मंगलवार, श्रावण ९ २०८०
नेपाल वाइड
खोटाङ, ९ साउन । लम्पी स्कीन रोगको महामारीले गाईगोरु बिरामी हुँदा र मर्दा खोटाङमा रोपाई प्रभावित भएको छ । गत माघ यता देखा परेको लम्पी स्कीन रोगले किसानको गाईगोरु बिरामी पर्नुका साथै मरेका कारण रोपाई प्रभावित भएको हो ।
गत २०७९ साउन २ गतेसम्ममा ७० प्रतिशत रोपाई सकिएको जिल्लामा यसपल्ट साउन ४ गतेसम्ममा ५० प्रतिशत मात्र रोपाई सकिएको कृषि ज्ञान केन्द्र खोटाङका सूचना अधिकारी एबं कृषि प्रशार अधिकृत सञ्जयकुमार पण्डितले बताए ।
लम्पी स्कीनको महामारीसँगै यसपल्ट बेलामा वर्षा नहुनु, यन्त्रीकरणमा सबै किसानको पहुँच नपुग्नु लगायतका कारण अपेक्षित मात्रामा रोपाई हुन नसकेको हो ।
खोटाङमा रोपाई हुँदैआएको कुल १२ हजार ८९८ हेक्टर खेतमध्ये हालसम्म ६ हजार ४४९ हेक्टरमा मात्र रोपाई सकिएको पण्डितले बताए । भेटेनरी अस्पताल तथा पसु सेवा विज्ञ केन्द्र उदयपुरको सम्पर्क केन्द्र खोटाङका अनुसार लम्पी स्कीनबाट तीन सयभन्दा बढी गाईगोरु मरिसकेको छ ।खोटाङका १० स्थानीय तहमध्ये सबैभन्दा बढी दिप्रुङ चुईचुम्मा गाउँपालिका र सबैभन्दा कम रावाबेँसी गाउँपालिकामा रोपाई भएको छ ।

हालसम्म दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ७५ प्रतिशत, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ६० प्रतिशत, खोटेहाङ गाउँपालिकामा ६० प्रतिशत, साकेला गाउँपालिकामा ५५ प्रतिशत, हलेसी तुवाचुङ नगरपालिकामा ५० प्रतिशत, जन्तेढुंगा गाउँपालिकामा ५० प्रतिशत, केपिलासगढी गाउँपालिकामा ४५ प्रतिशत, बराहपोखरी गाउँपालिकामा ४० प्रतिशत, ऐसेलुखर्क गाउँपालिकामा ४० प्रतिशत र रावाबेँसी गाउँपालिकामा २५ प्रतिशत रोपाई सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । पानीको श्रोत भएका ठाउँका किसानलाई हाल आ–आफ्नो खेतमा धान रोप्न भ्याइ–नभ्याइ छ ।
जिल्लामा कुल १४ हजार १५९ हेक्टर खेत भए पनि १२ हजार ८९८ हेक्टरमा धान लगाउने गरिएको छ । सिञ्चित ११ हजार ४०० हेक्टर र आकाशे पानीको भरमा रोपाई हुने ३ हजार ८०२ हेक्टर असिञ्चित जग्गामा धान रोपाई हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
