बिहिवार, श्रावण ११ २०८०
नेपाल वाइड
खोटाङ, ११ साउन । हानेको ढुंगाले लाग्दा खोटाङको खोटेहाङ गाउँपालिकाको एम्बुलेन्समा क्षती पुगेको छ । खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीकी सुत्केरी महिलालाई बिराटनगर पुर्याएर फर्कने क्रममा उदयपुरको देउधारमा अज्ञात व्यक्तिले हानेको ढुंगाले लाग्दा एम्बूलेन्समा क्षती पुगेको हो ।
गुडिरहेको एम्बूलेन्सलाई सडकमाथिको डिलबाट हानेको ढुंगाले अगाडिको शिशामा लागेको खोटेहाङ गाउँपालिका अध्यक्ष उदिमबहादुर राईले बताए । ढुंगा लाग्दा एम्बूलेन्सको अगाडिको शिशा फुटेर क्षतविक्षत भएको छ ।
एम्बूलेन्सलाई ढुंगा हान्ने व्यक्तिको पहिचान नभएको अध्यक्ष राईले बताए । बच्चा जन्मिए पनि अधिक रक्तश्राव भएका कारण सुत्केरीलाई गाईघाटबाट बिराटनगर पुर्याएर फर्कने क्रममा एम्बूलेन्सलाई कसैले हानेको ढुंगाले लागेको हो ।
गाउँपालिकाभरीका घाईते तथा बिरामीलाई सहज रुपमा स्वास्थ्यसंस्थासम्म लैजाने व्यवस्थाका लागि गाउँपालिकाले गत असार २२ गतेदेखि नयाँ एम्बूलेन्स सञ्चालनमा ल्याएको हो ।
खोटाङ सेवा समाज यूकेले उपलव्ध गराएको एम्बूलेन्स बिग्रिएर थन्किएपछि गाउँपालिकाले भन्सार छुटमा २० लाख खर्च गरेर एम्बूलेन्स खरिद गरेको हो । गाउँपालिकाभरीका गर्भवतीलाई स्वास्थ्य संस्था पुर्याउने क्रममा एम्बूलेन्स निःशुल्क उपलव्ध गराउने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।