गाउँपालिका–४ फाक्टाङ भञ्ज्याङखर्ककी सानीमायाँ मगर (परिवर्तित नाम)ले गत असार २९ गते बच्चा जन्माइन् । नवजात शिशुको आगमनले मगर परिवारमा खुसी ल्यायो । तर त्यो खुसी पाँच दिन पनि टिकेन । साउन ४ गते बिहान नवजात शिशुको मृत्यु भयो ।
मगरलाई स्वास्थ्यकर्मीले आगामी असोजमा बच्चा जन्मने ‘डेट’ बताइदिएको थियो । तर समय अगावै व्याथा लागेपछि उनलाई उदयपुरको गाईघाट लैजाने क्रममा खोटाङ र उदयपुरको सिमानामा पर्ने धाप्लाङघाटमा पुगेपछि छोरा जन्मिएको थियो ।
नवजात शिशुको अवस्था सामान्य देखिएपछि सुत्केरी र नवजात शिशुलाई बाटैबाट घर फर्काइएको थियो । गाउँपालिकाको बर्थिङ सेन्टरभन्दा गाईघाट नजिक तथा समय अगावै व्याथा लागेका कारण गर्भवतीलाई गाईघाटतर्फ लगिएको थियो ।
न्वरानको तयारी भएकैबेला नवजात शिशु संसारमै रहेनन् । संयोग कस्तो भयो भने काख रित्तिएकै साँझ मगरकी सासुको पनि मृत्यु भयो । गर्भवतीका आफन्तबाट खबर नपाउँदा नवजात शिशु र सुत्केरीको स्वास्थ्य सुरक्षाका विषयमा केही गर्न नसकिएको बराहपोखरी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक इन्दिरा कार्की बताउँछिन् ।
“सामुदायीक स्वास्थ्य इकाईका अनमीलाई सोध्दा बच्चा असोजमा जन्मिने भएकाले त्यही डेट पर्खेर बस्यौं, बिचमा लगेको थाहै भएन भन्नुहुन्छ । महिला स्वास्थ्य स्वयंसेविका बच्चा नर्मल भएकाले खबर गरिनँ भन्नुहुन्छ,” कार्कीले भनिन्, “बच्चा मरेपछि आमालाई झन् इन्फेक्सन हुने डर हुन्छ । आमाको चाकर हुँदैन । दुध गानिन सक्छ । बच्चा मरे पनि गएर स्वास्थ्य शिक्षा दिनु, चेकजाँच गर्नु भनेको छु । गाउँ घरमा बच्चा मरेपछि सुत्केरीको स्याहार गर्ने चलन हुँदैन ।” कार्कीका अनुसार गाउँपालिकामा सुत्केरी भएपछि चौबिस घण्टा, तीन दिन र सात दिनभित्र सुत्केरी र नवजात शिशुको स्वास्थ्य जाँच घरैमा नर्स पुगेर गर्ने व्यवस्था छ ।
गर्भावस्थामा मगरले एक पल्ट गाउँघर क्लिनिकमा पुगेर गर्भ जाँच गराएकी र दुई डोज लाउनुपर्ने टिडी एकपल्ट मात्र हालेको पाइएपछि नियमित चेक गराउन र खोपको मात्रा पुरा गर्न सुझाव दिइएको स्वास्थ्यकर्मी बताउँछन् ।
यस्तै, बराहपोखरी गाउँपालिका–२ सुन्तले भाटाफोरे मालबासेकी राई थरकी गर्भवतीले असार २८ गते मृत बच्चा जन्माइन् । उदयपुरको गाईघाटमा सामान्य तरिकाले तर मृत बच्चा जन्मिएको हो ।
पेटको बच्चाको धड्कन नसुनिएपछि सुन्तलेस्थित बर्थिङ सेन्टरले सुविधा सम्पन्न अस्पतालमा जान सिफारिस गरेपछि गर्भवतीलाई गाईघाट लगिएको थियो । उनलाई असार २९ गते बच्चा जन्माउने डेट दिइएको थियो ।
डेटमा अगाडि पछाडि हुनसक्ने भन्दै अनमी टिका मगरले असार २५ गते बर्थिङ सेन्टरमा आउन भनेकी थिईन् तर गर्भवती असार २७ गते बर्थिङ सेन्टर पुग्दा बच्चाको धड्कन आउन छाडिसकेको थियो । अनमी मगरका अनुसार असार २५ गते बेलुकादेखि नै बच्चा चल्न छाडेको थियो ।
जीवनको पहिलो सन्तानको पर्खाइमा रहेका दम्पत्तीको खुसी मृत शिशुको जन्मसँगै टुट्यो । “पहिला चेक गर्दा, भिडियो एक्स–रे गर्दा ठीकै थियो । असार २५ गते बोलाएको थिएँ । असार २७ गते आउनु भयो ।
चेकअप गर्दा बच्चाको धड्कन नै थिएन । यहाँबाट गाईघाट नजिक पर्छ, गाईघाट जान सुझाव दिएको थिएँ,” अनमी मगरले भनिन्, “पहिला पनि राम्रो चेकअपका लागि एक पटक बाहिर जानु भनेको थिएँ । फोन गरेर सम्झाएको थिएँ । मान्नु भएन । हुन त गाउँ एकान्त ठाउँ पर्छ । गाडीको सुविधा पनि छैन ।”
मातृशिशु स्वास्थ्यको क्षेत्रमा नेपाल सरकार र स्थानीय सरकारले काम गरिरहेको छ । तर, दुरदराजका कतिपय मातृ शिशुको जीवन अझै जोखिममा छ । बराहपोखरीमा हप्ता दिनको अवधिमा दुई नवजात शिशुको मृत्यु हुनुले राज्यको लक्ष्यमाथि नै चुनौती दिइरहेकोछ ।
खोटाङमा आर्थिक वर्ष २०७९÷०८० मा जन्मेको सात दिनभित्र दुई जना र जन्मेको सात दिनदेखि २८ दिनको बिचमा पाँच जना शिशुको मृत्यु भएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत लक्ष्मण खरेल बताउँछन् ।
“अघिल्लो आर्थिक वर्ष गर्भावस्थामा एक जना र प्रशुती अवस्थामा एक आमाले ज्यान गुमाएको तथ्यांक छ,” खरेलले भने, “नवजात शिशुको हकमा स्वास्थ्य संस्थामा कुनै पनि शिशुको मृत्यु भएको देखिन्न । स्वास्थ्य संस्था बाहिर सात जनाको मृत्यु भएको देखिएको छ ।”