शनिवार, श्रावण १३ २०८०
नेपाल वाइड
खोटाङ, १३ साउन । पहिरो खसेका कारण खोटाङको ऐसेलुखर्क गाउँपालिका र रावाबेँसी गाउँपालिका जोड्ने माक्पा–दुबेकोल सडक अवरुद्ध भएको छ । शुक्रबार राती परेको अबिरल वर्षाका कारण पहिरो झर्दा ऐसेलुखर्क गाउँपालिका–७ माक्पा र रावाबेँसी गाउँपालिका–५ दुबेकोल जोड्ने भीरपानीमा सडक अवरुद्ध भएको हो ।
सडकमा पहिरो खसेपछि सवारी आवागमन ठप्प भएको छ । सडकमा खसेको पहिरो स्थानीयलाई परिचालन गरेर पन्छाउने काम भइरहेको ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका वडाध्यक्ष अरुण राईले बताए ।
गाउँपालिकाको स्काभेटर बाकाचोलमा लगिएका कारण गाउँपालिका र वडा कार्यालयको समन्वयमा स्थानीय १० कामदारलाई परिचालन गरेर भीरपानीको पहिरो पन्छाउन सुरु गरिएको हो ।
अहिले भीरपानीमा मोटरबाईक भने वारपार भइरहेको छ । तीन/चार घण्टामा जीप र साँझसम्ममा बस वारपार गर्ने/गराउने गरी पहिरो पन्छाउने काम भइरहेको वडाध्यक्ष राईले बताए । सडकमा ठूला–ठूला ढुंगा थुप्रिएको छ ।
भौगोलिक रुपमा विकट र अप्ठ्यारो मानिने भीरपानीको सडकमा वर्षा लागेसँगै पटक–पटक पहिरो खस्ने गरेको छ । वर्षाका कारण भीरपानीको सडक गत जेठ २७ गतेदेखि तीन दिन अवरुद्ध भएको थियो ।