शुक्रवार, श्रावण १९ २०८०
नेपाल वाइड
खोटाङ, १९ साउन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले डेंगु रोकथाम तथा नियन्त्रण अभियान सुरु गरेको छ । साउन लागेसँगै डेंगुका बिरामी देखा पर्न थालेपछि नगरपालिकाले डेंगु सार्ने लामखुट्टेको लार्भा खोजेर नष्ट गर्ने अभियान थालेको हो ।
डेंगु लाग्नबाट बच्न र बचाउने सचेतनाकालागि हरेक १५ दिनमा सञ्चालन गर्नेगरी नगरपालिकाले स्वास्थ्य कार्यालय, रेडक्रस, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीसँगको सहकार्यमा डेंगु रोकथाम तथा नियन्त्रणको लागि लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान सुरु गरेको हो ।
शुक्रबार दिक्तेलबजारमा ¥यालीसहितको टोलीले खुला ठाउँमा राखिएका भाँडाकुँडा, ड्रम, हिलट्यांक, टिनका भाँडा, टायर, गमला, खाल्डाखुल्डी लगायतका ठाउँमा जमेको पानी व्यवस्थापन गर्नुका साथै लामखुट्टेको लार्भा मार्ने स्प्रे गरेको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख खेमराज आचार्यले बताए ।

फोहोर तथा जमेको पानीमा डेंगु सार्ने लामखुट्टेको लार्भा हुर्कने भएकाले खुला ठाउँमा रहेको पानी हटाउने र पानीमा हुर्कदै गरेको लामखुट्टेको अण्डा तथा लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको हो ।
१५ वडा रहेको नगरपालिकामा हालसम्म पाँच जनालाई डेंगु संक्रमण पूष्टि भइसकेको छ । डेंगुको संक्रमण थप फैलिन नदिनका लागि लामखुट्टेको लार्भा रहेको सम्भावित ठाउँमा निरन्तर स्प्रे गरिने स्वास्थ्य शाखा प्रमुख आचार्यले बताए ।
‘अव डेंगु फैलने मौसम आयो । यसबाट बच्ने उपायका बारेमा नागरिकलाई सतर्क गराउन आवश्यक छ,’ आचार्यले भने, ‘डेंगु फैलिन नदिन सम्भावित स्थानमा स्प्रे गर्ने, पानी जम्न नदिने लगायतका अभियान सुरु गरिएको छ ।’ गत वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई सयभन्दा बढीलाई डेंगु संक्रमण भएको थियो । यो सिजनमा खोटाङमा विगतका वर्ष पनि डेंगुका बिरामी भेटिने गरेको थियो ।