शनिवार, श्रावण १३ २०८०
नेपाल वाइड
खोटाङ, १३ साउन । खोटाङको धार्मिक तथा ऐतिहासिक स्थल मझुवागढीलाई ‘फूलको पहाड’ बनाउने अभियान अन्तरगत फूलका बिरुवा रोपिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा रहेको गढीलाई बहुवर्षे फूल रोपेर ‘फूलको पहाड’ बनाउने अभियान अन्तरगत शनिबार फूल रोपिएको हो ।
२१५ जनाको सहभागीतामा दिक्तेलको हाटडाँडादेखि मझुवागढीस्थित कालिका भगवती मन्दिर जाने पदमार्गको आसपासमा विभिन्न प्रजातीका फूलका १५ हजार बढी बिरुवा रोपिएको छ । फूल रोप्नका लागि स्थानीय फूलका बिरुवा बोकेर मझुवागढी उक्लिएका थिए ।

२०७९ असार ७ गते सौन्दर्यत्मक फूलका बिरुवा रोपेर मझुवागढीलाई ‘फूलको पहाड’ बनाउने महत्वकांक्षी अभियानको सुरुवात गरिएको थियो । त्यस यता सो क्षेत्रमा पटक–पटक विभिन्न थरीका फूलका बिरुवा रोप्ने गरिएको छ ।
‘फूलको पहाड’ बनाउने अभियान अन्तरगत जाकाराण्डा, कल्की, रुख कलम, कामिनी, समी, राजवृक्ष, धुपी, धुपी सल्ला, जाइ, कपुर, पुवाले, मसला, असारे फूल, दाँते ओखर, लालीगुराँस लगायतका बिरुवा रोप्ने काम भइरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।

मझुवागढीलाई ‘फूलको पहाड’ बनाउने योजना पुरा गर्नका लागि आर्थिक वर्ष २०८०/०८१ मा प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा १ करोड ५३ लाख बिनियोजन भएको छ । डिपिआर तयार पारेर मझुवागढीको सौन्दर्यकरण गरिने नगरपालिकाले जनाएको छ । मझुवागढी आसपासको हाटडाँडा, डाँडाखर्क र मेघेचौतारा क्षेत्रलाई समेटेर सोभन्दा माथिल्लो भागलाई ‘फूलको पहाड’ बनाउने योजना छ ।
दिक्तेलको हाटडाँडाबाट करिब ४५ मिनेट पैदल यात्रापछि मझुवागढी पुगिन्छ । मझुवागढी, कालिका भगवती मन्दीर आसपासका खाली जग्गा र सो स्थानमा पुग्ने पदमार्ग आसपासमा फूल रोपेर आकर्षक बनाउने परिकल्पना गरिएको छ । फूलैफूलको डाँडा बनाएर आन्तरिक पर्यटकको गन्तव्यस्थलको रुपमा विकास गर्नका लागि ‘फूलको पहाड’ बनाउने योजना अघि सारिएको मेयर भट्टराईले बताए ।
