बिहिवार, श्रावण १८ २०८०
नेपाल वाइड
खोटाङ, १८ साउन । खोटाङमा गाईगोरुमा देखा परेको लम्पी स्किनको संक्रमण दरमा केही कमी आएको छ । गत माघ यता फैलिएको लम्पी स्किनको महामारी केही घट्न थालेको हो ।
गत साउन १२ गतेदेखि साउन १८ गतेको बीचमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, केपिलासगढी गाउँपालिका र बराहपोखरी गाउँपालिकामा गाईगोरु नमरेको भेटेनरी अस्पताल तथा पसु सेवा विज्ञ केन्द्र उदयपुरको सम्पर्क केन्द्र खोटाङले जनाएको छ । १० स्थानीय तह रहेको जिल्लामा हालसम्म ७२८ वटा गाईगोरु मरेका छन् ।
दिप्रुङ चुईचुम्मा गाउँपालिकामा २७२, रावाबेँसी गाउँपालिकामा ८४, बराहपोखरी गाउँपालिकामा ७६, साकेला गाउँपालिकामा ६५, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५५, ऐसेलुखर्क गाउँपालिकामा ५१, केपिलासगढी गाउँपालिकामा ४५, खोटेहाङ गाउँपालिकामा ४३, हलेसी तुवाचुङ नगरपालिकामा २६ र जन्तेढुंगा गाउँपालिकामा २१ वटा गाईगोरु मरेको भेटेनरी अस्पताल तथा पसु सेवा विज्ञ केन्द्र उदयपुरको सम्पर्क केन्द्रका पशु चिकित्सक चन्द्रकिशोर यादवले बताए ।
यो हप्ता जिल्लामा २९ वटा गाईगोरु मरेका छन् । रावाबेँसी र साकेला गाउँपालिकामा ७/७ वटा, ऐसेलुखर्क गाउँपालिकामा ६ वटा, जन्तेढुंगा गाउँपालिकामा ५ वटा, खोटेहाङ गाउँपालिकामा ३ वटा र हलेसी तुवाचुङ नगरपालिकामा १ वटा गाईगोरु मरेका छन् ।
शरीरको विभिन्न भागमा गाँठागुठी देखिने, गाँठागुठी पाक्ने र पानी बग्ने, घाउ आउने, आँशु आउने लगायतका लक्षण देखिने रोगको महामारीबाट अझै पनि हजारौं गाईगोरु बिरामी छन् । खोप आएपछि पहिलाको तुलनामा लम्पी स्किनको संक्रमण दरमा केही कमी आएको बराहपोखरी गाउँपालिकाका पशुसेवा शाखा प्रमुख आशिष बञ्जराले बताए ।