बुधवार, श्रावण १० २०८०
नेपाल वाइड
खोटाङ, १० साउन । खोटाङको ईलाका प्रशासन कार्यालय खोटाङबजारमा नागरिकता वितरणको काम रोकिएको छ । गृह–मन्त्रालयले शाखा अधिकृत वा कायमुकायम शाखा अधिकृतको व्यवस्था नगर्दा गत असार २६ गतेदेखि ईलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण, दलित जनजाती प्रमाणिकरण र सिफारिस गर्ने लगायतका सेवा रोकिएको हो ।
खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा रहेको ईलाका प्रशासन कार्यालयको सेवा बन्द हुँदा खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकाका २१ वडाका सेवाग्राही मारमा परेका छन् ।
जिम्मेवार कर्मचारीको व्यवस्था नहुँदा हाल नागरिकता, दलित जनजाती प्रमाणीकरणको कामका लागि आउने सेवाग्राहीलाई दिक्तेलमा रहेको जिल्ला प्रशासन कार्यालय पठाउने गरिएको छ । ईलाका प्रशासनको कामकाजका लागि यसअघि गृह–मन्त्रालयले सिनियर नासु मोहनबहादुर राईलाई कायममुकायम शाखा अधिकृतको जिम्मेवारी दिएको थियो ।
६/६ महिनाका लागि दिइने कायममुकायमको म्याद असार २६ गते सकिए पनि मन्त्रालयले अर्को व्यवस्था नगर्दा ईलाका प्रशासन कार्यालयको सेवा प्रवाह प्रभावित भएको हो ।
मन्त्रालयले शाखा अधिकृत पठाउने वा कायममुकायमको जिम्मेवारी दिने व्यवस्था नगरेसम्म कार्यालयको काम प्रभावित हुने ईलाका प्रशासन कार्यालयका नासु लक्ष्मी ढकालले बताए ।
जिल्लाको दक्षिणी क्षेत्रका नागरिकलाई मध्यनजर गर्दै खोटाङबजारमा ईलाका प्रशासन कार्यालय स्थापना गरिएको हो । ईलाका प्रशासन कार्यालयबाट तोकिएको सेवा नपाउँदा तीन गाउँ पालिकाका जनताले दुःख पाएको कांग्रेस जन्तेढुंगा सभापति बाजिन्द्र बिष्ट बताउँछन् ।
इलाका प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा रोकिएपछि दक्षिणी क्षेत्रका सर्वसाधारण पैदल हिँडेर दिक्तेल पुगेर सेवा लिन बाध्य बनेका छन् । कामका लागि इलाका प्रशासन कार्यालय पुग्दा दिक्तेल पठाउने गरेको नागरिकको गुनासो आएको खोटाङबजारका वडाध्यक्ष शिवप्रसाद फुयाँलले बताए ।
“न अर्को कर्मचारी पठाउँछ, न भइरहेको कर्मचारीलाई कामु दिन्छ,” फुयाँलले भने, “सेवा लिन पुगेका नागरिकलाई दिक्तेल पठाइरहेको छ । यहाँ इलाका प्रशासन कार्यालय नै नभएजस्तो भइरहेको छ ।”