शनिवार, श्रावण ६ २०८०
नेपाल वाइड
खोटाङ, ६ साउन । ठेकेदारको ढिलासुस्तीका कारण मध्यपहाडी राजमार्ग अन्तरगत खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ र लामीडाँडा जोड्ने पंखु खोला पुलको ठेक्का सम्झौता तोडिएको छ ।
ठेकेदार कम्पनी सिरुवा कन्ट्रक्सन प्रालिले पटक–पटक सम्झौता म्याद गुजार्दा पनि काम सम्पन्न नगरेका कारण पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय सित्खा रामेछापले पुलको ठेक्का सम्झौता तोडेको हो ।
सम्झौता म्याद नाघेको पाँच वर्षपछि कार्यालयले पुःन टेण्डर गर्नेगरी पंखु खोला पुलको ठेक्का अन्त्य गरेको जनाएको छ । ठेक्का तोडिएसँगै कन्सल्ट्यान्ट डिजाईनरले पुल निर्माणस्थल हेरेर फर्किएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय रामेछापका इन्जिनियर दिपेश मुनकर्मीले बताए ।
२०७३ असोज ७ गतेसम्ममा सम्पन्न गर्नेगरी पहिलो ठेक्का लागेको पुलको हालसम्म दुईतिरको पिलर ठड्याउने बाहेकका प्रगती भएको छैन । पुलको तेश्रोपल्ट थप भएको २०७७ असोज ३० गते नै नाघिसकेको छ । त्यस यता पुलको म्याद थप भएको छैन ।
तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न नगर्दा पटक–पटक म्याद थप भएको, अन्तिम पटक थप भएको म्याद समेत समाप्त भइसकेको, निर्माण व्यवसायीलाई लिखित तथा मौखिक रुपमा कार्य सम्पन्न गर्न पटक–पटक अनुरोध गर्दा पनि ठेक्का सम्झौताका शर्त बमोजिम दायित्व पुरा नगरेको भन्दै कार्यालयले सार्वजनिक खरद ऐन २०६३ को दफा ५९ (२) अनुसार ठेक्का अन्त्य गरिएको जनाएको छ ।
सिरुवा कन्ट्रक्सनबाट ठेक्का सम्पन्न हुने अवस्था नभएका कारण सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ (७) बमोजिम समेतको आधारमा ठेक्का अन्त्य गरिएको ठेक्का अन्त्या सम्वन्धी सुचनामा उल्लेख छ ।